ताजा अपडेट »

ग्राण्डीद्वारा ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार शुरु

बुधबार, २९ पुस २०७७, ११ : ५५
6 Shares

काठमाडौँ । काठमाडौँको टोखामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार शुरु गरेको छ । ग्राण्डीले दाँतमा लागेको चोटपटक चाँडो निको बनाउनका लागि मङ्गलबारदेखि यस विधिबाट उपचार शुरु गरेको हो ।

अस्पतालका रक्तसञ्चार केन्द्रका प्रमुख डा विपिन नेपालले व्यक्तिकै रगत निकालेर ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार गर्दा चाँडो निको हुने भएपछि सो विधिलाई ग्राण्डीले शुरु गरेको जानकारी दिए । दाँतको शल्यक्रिया गर्दा यस विधिबाट छिटो निको हुने गरेको उनको भनाइ छ ।

ग्राण्डीले विसं २०७३ मा आफ्नै रक्तसञ्चार केन्द्र स्थापना गरी अस्पतालमा हुने शल्यक्रियाका लागि रगत पु-याउँदै आएको छ । अस्पतालले हरेक हप्ताको शनिबार उपत्यका तथा उपत्यका बाहिरका विभिन्न स्थानमा रक्तदान कार्यक्रमको समेत आयोजना गर्दै आएको छ ।

यस अस्पतालले रगत अभावका कारण कोही विरामीले पनि मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले उपत्यकाका विभिन्न सरकारी अस्पतालमा आवश्यक पर्ने रगतसमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ । ग्राण्डीले आगामी दिनमा प्लाष्टिक सर्जरी र ढिलो निको हुने घाउहरुमा समेत सो विधिमार्फत उपचार गर्ने लक्ष्य लिएको छ ।

रासस
लेखकको बारेमा
रासस