ताजा अपडेट »

गुल्मीमा कोरोना विरुद्ध खटिएका कर्मचारी पारिश्रमिक विहीन

विहीबार, ०८ माघ २०७७, १२ : १६
7 Shares

गुल्मी । गुल्मीको कोभिड–१९ परीक्षण प्रयोगशाला तम्घासमा कार्यरत कर्मचारी ३ महिनादेखि पारिश्रमिकविहीन भएका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा रहेको कोभिड–१९ परीक्षण प्रयोगशाला तम्घासमा कार्यरत कर्मचारी तलव नपाउँदा समस्यामा परेका छन् ।

स्थानीय तहले समयमै रकम नदिएका कारण स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन् । तलब नपाउँदा महामारीमा काम गर्ने कर्मचारीको मुल्याङ्कन नभएकोप्रति दुखेसो गरेका छन् । प्रयोगशालामा कार्यरत टेक्नोलोजिस्ट २ जना, टेक्निसीयन ३ जना, असिस्टेन्ट २ जना, कम्प्युटर अपरेटर, हेल्पर र कुकले पारिश्रमिक नपाएका हुन् । कर्मचारीले असोज ८ अगतेबाट कोभिड–१९ परीक्षण प्रयोगशाला तम्घासमा काम गर्न थालेका थिए ।

स्वास्थ्यकर्मीको टोलीले तलबको माग गर्दै पुस ५ गते जिल्ला अस्पतालमार्फत जिल्ला समन्वय, जिल्ला प्रशासन र नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । गत जेठ ३१ जिल्ला विपद् व्यवस्थापन समिति बैठकले कोभिड–१९ प्रयोगशाला र आइसोलेसन सेन्टर सञ्चालन गर्न प्रतिनगरपालिकाले १५ लाख र प्रतिगाउँपालिकालाई १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । तर, केही स्थानीय तहले अहिलेसम्म रकम नदिएपछि प्रयोगशालाका १० कर्मचारी पारिश्रमिकबाट वञ्चित भएका छन् ।

आफूहरूले सक्ने रकमबाट प्रयोगशाला र आइसोलेसन व्यवस्थापन गरे पनि रकम दिन बाँकी रहेका स्थानीय तहले नदिएसम्म स्वास्थ्यकर्मीलाई पारिश्रमिक उपलब्ध गराउन नसकिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसाले बताए । सबै स्थानीय तहको समन्वय र सहयोगमा रेसुंगाले नेतृत्व गरेर कोभिड-१९ परीक्षण प्रयोगशाला सञ्चालन गर्ने निर्णय विपद् व्यवस्थापन समितिमा गरेको थियो । उपकरण र जनशक्ति व्यवस्थापनमा सुरुबाटै रकम अभाव भए पनि केही स्थानीय तहले अहिलेसम्म रकम नदिँदा समस्या उब्जीएको हो ।

स्वास्थ्यकर्मीको टोलीले तलवको माग गर्दै प्रशासनमा निबेदन दिएको त्यसको समन्वयको लागि स्थानीयतहसँग काम भइरहेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले बताए । स्वास्थ्यकर्मीको टोलीले तलवको माग गदैप्रशासनलाई दिएको निबेदन प्रति प्रशासनको ध्यानाकषर्ण भएको र छिट्टै समाधान खोजिने सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । प्रयोगशालामा काम गरेको नियुक्ति९पत्र, न त पारिश्रमिक त्यति मात्र नभई कार्यावधि पनि नतोकिएको कर्मचारीको गुनासो रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।