ताजा अपडेट »

कविता : "मेरो क्यामेरा"

शुक्रबार, २० बैशाख २०७६, १२ : ४१
10 Shares

विदेशमा बनेको मेरो क्यामेरा
खास स्वदेश खिच्नै जान्दैन ।
सिंह दरबार खिच्छु भन्छ
बालुवाटार खिच्छु भन्छ
नयाँ बानेश्वर खिच्छु भन्छ
तर,
ढलेको सिन्धुपाल्चोक
गलेको कर्णाली
अनि जलेको मधेस,
खिच्नै मान्दैन ।।

महंगो मेरो क्यामेरा
अभाव खिच्नै मान्दैन
माननीयका महल खिच्छु भन्छ
मन्त्रीका मन्तब्य खिच्छु भन्छ
धनकुबेरका ढुकुटी खिच्छु भन्छ
तर,
किसानको कष्ट
सुकुम्बासीको सकस
अनि मजदुरको मजबुरी,
खिच्नै मान्दैन ।।

धुलो खिच्न जान्दैन
हिलो खिच्न मान्दैन
पहाडी पाखामा पट्पटी फुटेका
पैताला खिच्न मान्दैन
टन्टलापुर तराइका गरामा तप्प चुहिने
पसिना खिच्न मान्दैन
मुटु जम्ने मनाङका मुहारभित्र लुकेको
मुस्किल खिच्न मान्दैन
मेरो क्यामेरा ।।

धर्म खिच्न मन्दिर पुग्छ
कर्म खिच्न जान्दैन
आवरण खिच्न शहर घुस्छ
आत्मा खिच्न मान्दैन
झुटो मुस्कान खोजी खोजी खिच्छ
सत्य आँसु खिच्नै मान्दैन
ठूला गफ गज्जबले खिच्छ
गफको नियत कैलै जान्दैन-
मेरो क्यामेरा ।।

म त चालक हुँ यसको
मालिक अर्को छ,उसैको भक्ती छ
झुन्ड्याई छातीमा मेरो नाम र फोटो,
चलाउने कोहि तेश्रो शक्ति छ।।।

‘आइडेन्टी कार्ड’ झुन्डिएको छातीको
ठ्याक्कै भित्र,
मेरो अर्को ‘आइडेन्टिटी’ छ-
आफ्नै सासले चल्ने मुटु छ;
कहिलेकाहिं त ढक्क फुलेर आउँछ
भित्रैबाट त्यो ‘आइडेन्टिटी’
अनि मन लाग्छ-
बेस्सरी बजार्न
बेस्सरी पछार्न
मेरो काँधको लाशजस्तो-
बिदेशी,
महंगो,
टल्किने,
आडम्बरी,
मेरो क्यामेरा,

तर,

मेरो ‘आइडेन्टिटी’को ठ्याक्कै मुनि
मैले टेक्ने धर्तिको सिधै माथी
एउटा पापी भनिएको पेट छ
त्यो संग जोडिएको अन्य पेटको जमात छ;
भोक छ,अभाव छ
परनिर्भर देशमा जन्मिनुको
अभिषाप छ,,,

नदेखी केही दृश्य
आफ्नो विवसता भन्दा अर्को
देखेर जेनतेन
बाँच्न खोज्नेहरुको लामो लर्को
भुलिदिन्छु सबथोक
अनि निस्किन्छु खिच्न
झूठ,भ्रम,मिथ्या र अफवाह हरु;
झुन्ड्याई गलामा
फाँसी सरह मेरो क्यामेरा ।।।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।