ताजा अपडेट »

पछिल्लो राजनीतिक घटनाक्रम विदेशीको इसारामा : केसी

सोमबार, ०५ माघ २०७७, १७ : ०७
6 Shares

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले देशको पछिल्लो राजनीतिक घट्नाक्रम विदेशी शक्ति केन्द्रहरुको इसारामा भएको दाबी गरेका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजन र विवाद मुलुक र जनताको हीत विपरित भएको बताए ।

राष्ट्रिय जनमोर्चा रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेता केसिले सत्तासिन दलका नेताहरुको स्वार्थ कै कारण देश गंभिर दुर्घटना तर्फ उन्मुख भएको बताए । ‘उनीहरु जनताका लागि होइन आफ्नो निजी स्वार्थ, महत्वकांक्षा र पदीय बाँडफाँड नमिलेका कारण विभाजित हुन पुगेका हुन् । सिद्धान्त नीति र विचारका कारण न एकता भएको थियो न विभाजन भएको छ ।’–उनले भने ।

सर्वोच्च अदालत समेत निष्पक्ष हुन नसक्नु दुखत पक्ष भएको भन्दै नेता केसीले संवैधानिक इजलास गठन गर्नु नै नीतिगत कमजोरी भएको बताए । उनले संवैधानिक विषयको निरुपणमा पूर्ण इजलासबाट हेरिनु पर्नेमा समेत जोड दिए । हालसम्मका उपलब्धीहरुको रक्षा पहिलो दायित्व भएको भन्दै अध्यक्ष केसीले गणतन्त्र, धर्मनिरपेक्षता जस्ता प्रगतिशील व्यवस्थाहरुलाई संस्थागत गर्नु पर्नेमा जोड दिए ।

भेलालाई सम्वोधन गर्दै बामपन्थी नेता सुरेश थापाले जनतालाई देशको अवस्थाका बारेमा बुझाउन जरुरी रहेको बताए । उनले राजमोले मात्रै जनतालाई सही दिशा दिन सक्ने भरपर्दो विकल्पका रुपमा अघि सार्न कार्यकर्तालाई निर्देशन समेत दिए । कार्यकर्ता भेलालाई बाम बुद्धिजिवी दुर्गानाथ खरेल, नेकपा (मसाल) रुपन्देहीका प्रवत्ता नारायण जिसी, राजमोका रुपन्देही अध्यक्ष बद्रे आलम, युवा नेता नेत्र आचार्यलगाएतले बोल्दै बर्तमान अवस्थामा वली सरकारले गरेको प्रतिनिधि सभा विघटनले देश थप जटिलता तर्फ उन्मुख भएको बताएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।