ताजा अपडेट »

राष्ट्रिय स्तरको बाख्रा अनुसन्धान तथा बीउ उत्पादन केन्द्र बनाउने योजना

बुधबार, ०७ माघ २०७७, २२ : १८
12 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमालाई नेपालकै राष्ट्रिय स्तरको बोयर जातको बाख्रा अनुसन्धान तथा बीउ उत्पादन केन्द्रका रुपमा विकास गर्ने पञ्च वर्षीय योजना बनाएका सुनिल कुमार पाण्डे तिलोत्तमाको सर्वोत्कृष्ट उद्यमीका रुपमा पुरस्कृत भएका छन् । तिलोत्तमा–१ आरती चोकमा साढे दुई वर्षदेखि बाख्रा पालन गर्दै आएका उनको योजना र व्यवसायीक कुसलताले तिलोत्तमाकै उत्कृष्ट उद्यमी बन्न सफल भएका हुन् ।

तिलोत्तमा नगरपालिका तथा दायित्व संस्थाद्वारा ‘नगर प्रमुख दायित्व ग्रामिण उद्यम द्रुतीकरण कार्यक्रम’ अन्तरगत उद्यम योजना तथा लगानी प्रस्तुती-२०७७ बाट सर्वोत्कृष्ट बन्न सफल पाण्डे अन्य ७९ जना प्रतिस्पर्धिलाई पछि पार्दै सर्वोत्कृष्ट बन्न सफल भएका हुन् । सर्वोत्कृष्ट बनेका पाण्डेलाई नगद पुरस्कार एक लाख राशीको चेक हस्तान्तरण गर्दै तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले व्यवसायीक कृषि तथा पशुपालनमा जोड दिए । आर्थिक समृद्धिका लागि कृषि तथा पशुपालनलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउनका लागि स्थानीयर सरकारले कार्यक्रमहरु ल्याउने गरेको उनले बताए ।

पुरस्कार ग्रहण गर्दै पाण्डेले आफूलाई उद्यमप्रति थप दायित्व बढेको उल्लेख गरे । विगत साढे दुई वर्षदेखि ‘गट मार्फ’ को नामा बाख्रा पालन गर्दै आएका उनीसँग हाल ८० वटा बोयर जातका बाख्रा रहेका छन् । १५ लाखको लागानी ३० वटा लोकल जातका बाख्राबाट व्यवसाय सुरु गरेका उनले बाख्रा पालनलाई थप व्यवस्थित गराउँदै बोयर जातका बाख्रा पालनमा लागेका हुन् । अबको केही वर्षभित्रै ३ सय बढी माउ बाख्रा पालन गर्ने योजना बनाएका उनले हाल २ कट्ठा जमिनमा फार्म सञ्चालन गरेका छन् भने दुई विगाह जग्गामा बाख्राका लागि आवश्यक घाँस खेति गर्दै आएको बताए । घाँस खेतीका लागि एक विगाह जग्गा लिजमा लिएर उनले प्रदेश ५ सहित अन्य जिल्लाहरुमा समेत बाख्राको बीउ विक्रि गर्दै आएको बताए ।

एक वर्षको जापान बसाईपछि नेपालमै केही गर्नु पर्छ भन्ने सोचका साथ बाख्रा पालन व्यवसायमा लागेका उनको फार्ममा हाल २ जनाले प्रत्येक्ष तथा नियमित रुपमा रोजगार पाएका छन् भने मौसम अनुसार घाँस लगाउने, काट्ने तथा सम्मा गर्ने लगायतका बाममा समेत स्थानीयले रोजगार पाउने गरेको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।