ताजा अपडेट »

मेचीकाली यात्री काठमाडौँमा : सडकबाट ६०० को उद्धार

विहीबार, ०८ माघ २०७७, २१ : २३
4 Shares

काठमाण्डौं । सडकमा रहेका असहाय, अशक्त, बेसहारा तथा मनोरोगीको उद्धार गरी पालनपोषण तथा उपचारपछि परिवारमा पुनःमिलन गराउँदै आएको मानवसेवा आश्रमले सञ्चालन गरेको एक महिनाले ‘मेचीमहाकाली सडक यात्रा’का क्रममा ६०० जनाको उद्धार गरेको छ ।

पूर्वको मेचीदेखि पश्चिम महाकालीसम्मका सडकबाट झण्डै ६०० असहायको उद्धार गरी संरक्षण दिइएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । पुस ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट घोषणा भई ८ गतेदेखि शुरु भएको उद्धार अभियानको ३०औँ दिनमा विहिबार काठमाडौँ पुगेको मेचीमहाकाली सडक यात्री टोलीको स्वागत समारोहमा अध्यक्ष अधिकारीले नेपाललाई बेसहारा सडकमानवमुक्त बनाउने अभियानको आधार तयार भएको जानकारी दिए ।

टोलीलाई प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यको स्वागत कार्यक्रममा अभियानले महत्वपूर्ण उपलब्धि हासिल गरेको प्रतिक्रिया बताए । आश्रमका अनुसार अब केही दिन उपत्यकाको तीन जिल्लासहित धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायत जिल्लामा उद्धार अभियान थालिने बताए । उद्धार अभियानका क्रममा पूर्वको झापा जिल्लासहित विराटनगर र वीरगञ्ज महानगरपालिकालाई बेसहारा सडकमानवमुक्त घोषणा गरिएको जनाइएको छ ।

नेपाल सरकारले विसं २०७८ भित्र बेसहारा सडक मानवमुक्त मुलुक बनाउने उद्घोष गरिसकेको छ । सरकारले खान नपाएर कोही पनि सडकमा भोकै बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने यसअघि नै घोषणा गरिसकेको छ । टोलीले झापा, सुनसरी, मोरङ, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, बाग्लुङ, रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा सडक यात्रा सञ्चलन गरेको थियो ।

विसं २०६९ भदौ १३ गते हेटौँडाबाट उद्धार अभियान शुरु गरेको आश्रमले अहिले सात प्रदेशका १५ जिल्लाका २२ शाखामार्फत मानवीय सेवा गर्दै आएको छ । जहाँ अहिले एक हजार ८०० आश्रित छन् । यसअघि एक हजार ५०० भन्दाबढीलाई उद्धार गरी परिवारमा पुनःमिलन गराइसकिएको जनाइएको छ ।

रासस
लेखकको बारेमा
रासस