ताजा अपडेट »

दुई पक्षबीच झडप हुँदा हुम्लामा गर्भवती महिला घाइते

आइतबार, ०४ माघ २०७७, ११ : ५०
22 Shares

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् ।पहिलाका श्रीमान् धनराज शाही र दोस्रोसँग विवाह गरेका उमेश शाहीबीच विवाद हुँदा पहिलो श्रीमान् पक्षले ती महिलामाथि हातपात गरेको बताइएको छ ।

धनराजलाई छाडेर उमेशसँग विवाह गरेर केही समयअगाडि मिलापत्र गरेको भए पनि शनिबार पुनः दुई पक्षबीच झडप भएको हो । ११ लाख रुपैयाँ तिरेर मिलापत्र भएको भए पनि दोस्रो श्रीमान् उमेशले आफूले पैसा तिरेको भर्पाइसहितको कागजात माग्न खोज्दा पहिलाका श्रीमान् धनराजले गर्भवती महिलालाई हातपात गर्दा निधार र कानमा चोट लागेको छ ।

पैसा लिएको भर्पाइ माग्दा पहिलाका श्रीमान् पक्षकाले मिलेर कुटपिट गरेको बताइएको छ । ती महिलाको पेटमा पाँच महिनाको गर्भ रहेको र अहिले बोल्न नसक्ने भएका कारण उचारका लागि सिमकोट ल्याइएको छ ।कानमा लगाएको सुनको एक कानको रिङसमेत हराएको बताइएको छ । संविधानमै गाउँपालिकाले हिंसापीडितको सुरक्षाका लागि आश्रय केन्द्र निर्माण तथा व्यवस्थापन गर्नुपर्ने उल्लेख भए पनि हुम्लाका सात स्थानीय तहले अहिलेसम्म सिन्कोसमेत भाँच्न सकेका छैनन् ।

यस्तै, जिल्लाका सात गाउँपालिकामा रहेका ४४ वडाका स्थानीय सरकार तथा जनप्रतिनिधि हिंसापिडीत महिलाको व्यवस्थापनका लागि बेखबरजस्तै बनेका छन् । अहिलेसम्म हिंसामा परेका पीडितको सामाजिक सुरक्षाको व्यवस्थापन हुनसकेको छैन । हिंसामा परेकालाई समाजमा पुनःस्थापना गर्न नसकिए पनि बाँच्न पाउने न्यूनतम अधिकारको संरक्षण हुनुपर्ने पीडितको जीवनरक्षाको सवालमा काम गर्ने संस्थाहरू बताउँछन् ।

हुम्लामा हिंसापीडितको अस्थायी सरकारी आवासगृह निर्माण हुनसकेको छैन । जिल्लामा कुनै पनि स्थानीय तहले हिंसापीडितको अस्थायी आवासगृह निर्माणको नीतिगत व्यवस्था गर्न नसकेको मानव अधिकारकर्मी नन्द सिंहको भनाइ छ ।

रासस
लेखकको बारेमा
रासस