ताजा अपडेट »

हिमाल र सूर्योदय हेर्न बेलढुङ्गा

विहीबार, ०८ माघ २०७७, १३ : ००
2 Shares

गलकोट । जिल्लामा पछिल्लो समय चर्चामा आएको पर्यटकीयस्थल हो बेलढुङ्गा । पाँच वर्ष अघिसम्म गुमनाम रहेको बेलढुङ्गाको विशेषता त्यहाँका स्थानीयवासी पनि निकै कमलाई मात्रै अवगत थियो । देशमा पर्यटनको हुटहुटी चल्दा गाउँगाउँमा पनि नयाँ गन्तव्यको खोजी चल्यो । त्यही क्रममा थप पहिचान, प्रचार र प्रर्वद्धनसहित प्राकृतिक भ्यू टावरको रुपमा बेलढुङ्गाले चर्चा बटुल्न थालेको हो ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली म्याग्दीको सिमानामा अवस्थित बेलढुङ्गामा दैनिक पर्यटक पाहुना पुग्छन् । मिडिया र सामाजिक सञ्जालमार्फत भएका प्रचारका कारण चर्चामा आएको बेलढुङ्गाबाट दर्जनौं हिमाल र सूर्योदयको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । बेलको जस्तै आकृतिमा रहेको उक्त ढुङ्गालाई परम्पराकालदेखि बेलढुङ्गा भनिँदै आएको थियो । बेलढुङ्गा गुराँसको वनभित्र रहेकाले चैत वैशाखमा लालीगराँसले राताम्य हुँदा अझ मनमोहक हुने स्थानीयवासीको भनाइ छ ।

पर्यटकीय गन्तव्य बन्नुमा प्राकृतिक भ्यू टावर मात्र भएर होइन, बेलढुङ्गाबाट आँखै अगाडि देखिने दर्जन बढी हिमशृृङ्खला, हराभरा वनजङ्गलको मनोरम दृश्य यसको प्रमुख आर्कषण हो । म्याग्दी जिल्लाको सिमानाले समेत छोएको बेलढुङ्गाबाट एकाबिहानै खुलेका दन्ते लहर हिमाल र सूर्योदयले आन्तरिक पर्यटकलाई निकै लोभ्याउने गरेको छ । समुद्री सतहदेखि दुई हजार ६०० मिटरको उचाइमा रहेको बेलढुङ्गा आफैमा प्राकृतिक भ्यू टावर हो । यहाँबाट देखिने हिमशृङ्खला, बागलुङ म्याग्दीका दर्जनौं गाउँ, हराभरा रहेका वनजङ्गल डाँडाकाँडासहितको मनोरम दृश्य अनि सूर्योदय र सूर्यास्तले त्यहाँ पुग्नेलाई आहा भन्न बाध्य तुल्याउछ ।

बेलढुङ्गा पुग्ने आन्तरिक पर्यटक बढेसँगै धम्जाको ओखलेमा बेलढुङ्गा होम–स्टे (सामुदायिक घरबास) समेत दुई वर्षदेखि सञ्चालनमा छ । सामाजिक सञ्जालमा देखेकैभरमा बेलढुङ्गा भ्रमणमा पुग्नुभएका बागलुङ बजारका दीपक गौतमले बेलढुङ्गा आफूले सोचे भन्दा बढी रमणीय रहेको बताए । गत वर्षको वर्षात्ले केही भागमा क्षति पुर्र्याए पनि पूर्वाधार निर्माणमा केही ध्यान दिनसके अझै आर्कषक गन्तव्य बनाउन सकिने सम्भावना देखिएको उनको भनाइ छ ।

अघिल्लो दिन गौतमसहित बागलुङ बजारबाट धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबास बास बस्न पुगेका एक दर्जन आन्तरिक पर्यटक झिसमिसेमै केही सयम यातायातको साधन र केही पदमार्गसँगै बेलढुङ्गा अवलोकनका लागि पुगेका थिए । बेलढुङ्गाको केही तल देउरालीसम्म मोटरबाटोको पहुँच पुगेको छ । देउराली धुरीबाटबाट झण्डै एक किलोमिटर पदमार्गमार्फत करिब १० मिनेटको यात्रामा बेलढुङ्गा पुगिन्छ । पछिल्लो समय बढेलढुङ्गा घुम्न आउने पर्यटकको सङ्ख्या उल्लेख्य बढेको बेलढुङ्गा सामुदायिक घरबासका सञ्चालक समितिका सचिव गोपाल श्रीसले बताए ।

“यहाँ घुम्न आउनेले आँखै अगाडि देखिएका हिमाल र सूर्योदय अत्यधिक मन पराएको पाइयो” उनले भने “बन्दाबन्दीमा आन्तरिक पर्यटकको धेरै आगमन भयो, अहिले पनि दिन खाली छैन, आउने क्रम जारी छ ।” प्रायःजसो पर्यटक अघिल्ल्लो दिन घरबासमा आएर स्वादिष्ट परिकार र नाचगान गर्ने र भोलिपल्ट बिहानै बेलढुङ्गा अवलोकनका लागि पुग्ने गरेको स्थानीयवासी लोक श्रीसले बताए ।

बेलढुङ्गाको फेद देउरालीमा वनभोजका लागि समेत बागलुङ र म्याग्दीका विभिन्न समूह पुग्ने गरेका छन् । बेलढुङ्गाबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरिलगायतका दर्जन बढी हिमाल नजिकै देख्न सकिन्छ । बेलढुङ्गा भन्दा केही तल म्याग्दीको धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रमसमेत रहेको छ । धार्मिक आस्थाका कारण स्वर्गाश्रम पुग्ने सङ्ख्या पनि अधिक छ। बेलढुङ्गाको चर्चासँगै स्वर्गाश्रमलाई पनि थप व्यवस्थित गर्न पहल गरिएको छ । दुवै जिल्लाले स्वर्गाश्रम र बेलढुङ्गा जोडेर पदमार्ग, सडकलगायतका पर्यटकीय पूर्वाधार निर्माण गरेका छन् ।

बेलढुङ्गाबाट देखिने हिमाल र सूर्योदयले आफूलाई आकर्षित गरेको बागलुङ बजारबाट बेलढुङ्गा पुग्नुभएका आन्तरिक पर्यटक करिश्मा क्षेत्रीले बताए । गत असारमा अविरल वर्षासँगै क्षति पुगेको बेलढुङ्गामा नयाँ संरचना निर्माण गर्ने तयारी छ । बेलढुङ्गाबाट देखिने सौन्दर्य त छदैछ । त्यसमा प्राकृतिक सुन्दरता नमेटिने गरी मौलिक खालको चौतारीलगायतका पूर्वाधार निर्माण गरिने स्थानीय अगुवा गोपाल श्रीसले बताए ।

गण्डकी प्रदेश सरकारले बेलढुङ्गाहुँदै पञ्चकोट जोड्ने पदमार्ग निर्माणका लागि समेत चालू आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको छ । बेलढुङ्गामा भत्किएको स्थानमा पर्यटनमैत्री पूर्वाधार निर्माणका लागि केन्द्र सरकार, गण्डकी प्रदेश र काठेखोला गाउँपालिका र नागरिकस्तरमा समेत अभियान थाल्ने तयारीमा रहेको स्थानीयवासी बताउँछन् ।

रासस
लेखकको बारेमा
रासस