सुनसरी । नेपाल प्रेस युनियन सुनसरी शाखाले सुनसरीका पत्रकारको जनही सात लाख रूपैयाँ बराबरको दुर्घटना बिमा गरिदिएको छ । प्रेस युनियन सुनसरीको पहलमा अजोड इन्स्योरेन्स कम्पनी सुन्धारामार्फत जिल्लाका दुई सय ६० जना पत्रकारहरूको निःशुल्क एक बर्से दुर्घटना बिमा गरिएको हो ।
मङ्गलबार इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले सम्झौता–पत्रमा हस्ताक्षर गर्दै राज्यको चौथो अङ्गको व्यक्तिगत सुरक्षामा सहकार्य गर्ने अवसर पाउँदा आफ्नो संस्थाको प्रतिष्ठा बढेको बताए । उनले कबोलअनुसार बिमा दाबी सहज रूपमा भुक्तान गरिने प्रतिबद्धता पनि जनाएका थिए ।
सम्झौताअनुसार आगामी एक वर्षभित्र बिमित पत्रकारको दुर्घटनाबाट मृत्यु भएमा सात लाख र घाइते भएमा अवस्थाअनुसार ७० हजार रुपैयाँसम्म क्षतिपूर्ति पाउनेछन् ।हाल नेपाल पत्रकार महासङ्घले पनि पत्रकारको दुर्घटना बिमा गरिदिने गरेको छ । तर त्यसका लागि सूचना विभागद्वारा जारी गरिएको प्रेस–पास हुनु अनिवार्य मानिएको छ, जसका कारण बहुमत पत्रकार त्यस्तो बिमाको घेरामा समेटिन सकेका छैनन् ।
यता प्रेस युनियनले गरेको बिमाको दाबी भुक्तानीका लागि त्यस्तो अनिवार्यता नभएको सुनसरी प्रेस युनियनका अध्यक्ष पवन अधिकारीले बताए । उनका अनुसार पत्रकार महासङ्घ वा कार्यरत सञ्चार संस्थाले दिएको आधिकारिक परिचय–पत्रका आधारमा पनि बिमित पत्रकार लाभान्वित हुनेछन् ।
यसैबीच, सुनसरीमा थप सात जना पत्रकारको कोरोना बिमा दाबी रकम प्राप्त भएको छ । बिमा दाबी रकम प्राप्त हुनेमा विवेक विवश रेग्मी, हिमाल दाहाल, देवेन्द्र कार्की, रोहित राई, सरिता कोइराला, सञ्जय राई र रामबहादुर (आरबी) कटुवाल रहेका छन् । कोरोना प्रभाजित सुनसरीका ३१ पत्रकारमध्ये १६ जनाले त्यस्तो दाबी भुक्तानी पाइसकेका छन् ।
सुनसरी प्रेस युनियनले आइएमई जनरल इन्स्योरेन्स कम्पनीमार्फत दुई सय ६० जना पत्रकारको एक लाख रुपैयाँ बराबरको निशुल्क कोरोना बिमा गरिदिएको थियो । तिनै दुई सय ६० पत्रकारको थप दुर्घटना बिमा गरिएको हो । जिल्लाका सबै पत्रकारलाई यो सहज बिमा कार्यक्रमअन्तर्गत समेट्ने योजना रहेको अध्यक्ष अधिकारीले बताए ।
सुनसरी प्रेस युनियनले नोबेल अस्पताल विराटनगरसँगको सहकार्यमा जिल्लामा कार्यरत सबै पत्रकारहरुको उपचारमा ५० प्रतिशत छुटको सम्झौतासमेत गरेको छ । जसअन्तर्गत एक दर्जनभन्दा बढी पत्रकारले उपचारमा छुट सुविधा लिइसकेका छन् ।-कोशी अनलाइनको सहयोगमा
प्रतिक्रिया