ताजा अपडेट »

४६औं अमेरिकी राष्ट्रपतिका रूपमा बाइडनले लिए सपथ

विहीबार, ०८ माघ २०७७, ०६ : ५१
8 Shares

काठमाडौँ । जो बाइडनले अमेरिकाका ४६‍औँ राष्ट्रपतिका रूपमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका हुन् ।

अमेरिकाको डेमोक्रेटिक पार्टीको तर्फबाट निर्वाचित बाइडनले गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका थिए ।

उपराष्ट्रपति कमला ह्यारिसले पनि जो बाइडनसँगै पदको सपथ लिएकी छन् । उनी पहिलो दक्षिण एसियाली, पहिलो महिला र अस्वेत उपराष्ट्रपतिको रुपमा चुनिएकी हुन् । समारोहमा लेडी गागा र जेनिफर लोपेजको विशेष सांगीतिक कार्यक्रम थियो ।

सपथ लिइसकेपछि आफ्नो पहिलो टिप्पणी गर्दै राष्ट्रपति बाइडनले भने, ‘यो प्रजातन्त्रको दिन हो।’ उनले समारोहमा उपस्थित दुवै पार्टीका आफ्ना पूर्ववर्ती राष्ट्रपतिहरूलाई धन्यवाद पनि दिएका थिए।

यस्तै, कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमध्ये कतिपय ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएको छ। उनले कोरोनाभाइरस महामारीको सङ्कट सम्बोधनमा सङ्घीय कारबाही तेज गर्ने कार्यकारी आदेशहरू जारी गरेका छन्। उनले जारी गरेका अन्य आदेशहरूले चाहिँ विगतमा ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइदिनेछ।

कोरोनाभाइरस महामारी
चार लाख अमेरिकीहरूको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीसँग जुझ्ने विभिन्न उपायहरू ती आदेशमा रहेका छन्। तिनका मुख्य बुँदा यसप्रकार छन्:
-विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट फिर्ता हुने अमेरिकी कार्यको अन्त्य गरिने। भाइरस विज्ञ डा एन्थोनी फाउचीले यसै साता हुने डब्लुएचओको अन्तर्राष्ट्रिय कार्यकारी
समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै भाग लिने
-कोभिडको राष्ट्रिय सम्बोधन गर्ने कार्य केन्द्रीकृत गर्दै सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने
-सबै सङ्घीय परिसरमा मास्क तथा दूरीको नियम पालना गरिने
-आगामी १०० दिनसम्म मास्क लगाइरहन मानिसहरूलाई आग्रह गर्नेगरि १०० दिने मास्क चुनौती अभियान थालनी गरिने

जलवायु सङ्कट
वातावरणसम्बन्धी कतिपय ट्रम्प प्रशासनका नीतिहरू बाइडनले उल्ट्याउन चाहेका छन्। त्यसको निम्ति उनको आदेशमा भनिएको छ:
-सन् २०१५ मा हस्ताक्षर गरिएको प्यारिस जलवायु सम्झौतामा अमेरिका पुन: सामेल हुने
-विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द

आप्रवासन
-ट्रम्पले लागु गरेको तथाकथित मुस्लिम प्रतिबन्ध अन्तर्गत केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा
-मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणकार्य बन्द

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।