ताजा अपडेट »

कफी पकेटक्षेत्र बनाइँदै

आइतबार, ०४ माघ २०७७, १२ : १८
14 Shares

चरीकोट। दोलखाको वैत्येश्वर गाउँपालिकाका तीन वडालाई कफी पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ । वडा नं १, ७ र ८ लाई कफी पकेट क्षेत्रका रुपमा विकास गराउनका लागि दुई हजार रोपनी क्षेत्रफल विस्तार गरिँदै छ । गत वर्ष ४० हजार कफीका बिरुवा रोपिसकेको र यय वर्ष थप दुई हजार रोपनीमा बिरुवा लगाइने योजना रहेको वडा नं ७ का वडाध्यक्ष रेशमराज रिमालले बताए ।
यस वर्ष तीन वटा नर्सरीमा उत्पादन गरिएका करीब दुई लाख बिरुवा रोपिने योजना रहेको उनले जानकारी दिए । वाग्मती प्रदेश सरकारको कफी विस्तार कार्यक्रम र दोलखा कफी उद्योगको लगानीमा कफीखेती विस्तार गर्न लागिएको हो । गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत प्रदेश सरकारले रु ११ लाख सहयोग गरेको र दोलखा कफी उद्योगले थप रु ११ लाख जम्मा गरी कफीखेती शुरु गरिएको अध्यक्ष रिमालले बताए ।

यस वर्ष पनि कार्यक्रम विस्तारका लागि प्रदेश सरकारले रु २५ लाख र कफी उद्योगले रु २५ लाख रकम विनियोजन गरी काम अगाडी बढाइएको छ । वडा नं ७ ले पनि कफीखेती विस्तारका लागि भन्दै रु दुई लाख रकम विनियोजन गरेको छ । विनियोजन गरिएको सो रकम कफीखेतीका लागि जमीनको पहिचान गरी पूर्वधार विकास तथा सिँचाइ योजनाका लागि खर्च गरिने छ ।

उक्त गाउँपालिका तीन वडामा कफी उत्पादनको राम्रो सम्भावना रहेका कारण गत वर्ष वडा नं ८ को बसेरी, ७ को बेतानी, रिमालगाँउ, मार्वूटार र वडा नं १ को गैरिमुदी क्षेत्रमा ४० हजार कफीका बिरुवा रोपिएका थिए । यस थप विस्तार गर्नका लागि वडा नं ७ मार्वुटार नर्सरीमा एक लाख कफीका बिरुवा उत्पादन भइरहेका छन् । वडा नं ७ कै बेतानेमा ४० हजार, वडा नं ८ को बसेरीमा तीन रोपनी जमीनमा ४० हजार र वडा नं ६ मा २० हजार कफीका विरुवा उत्पादन गरिएको छ ।

गाउँपालिकाको कृषि प्राविधिकको प्रत्यक्ष निगरानी रहने गरी ८०० मिटर देखि एक हजार ६०० मिटरसम्मको उचाइमा कफीखेती विस्तार गरिएको छ । गाउँपालिकाले कफीको उत्पादनका हिसाबले राम्रो मानिएका ती क्षेत्रमा जैविक कफी उत्पादन गर्ने र पछि अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन र प्रशोधनका लागि उद्योग सञ्चालन गर्ने तयारी गरिरहेको वडाध्यक्ष रिमालले बताए ।
–––

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।