ताजा अपडेट »

‘समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा पूरा हुन्छ’

मंगलबार, २४ बैशाख २०७६, १७ : ५७
4 Shares

वैशाख २४,
काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले लोकतन्त्र र शान्तिसँगै समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षालाई पूरा गर्ने गरी काम गरिरहेको बताउनुभएको छ । ‘गोरखापत्र’ प्रकाशन ११९ औँ वर्षमा प्रवेश, गोरखापत्र संस्थानको ५७ औँ वार्षिकोत्सव तथा चौथो राष्ट्रिय पत्रकारिता दिवसका उपलक्ष्यमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाहका लागि आमसञ्चार माध्यमसँग आग्रह गर्नुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले विभिन्न चुनौतीका बीच सरकारले जनताको आकाङ्क्षानुसार काम गर्दै आएको र आगामी दिनमा समेत प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री बाँस्कोटाले सरकारले यस वर्ष नेपाली पत्रकारिताको धरोहर ‘गोरखापत्र’लाई नयाँ परिवर्तनको वर्षका रुपमा अगाडि बढाउने योजना बनाएको छ भन्दै जिम्मेवारीका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

“गोरखापत्रमा पछिल्लो समयमा हिजोका दिनमा भन्दा सुधार आएको छ तर अझै धेरै सुधार गर्नुपर्ने आवश्यकता छ, निरन्तरताको क्रमभङ्गता ‘गोरखापत्र’को आवश्यकता हो, त्यसका लागि कामप्रति जिम्मेवार हुनुहोस्, गलत गर्नेलाई कुनै पनि हालतमा छाडिने छैन”, मन्त्री बाँस्कोटाले भन्नुभयो ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले ‘गोरखापत्र’ बलियो भयो भने राज्य बलियो हुने र राज्य बलियो भयो भने ‘गोरखापत्र’ बलियो हुनेछ भन्दै आफू यसका संस्थानका प्रकाशन स्तरीय बनाउनेतर्फ अभिप्रेरित भएको बताउनुभयो । ‘गोरखापत्र’का प्रधानसम्पादक श्रीओम श्रेष्ठले गोरखापत्रलाई परिमार्जन गर्दै गुणस्तर र विषयवस्तुमा ध्यान दिई अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘गोरखापत्र’ले ‘गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार’ पुण्य पौडेल (कास्की) लाई प्रदान गरेको छ । पुरस्कारको राशि रु ५५ हजार ५५५ छ । त्यसैगरी ब्रदर बुक्स प्रकाशन, जनज्योति पुस्तक पसल र विपीन जनरल स्टोर्सलाई संस्थानका प्रकाशन बढी बिक्री गर्ने बिक्रेताका रुपमा सम्मान गरेको छ । प्रकाशनमा सबैभन्दा बढी विज्ञापन कारोवार गर्ने विज्ञापन एजेन्सी भेराइटिज कन्सल्टिङ नेटवर्क प्रालि, कलश एडभरटाइजिङ सर्भिस प्रालि र जोइन मिडिया हाउस प्रालिलाई समेत सम्मान गरिएको छ ।- गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।