ताजा अपडेट »

घुरले ज्यान लिँदै

मंगलबार, ०६ माघ २०७७, १३ : ३०
2 Shares

लहान । चिसो छल्न बालिएको घुरबाट आगो सल्केर गत शनिबार सिरहाको बरियारपट्टि गाउँपालिका–१ का ८५ वर्षीया प्रयागीदेवी साहको मृत्यु भयो । घुरमा आगो ताप्ने क्रममा कपडामा आगो सल्ँिकदा जलेर घाइते साहलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

त्यसको केही दिनअघि पुस २२ गते सिरहाको मिर्चैया नगरपालिका–७ मा एक नबालकको घुरको आगोमा जलेर मृत्यु भयो । मिर्चैया नगरपालिका– ८ का रसिद राइनको ८ वर्षीय छोरा जावीर राइनको आगोमा जलेर मृत्यु भएपछि गाउँमा रुवावासी नै चल्यो । यसअघि घुरकै आगोमा जलेर सप्तरीको राजविराज नगरपालिका बोरियाका ८५ वर्षीय वृद्धको मृत्यु भएको थियो । यसरी शीतलहर बढ्दै जाँदा घुर बालेर आगो ताप्ने क्रम बढ्ेसँगै आगोमा जलेर मृत्यु हुनेको सङ्ख्या सिरहामा बढ्दै गएको छ ।

शीतलहरका कारण विगत एक महिनाको अवधिमा सिरहामा मात्रै तीनजनाको मृत्यु भएको छ भने १० जना आगोमा जलेर घाइते भई उपचार गराइरहेको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । चिसोका कारण कर्जन्हा नगरपालिका–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, मिर्चैया नगरपालिका–७ का ८ वर्षीय जावीर राइन र बरियारपट्टि गाउँपालिका–१ की प्रयागदेवी साहको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।

गत पुसको दोस्रो सातादेखि हालसम्मको अवधिमा उनीहरुको मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए । तीनै जनाको घुरमा आगो ताप्ने क्रममा नै जलेर मृत्यु भएको उनको भनाइ छ । सो अवधिमा चिसो छल्न बालिएको घुरमा आगो ताप्ने क्रममा जलेर १० जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रजिअ कणेलले जानकारी दिए ।

“बढीजसो आगो ताप्ने क्रममा मानिसको मृत्यु भएको छ”, उनले भने, “जाडो महिनामा न्यानो हुन तराईमा घुर आगो ताप्ने चलन छ तर आगो ताप्दा सचेतता नअपनाएकै कारण धेरैजसोको ज्यान जाने गरेको छ ।” त्यसैले चिसो छल्न बालिएको घुरमा आगो ताप्दा होस पु¥याउनुपर्ने उनको भनाइ छ । अत्यधिक चिसो र शीतलहरबाट प्रभावित विपन्न, दलित परिवारका लागि घुर चिसो छल्ने माध्यम भए पनि आगो ताप्ने क्रममा सावधानी नअपनाउँदा आगलागीको घटनासमेत वृद्धि भएको छ । गत मङ्सिरको अन्तिम साताबाट चिसो क्रमशः बढ्दै गएको छ । चिसो छल्न बालिएको घुरबाट हालसम्म सिरहाको मिर्चैया, भगवानपुर, लहानलगायत आधा दर्जन स्थानमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

ती आगलागीका कारण करीब रु तीन करोडभन्दा बढीको धनमालको क्षति भइसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले बताए । “जिल्लामा भएका अधिकांश स्थानमा भएको आगलागीको प्रमुख कारण नै घुर हो”, प्रहरी नायब उपरीक्षक शर्माले भने, “बिहान र बेलुका गाईगोठमा घुर बाल्ने गर्छन् तर बिर्सेर आगो राम्ररी निभाउँदै, बिर्सेर अरू काममा व्यस्त हुँदा आगलागीको घटनाहरु हुने गरेको छ ।”

जिल्लाको अधिकांश स्थानमा भएको आगलागीको घटनाका प्रमुख कारण नै घुर हो । तर पनि यसको नियन्त्रण, जोखिम न्यूनीकरण र व्यवस्थापनमा भने खासै ध्यान दिएको पाइँदैन । घुरबाट हुने आगलागीमा परेर मृत्यु हुनेको यर्थाथ तथ्याङ्क नभएपनि यसबाट नेपालमा बर्सेनि धेरै मानिसले ज्यान गुमाउँछन्, सयौं घाइते र अर्बौंको क्षति हुन्छ । घरबाट हुने आगलागीकै कारण धेरै घरगोठ जलेर घर नष्ट हुने गरेका छन् भने यसबाट हुने क्षतिको अनुपात वार्षिक रूपमा करिब तीन गुणाले बढ्दै गएको अनुमान छ ।

साथै केटाकेटीले जथाभावी आगो खेलाउँदा पनि आगलागी हुने गरेको उनको भनाइ छ । घुर कसैका लागि चिसो छल्न आधार बन्दा कसैकसैका लागि अभिशाप बन्ने गरेको छ । त्यसैले चिसोको समयमा सही ढङ्गबाट घुर बाल्न र आगलागीको घटनामा कमी ल्याउन सरोकारवाला निकायहरुले जनचेतना जगाउनुपर्ने नागरिक समाजका रामानन्द गुप्ताले बताए ।

“गाउँघरमा अझै यो विषयमा चेतना छैन, त्यसैले लापरबाही हुँदा एकै छिनमा अकल्पनीय घटनाहरु भइरहेका छन्”, उनले भने, “त्यसका कारण चिसोका मौसममा घुर बाल्दा के के कुरामा सावधानीहरु अपनाउने रु चिसोबाट कसरी जोगिने रु लगायतका विषयमा सरोकारवालाले नागरिकलाई सचेत बनाउनुपर्छ ।” अनि मात्रै वर्सेनी हुने आगलागी र जलेर अनाहकमा हुने मृत्युको घटनामा कमी ल्याउन सकिने उनको कथन छ ।

रासस
लेखकको बारेमा
रासस