ताजा अपडेट »

संसद पुनःस्थापनका लागि सबै शक्तिहरु एक हौं : राजमो अध्यक्ष केसी

विहीबार, ०८ माघ २०७७, १४ : ३२

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले सरकारको प्रतिगमन विरुद्धको आन्दोलनमा सबै शक्तिहरु एक ठाउँमा उभिन आह्वान गरेका छन् । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिपति विद्यादेवि भण्डारीको कदम अधिनायकवाद र प्रतिगमनकारी भएको बताउँदै उनले संविधान र गणतन्त्रको रक्षाका लागि सबै राजनैतिक शक्तिहरु एक ठाउँमा उभिएर कार्यागत एकता गरी संघर्षमा जानु पर्ने आवश्यकता औल्याए ।

राष्ट्रिय जनमोर्चाले विहिबार बुटवलमा आयोजना गरेको ‘प्रतिनिधिसभाको विघटन र संयुक्त आन्दोलनको प्रश्न’–विषयक अन्तरक्रियामा बोल्दै केसीले प्रधानमन्त्रीले संसद विघट गरी चालेको असंवैधानिक कदमका विरुद्ध एक भएर उभिए मात्रै संसद पुनःस्थापना गर्न सकिने जिकिर गरे । सरकारले घोषणा गरेको आगामी वैशाख १७ र २७ गतेको मध्यावधि निर्वाचन हुन्छ नै भन्ने कुनै ग्यारेन्टि नभएको उल्लेख गर्दै उनले निर्वाचन भई हालेपनि स्थिर सरकार बन्ने अवस्था नभएको उल्लेख गरे । नेपालमा अस्थिरता पैदा गरेर विदेशी शक्तिकेन्द्रहरुले त्यसमा खेल्न खोजिरहेको आरोप लगाउँदै उनले प्रधानमन्त्री र राष्ट्रपतिको कदमले संविधान, गणतन्त्र र प्राप्त उपलब्धिहरुनै गुम्ने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे ।

विगतमा राजा र पञ्चायत विरुद्धका अन्दोलनहरुमा नेपाली काँग्रेस, कम्यूनिष्ट पार्टीहरु र मधेशवादी दलहरु एक भएर संघर्षमा गएजस्तै संसद विघटन गर्नु गलत हो भन्ने शक्तिहरु पनि एक भएर कार्यगत एकता गरी अगाडी बढ्नु पर्ने कुरालाई उनले जोड दिएका छन् । मुलुकमा प्राप्त भएको गणतन्त्रका विरुद्ध राजावादी, विदेशी हिन्दु अभिवादी तथा वामपन्थी संकीर्णवादी गरी तिनतर्फबाट आक्रमण भइरहेको बताउँदै उनले समयमै सचेत हुन नसके त्यसका फाइदा राजावादी र विदेशी शक्तिहरुलाई नै हुने अध्यक्ष केसीले जिकिर गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।