ताजा अपडेट »

सडक दुर्घटनासँगै मानवीय क्षति बढ्दै

मंगलबार, ०६ माघ २०७७, १४ : २९

झापा । जिल्लामा हरेक वर्ष सडक दुर्घटना एवं त्यस्ता दुर्घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्या बढ्दै गएको छ । विश्वका औद्योगिक मुलुकहरु ‘ट्रेड वार’ गर्न तम्सिँदै गर्दा हाम्रोजस्तो असमान भौगोलिक अवस्थिति भएका मुलुकमा सडक दुर्घटना मृत्युको कारक तत्व बन्दै गएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार विगत एक वर्षमा जिल्लामा ५४४ वटा सवारी दुर्घटनामा परी ७१ जनाले ज्यान गुमाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक यामकुमार खड्काका अनुसार सवारी दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल छन् । विसं २०७६ पुस महिनादेखि गत पुस मसान्तसम्ममा ३०६ मोटरसाइकल, ४५ ट्रक, ५८ कार, १९ बस, २३ ट्र्याक्टर, २५ टेम्पो, ६३ साइकल र अन्य पाँच गरी ५४४ वटा सवारी दुर्घटना भएको छ ।

सो सवारी दुर्घटनामा मृत्यु हुनेमा ५८ पुरुष, सात महिला र छ बालक रहेको उनले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी सशक्त घाइते हुनेमा २५६ जना रहेका छन् । घाइते हुनेमा सबैभन्दा बढी पुरुष २०३, महिला ३७, बालक ११ र पाँच बालिका रहेका छन् । सहायक प्रहरी निरीक्षक खड्काले सबैभन्दा बढी दुर्घटना बेलुका करीब ५ देखि ८ बजेको बीचमा हुने गरेको बताए । “चालकले मापसे गर्ने, साँझमा बत्तीको एन्टिलाइट पर्ने, द्रुत गतिमा सवारी चलाउँदा दुर्घटना बढ्यो”, उनले भने । उनले विगतमा भन्दा कोभिड–१९ बढेसँगै सार्वजनिक यातायातमा भन्दा बढी निजी सवारीमा सवार गर्नेको सङ्ख्यामा समेत वृद्धि भएको, साँघुरा सडकसँगै गरिने ओभरटेकका कारण पनि दुर्घटना बढेको अनुसन्धानमा देखिएको बताए ।

विगत १२ महिनामध्ये सबैभन्दा बढी सवारी दुर्घटना गत पुसमा महिनामा भएको र सोही महिनामा मानवीय क्षति पनि बढी भएको उनले जानकारी दिए । पुस महिनामा भएको १६४ सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । सडकमा अनटेस्ट लेखिएका मोटरसाइकल र सवारी अनुमतिपत्र नै नलिई मोटरसाइकल चलाउनेका कारण पनि साँझपख दुर्घटना हुने गरेको उनको भनाइ छ । “यस्ता सवारीका कारण समस्या आइरहेको छ”, उनले भने, “दुर्घटना गराएर भाग्छन् । मानवीय भावनासमेत नभएका उनीहरुलाई सडकमा सिसी क्यामेरा नहुँदा पहिचान गर्न समस्या भइरहेको छ ।”

रासस
लेखकको बारेमा
रासस