ताजा अपडेट »

'एकपटक कोभिड संक्रमण भएपछि ५ महिनासम्म दोहोरिँदैन'

शुक्रबार, ०२ माघ २०७७, ०७ : ५२
2 Shares

लण्डन । एक पटक कोरोना भाइरसबाट सङ्क्रमित भएको व्यक्ति कम्तीमा पाँच महिनासम्म सङ्क्रमणबाट बच्ने एक अध्ययनले देखाएको छ ।

बीबीसीले जनाए अनुसार पब्लिक हेल्थ इङ्गल्यान्डको एउटा अध्ययनले यस्तो तथ्य सार्वजनिक गरेको हो । यस्तै एक पटक संक्रमित भइसकेका व्यक्ति कहिल्यै संक्रमित नभएका मानिसको तुलनामा संक्रमित हुने सम्भावना ८३ प्रतिशतले कम हुने पनि वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

तर संक्रमण दोहोरिएर हुन सक्ने सम्भावना र सार्न सक्ने सम्भावनालाई भने विज्ञहरुले औंल्याएका छन् । उक्त अध्ययनको नेतृत्व गरेकी प्राध्यापक सुसन हप्किन्सले अध्ययनको नतिजाले निको भएका सङ्क्रमितहरू यसअघि सोचिए भन्दा लामो समय बच्न सक्ने बताएको पनि बीबीसीको समाचारमा उल्लेख छ ।

यस्तै पुनः सङ्क्रमित भएका केही व्यक्तिमा लक्षण नदेखिए पनि भाइरसको मात्रा ज्यादै धेरै भएको र अरूलाई सार्न सक्ने देखिनु चिन्ताको विषय भएको उनले बताएकी छन् ।

सन् २०२० को जूनदेखि नोभेम्बरसम्म यूकेका झन्डै २१ हजार स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण भएपछि गरिएको नियमित परीक्षणको नतिजामा यो अध्ययन आधारित भएको बताइएको छ। तीमध्ये पहिले सङ्क्रमण नभएका व्यक्तिहरूमध्ये ३१८ जनालाई सङ्क्रमण भएको र सङ्क्रमित भएर निको भएका ६ हजार ६१४ जनामध्ये ४४ जनालाई मात्रै फेरि सङ्क्रमण भएको थियो।

वैज्ञानिकहरूले ती स्वास्थ्यकर्मीहरूको स्वास्थ्य अवस्थाको एक वर्षसम्म अध्ययन गर्नेछन्। उनीहरूले भाइरसको नयाँ प्रकार र खोपको प्रभावकारिताको पनि अध्ययन गर्नेछन्। लेस्टर विश्वविद्यालयकी भाइरस विज्ञ डा. जुलियन टाङ्ले यो नतिजा स्वास्थ्यकर्मीहरूका लागि सकारात्मक भएको बताएकी छन्बी।-बीसीबाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।