ताजा अपडेट »

पाँच महिनामा ४ खर्ब १७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

विहीबार, ०१ माघ २०७७, ०८ : १८
10 Shares

काठमाडौं । चालु आर्थिक वर्षको गत मंसिरसम्ममा ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण आप्रवाह) भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आव २०७७/७८ को बितेका पाँच महिनाको गत मंसिर मसान्तसम्ममा रेमिट्यान्स भित्रिने क्रम १० दशमलव ९ प्रतिशतले वृद्धि भएर ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’को तथ्यांकअनुसार अघिल्लो आवको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव २ प्रतिशतले घटेको थियो । यसलाई हाल कायम भएको अमेरिकी डलरमा हिसाब गर्दा विप्रेषण आप्रवाह ६ दशमलव ४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो आप्रवाह ०.४ प्रतिशतले बढेको थियो ।

कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमै असर पुयाइरहेको समयमा नेपाल भित्रिने रेमिट्यान्स रकममा भने वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । यो अवधिमा रेमिट्यान्स भित्रिने क्रम बढेको देखिए पनि वैदेशिक रोजगारीमा जानेहरूको संख्यामा भने गिरावट आएको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) लिने नेपाली कामदारको संख्या ७७ दशमलव ९ प्रतिशतले घटेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो संख्या ११ दशमल ८ प्रतिशतले बढेको थियो ।

यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या पनि यस अवधिमा ६९ दशमलव ४ प्रतिशतले घटेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो संख्या ७ दशमलव ६ प्रतिशतले बढेको थियो ।

कोरोना महामारीका कारण अहिले नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या घटे पनि मुलुकमा वैधानिक प्रणालीबाट रेमिट्यान्स भित्रिने क्रम बढेसँगै रेमिट्यान्सको वृद्धिदर झन् बढेको सम्बन्धित सरोकारवालाको भनाइ छ । उनीहरूका अनुसार कोरोना महामारी पछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले रोजगारदाता गन्तव्य मुलुकबाट टिभी, घडी, सुन जस्ता जिन्सी सामान खरिद गरेर ल्याउन छाडेकाले पनि रेमिट्यान्स रकम भित्रिने क्रम बढेको हो ।

जसका कारण अहिले मुलुकको शोधनान्तर स्थितिमा समेत सुधार आएको छ । चालु आवको बितेका पाँच महिनाको अवधिमा देशको शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति जम्मा २३ अर्ब ३० करोडले मात्र बचतमा रहेको थियो ।

यसैगरी समीक्षा अवधिमा खुद ट्रान्सफर ८ दशमलव ५ प्रतिशतले वृद्धि भई ४ खर्ब ५९ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ दशमलव १ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत मंसिरमा वार्षिक बिन्दुगत मूल्यवृद्धि २ दशमलव ९३ प्रतिशत झरेको थियो । गत आवको सोही अवधिमा मूल्यवृद्धि ६ दशमलव ५५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५ दशमलव २३ प्रतिशतमा कायम रहेको देखाएको छ । तर, बजारभाउ त्योभन्दा धेरैले बढेको देखिएको छ । खासगरी दैनिक उपभोग्य वस्तुको भाउ विगत केही महिनायता अस्वाभाविक रूपमा बढेको आम उपभोक्ताकर्मीले बताएका छन् ।

राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने त्यो गतिमा मूल्य वृद्धि नभएको देखिएको हो । राष्ट्र बैंकले निकालेको मूल्यवृद्धिको तथ्यांकले बजार भाउलाई भने गिज्याइरहेको उपभोक्ता अधिकारकर्मीको दाबी छ । राष्ट्र बैंकको मूल्यवृद्धि गणाना गर्ने विधि फरक हुँदा वस्तु तथा सेवाको मूल्य जतिसुकै बढे पनि तथ्यांकले महसुस गर्न नसकेको उनीहरूको बुझाइ छ । यसले अहिले बजारमा अकासिएको मूल्य वृद्धिदर र राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा कुनै तालमेल नै नमिलेको अधिकांश उपभोक्ता अधिकारकर्मीको दाबी छ । आजको राजधानी दैनिकमा समाचार छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।