ताजा अपडेट »

पहिलो हाफमै सावित्राको ४ गोल !

सोमबार, २३ बैशाख २०७६, १७ : ५२
8 Shares

वैशाख २३,

काठमाण्डौ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले हिरो इन्डियन वुमन्स लिगमा सानदार सुरुवात गरेकी छिन् । सेथु फुटबल क्लबबाट खेलिरहेकी सावित्राले पहिलो हाफमा नै ४ गोल गरेकी छिन् ।

सेथुले लिगको पहिलो खेलमा मणिपुर पुलिस स्पोर्ट्ससँग खेल्दैछ । खेलको पहिलो हाफमा सेथुले ४-२ को अग्रता लिएको छ । पहिलो रोजाईमा परेकी सावित्राले २९ सेकेन्डमा नै गोल गर्दै सेथुलाई अग्रता दिलाएकी थिइन् । उनले १६ औं मिनेटमा सेथुको अग्रता दोब्बर पारिन् । २२ औं मिनेटमा सेथुको डिफेन्समा तालमेल नमिल्दा मणिपुरले आत्मघाती गोल उपहार पाएको थियो । खेलको ३४ औं मिनेटमा सावित्राले मिडफिल्डबाट ग्रेस दाङमेईको लामो पासलाई उत्कृष्ट नियन्त्रणमा लिएर पोस्टको दिशा दिँदै ह्याट्रिक पुरा गरिन् । ४१ औं मिनेटमा मणिपुरकी कप्तान बाला देवीले गोल गर्दै अग्रता घटाइन् । पहिलो हाफको इन्ज्युरी समयमा सावित्राले चौथो गोल गरेकी हुन् ।

खेलका लागि सावित्रा पहिलो रोजाईमा पर्दा अर्की नेपाली खेलाडी अनिता बस्नेत भने बेन्चमा रहेकी छिन् । सेथुबाट भारतको राष्ट्रिय टोलीकी कप्तान आशालता देवी पनि खेल्दैछिन् । यद्यपी टोलीको कप्तानी भने राष्ट्रिय टोलीकै अर्की खेलाडी इन्दुमति कासिरेथानले सम्हाल्नेछिन् । भारतकै राष्ट्रिय टोलीका सदस्य स्विटी देवी, सन्ध्या र दाङमेई ग्रेस पनि पहिलो रोजाइमा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।