ताजा अपडेट »

सितलहरले जनजीवन प्रभावित, केही ठाउँमा हिमपातको सम्भावना

विहीबार, ०८ माघ २०७७, १५ : ११
4 Shares

बुटवल । विहानदेखि परेको सितलहर र अत्याधिक चिसोका कारण तराईको जनजीवन प्रभावित बनेको छ । देशको पूर्वी र मध्य भू-भागमा बंगलादेश र आसपासमा बनेको निम्न चापीय प्रणालीको प्रभावले तराईका जिल्लाहरुमा विहानैदेखि बाक्लो हुस्सु र सितलहर देखा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लुम्बिनी प्रदेशका रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ लगायत तराईका अन्य जिल्लाहरुमा विहानैदेखि बाक्लो हुुस्सु र चिसोका कारण जनजीवन प्रभावित बनेको हो । महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । साथै तराईका अधिकांश स्थानहरुमा हुस्सुरकुहिरो लागेको अवस्था छ ।
यसैगरी भोलि विहिबार पनि प्रदेश नं १, बागमती, लुम्बिनी, सुदुरपश्चिम र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाको पूर्वानुमान अनुसार शनिबार माघ १० गते दिउँसो सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा आंशिक बदली रहनेछ ।

देशको उच्च हिमाली भुभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको साथै विभिन्न भू-भागहरुमा आकाशमा बादल लागेसंगै राम्रोसंग घाम नलाग्दा दिउसोको तापक्रममा गिरावट आउने छ

चिसोबाट प्रभावितहरुलाई बचाउन सहकार्यका लागि अपिल
लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले केही दिनदेखि अत्यधिक चिसो बढेकाले त्यसबाट प्रभावितहरुलाई कम्वल, न्यानो कपडा, खाद्य तथा पोषण सामाग्री वितरणको लागि समन्यव र सहकार्यको लागि अपिल गरेका छन् ।

अत्यधिक चिसोको कारण गर्भवती तथा सुत्केरी महिलाहरु, नवजात शिशु, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु, दिर्घरोगी, जेष्ठ नागरिक, असाहय, अनाथ, अति विपन्न तथा सिमान्कृत समूहका मानिसहरु बढि प्रभावित भएकाले सामाजिक विकास मन्त्रालयले समन्वय र सहकार्यमा न्यानो कपडा, खाद्य तथा पोषण सामाग्री वितरण भइरहेको जनाउंदै आवश्यक सहयोग नपुगेको स्थान तथा समुदायको पहिचान गरी ति क्षेत्र तथा समुदायलाई न्यानो कपडा तथा खाद्य र पोषण सामाग्री उपलव्ध गराउन सबै स्थानीय तह, स्थानीय प्रशासन, सरकारी तथा गैरसरकारी निकायहरु, सामाजिक संघ-संस्थाहरु तथा सरोकारवाला निकायहरुलाई अपिल गरेका हुन् ।

विहिवार जारी अपिलमा भनिएको छ –‘चिसो मौसमको जोखिमयुक्त अवस्थामा रहेका समुदाय तथा समूहको स्वास्थ्यमा प्रतिकुलता भई जनजीवनमा नकरात्मक प्रभाव नहोस भन्नको लागि आवश्यक सहयोग नपुगेको स्थान तथा समुदायको पहिचान गरी ति क्षेत्र तथा समुदायलाई न्यानो कपडा तथा खाद्य र पोषण सामाग्री उपलव्ध गराउनु हुन सबै स्थानीय तह, स्थानीय प्रशासन, सरकारी तथा गैरसरकारी निकायहरु, सामाजिक संघ-संस्थाहरु तथा सरोकारवाला निकायहरुलाई हार्दिक अपिल गर्दछु ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।