ताजा अपडेट »

तेस्रो जनआन्दोलन खाँचो छ : डा. बाबुराम भट्टराई

शुक्रबार, ०९ माघ २०७७, ११ : २५
2 Shares

बुटवल । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा : बाबुराम भट्टराईले मुलुकमा तेस्रो जनआन्दोलनको आवश्यकता रहेको बताएका छन् । अव हुने आन्दोलन पहिलो र दोस्रोभन्दा पनि ठूलो र शक्तिसाली हुनुपर्ने उनले बताए ।

प्रेस नेपालले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनतर्फ लागेको बताउँदै भट्टराईले त्यसका विरुद्ध आन्दोलनको तयारीमा आफ्नो पार्टी रहेको बताए । प्रधानमन्त्री हिटलरजस्तै निरंकुश र तानाशाही नेता भएको जनाउँदै छिट्टै पतन हुने बताए । राज्यका सबै अंग नियन्त्रणमा लिएर दुई तिहाइ मतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्नु चरम निरंकुशता र तानाशाही प्रवृत्ति भएको टिप्पणी गर्दै उनले ओलीलाई हिटलरसँग तुलाना गरे । ‘हिटलर पनि एक महत्वकांक्षी तानाशाह थिए, जसका कारण आफै पतन हुन पुगे, यसरीनै केपी शर्मा ओलीमा पनि चरम महत्वाकांक्षा छ । निरंकुशता छ । यस्ता शासक जतिसुकै बलिया ठानिए पनि छिट्टै पतन हुन्छन् । आफू मात्रै होइन अरूलाई पनि सर्वनाश पार्छन् ।’

सरकारले सर्वोच्च न्यायलयलाई समेत कब्जामा लिएको आरोप लगाउँदै उनले राष्ट्रिय अनुसन्धान, राजस्व अनुसन्धान, एनटी मनी सेक्टर (अख्तियार) जस्ता अंगलाई कब्जा गरेर प्रतिनिधि सभा भंग गरिएको बताए । लामो समयदेखिको सेटिङ र महत्त्वाकांक्षाका कारण संसद विघटन गरिएको बताउँदै उनले अदालत र न्यायाधीशलाई डर देखाइएका कारण सुनुवाइ प्रक्रिया लम्ब्याइएको आशंका व्यक्त गरे । प्रतिनिधिसभा पुनःस्थापनाविना कुनै हालतमा निर्वाचन नहुने बताउँदै उनले ध्यान विकर्षण गर्न मात्रै चुनावी तयारीको नाटक गरिएको आरोप लगाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।