ताजा अपडेट »

तिलोत्तमाको पत्थरडाँडा-तिनाउ सडक विस्तार कार्य शिलान्यास

सोमबार, ०५ माघ २०७७, १७ : ५०
6 Shares

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको पत्थरडाँडा चोकबाट पश्चिम हुँदै तिनाउ नदीसम्म जाने सडक विस्तार कार्यको सोमबार शिलान्यासगरिएको छ । क्षेत्राधिकार ५२ फुट कायम गरी नाली, पेटीसहित सडकलाई दुई लेनमा विस्तार गर्ने कार्यको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले वडा नं. १३ को तीनधुरेमा शिलन्यास गरेका हुन् ।

तिलोत्तमा नगरपालिकाद्धारा प्रस्तावित प्रादेशिक बसपार्क स्थलसम्म पुग्ने यो सडकको लम्बाई ६ दशमलव ८ किलोमिटर छ । नदीजन्य पैदावार ओसारपसार गर्ने निकासी सडकको रुपमा परिचित यो सडक विस्तार कार्यको लागत ३४ करोड अनुमान गरिएको छ । स्थानीय जनप्रतिनिधिहरुको सक्रियतामा क्षेत्राधिकार कायम गराइएको यो सडक वहुवर्षीय ठेक्का लगाएर दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य लिइएको छ । वडा नं. १३ र १४ को विकाशमा महत्वपूर्ण टेवा पुर्याउने यो सडक निर्माणलाई तिनै तहका जनप्रतिनिधिहरुले विशेष महत्व दिँदै आएका छन् ।

शिलन्यास कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री चौधरीले सडक निर्माणमा स्थानीय जनप्रतिनिधिहरुले देखाएको तत्परताको प्रशंसा गर्दै बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए । डिपिआर निर्माणको क्रममा रहेको बताउँदै उनले सडकको क्षेत्राधिकार पूर्णतः क्लियर गराउन नगरपालिकाका जनप्रतिनिधिहरुलाई आग्रह गरे । जग्गाको सुनिश्चितता गराउने जिम्मेवारी नगरपालिकाको भएको बताउँदै उनले सडक निर्माणमा मुअब्जा दिने प्रदेश सरकारको नीति नरहेको स्पष्ट पारे । प्रादेशिक बसपार्क निर्माणभन्दा पहिले त्यहाँसम्म पुग्ने पहुँच मार्ग निर्माणलाई प्राथमिकता दिइनुपर्ने बताउँदै मन्त्री चौधरीले सडक सञ्जालको विस्तारले बसपार्कको औचित्यलाई आफैं पुष्टि गराउने बताए ।

बेलबास-बेथरी सडक, तिनाउ करिडोर, पत्थारडाँडा-तिनाउ सडकलगायतका सडक सञ्जाल निर्माणसँगै बसपार्कको कामलाई अघि बढाउन उपयूक्र्त हुने उनको भनाई छ । सोही कार्यक्रममा प्रदेश सांसदहरु तुलसी चौधरी, रमा अर्याल, सन्तोष पाण्डेयले विकासको मुख्य आधार सडक रहेको बताउँदै सडक विस्तारमा सबैको सहयोग र सहकार्य अपरिहार्य रहने बताए । तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले स्थानीय, प्रदेश तथा संघीय सरकारको सहकार्यमा नगरका प्रमुख सडकलाई विस्तार गरी स्तरीय बनाउने कार्यलाई प्राथमिकता दिइएको बताए ।

उनले सडक विस्तार कार्यमा आ-आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह समेत गरे । वडा नं. १३ का वडाध्यक्ष गणेश न्यौपाने र वडा नं. १४ का वडाध्यक्ष सोहन चौधरीले स्थानीय समाजसेवी, अगुवा, टोल विकास संस्थाका पदाधिकारीलगायत सबैको सहयोगले सडकको क्षेत्राधिकार कायम गर्न सम्भव भएको बताए । नगर प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालन, वडा नं. १४ का वडाध्यक्ष सोहन चौधरीको अध्यक्षता तथा वडा नं. १३ का वडाध्यक्ष गणेश न्यौपानेको स्वागतमा कार्यक्रम भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।