ताजा अपडेट »

संसदमा वार्षिक नीति तथा कार्यक्रम पेस हुँदै

शुक्रबार, २० बैशाख २०७६, ०९ : १६
4 Shares

वैशाख २०,

काठमाडौँ । आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्मा पेस हुँदैछ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्नुहुनेछ । संयुक्त बैठक अपराह्न ४ बजे बोलाइएको छ । यो वर्ष बजेट पूर्वको छलफल अघि नै नीति तथा कार्यक्रम पेस हुन लागेको हो । नीति तथा कार्यक्रम अनुमोदन भएपछि मात्र बजेट पूर्वको छलफल हुनेछ । बजेट पूर्वको छलफलअघि नै नीति तथा कार्यक्रम ल्याइन लागेको भन्दै प्रमुख विपक्षी दल नेपाली काँग्रेसले भने असन्तुष्टि जनाएको छ । 


नीति तथा पेस भएपछि छलफल हुनेछ । बढीमा तीन दिनसम्म छलफल चलाउने तयारी गरिएको छ। छलफलमा उठेका प्रश्नमा प्रधानमन्त्रीले सम्बोधन गरेपछि अनुमोदनको प्रक्रिया सुरु हुनेछ । नीति तथा कार्यक्रम पेसका लागि सङ्घीय संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । यो वर्ष पनि सरकारले प्रदेश र स्थानीय तहले सम्पन्न गर्नुपर्ने आयोजनाको वित्तीय सुनिश्चिततासहित सम्बन्धित तहलाई थप हस्तान्तरण गर्ने नीति लिएको छ । चालु वर्षदेखि पहिलोपटक यस्ता आयोजना क्रमशः हस्तान्तरण गर्दै लैजाने नीति लिएको थियो ।


यो पटक नीति तथा कार्यक्रम पेस भएपछि मात्र बजेट पूर्वको छलफल प्रारम्भ हुनेछ । सङ्घीय संसद् सचिवालयको तयारी अनुसार ढिलामा पनि वैशाख ३१ सम्म बजेट पूर्वको छलफल सकिनेछ । बजेट प्रस्तुत र बजेट पूर्वको छलफलको अवधि कम्तीमा १५ दिन हुनुपर्ने व्यवस्था छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।