ताजा अपडेट »

के चैत्रमा शैक्षिक सत्र पूरा हुन्छ ?

सोमबार, २७ पुस २०७७, ०७ : ०४
6 Shares

मेरा केहि आफन्तजन, सहकर्मी र घरबेटीलाई कोभिड-१९ ले आफ्नो पञ्जामा लिन सकेपनि निल्नभने सकेन । उहाँहरुको अनुभव र अनुभूति सुन्दा यो महाव्याधि साँच्चिकै डरलाग्दो काल रहेछ ।  ‘ नमरी स्वर्ग देखिदैन’ भन्ने गरिन्छ। के नर्क नमरी पनि देखिन्छ ? जे होस अहिलेसम्म आफू त्यो नर्कको यात्रा गराउने कालको पञ्जामा पर्नबाट जोगिए पनि कतिबेला परिने हो र पञ्जाबाट फुत्किन सकिने हो कि होईन सम्झिदै पनि आङ सिरिङ हुन्छ,फुल्छ र काँडाले भरिन्छ। 

विश्वलाई तवातवा बनाएको यो व्याधिबाट  र नेपाल सरकारले लगाएको बन्दाबन्दीबाट बच्न आफ्नो जन्मघर  लागियो र करिब ५ महिनाको बसाईपछि काठमाण्डौ खाल्डोमा फर्कियो। यस महाव्याधिले विश्वलाई तहस-नहस पारेका बेला नेपाल अछुतो हुने कुरा भएन। यसको प्रभाव आर्थिक, सामाजिक, राजनितिक र शैक्षिक जगतमा व्यापक रुपमा परेको छ । केहि मुठ्ठिभर कुपात्रहरुलाई भने नगदनारायण कुम्ल्याउने सुनौलो अवसर बनेर आयो कोरोना।

समस्या एक्लै नआई समाधान पनि बोकेर ल्याउछ भनेजस्तै भएको छ शिक्षा क्षेत्रमा । भौतिक रुपमा विद्यालय जान नसक्ने अवस्थामा अफलाईनका रुपमा रेडियो र टिभिमार्फत, कम प्रभावित क्षेत्रमा सनासाना समूह बनाई टोलटोलमा गएर सिकाउने र प्रविधिको पहुँच भएका ठाँउमा जुम र टिमलिंकमार्फत सिकाई सहजिकरण गर्ने काम भयो र अहिले पनि चलिरहेको छ । यसको प्रभावकारिता कति भयो र पहुँच कतिभयो भन्ने कुरा छलफल र बहसको विषय नै छ । शिक्षकहरु पनि प्रविधिमैत्री हुने कार्यमा निरन्तर लागिरहनुभयो ।

नियमित कक्षा सञ्चालन हुन सकेको भए अबको दुई महिनापछि यो वर्षको शैक्षिक सत्र पूरा हुने थियो । तर,परिस्थिति त्यस्तो छैन । चैत्रमा शैक्षिकसत्र पूरा हुने कि नहुने ? नहुने भए कहिलेसम्म र कसरी पूरा गराउने भन्ने विषयमा सरोकारवाला निकाय र व्यक्तिहरु बेखवर जस्तै देखिन्छन् । शिक्षा मन्त्रालय पुषको पारिलो घाम तापेर मस्त निदाए जस्तो छ । प्रदेश र स्थानीय सरकार पनि केहि नभए जस्तो गरिरहेका छन्।असंगठित अभिभावक र घरमा कोचिन बाध्य बालबालिका चिन्तित छन् अब के हुन्छ भनेर।

के यही चैत्रमा शैक्षिक सत्र पूरा हुन्छ त ? के यो शैक्षिक सत्रमा पाठ्यक्रमले तोकेका सबै उद्देश्य प्राप्त गराउन सकिन्छ त ! एक दुई महिना तन्काएर ? घटाईएको भनिएका उद्देश्य पनि कति पूरा भए त ? लेखाजोखा कसले गर्ने ? कसलाई के को धन्दा कसलाई के को धन्दा, घर ज्वाँईलाई खानको धन्दा भनेजस्तै सत्ता सञ्चालकहरु हुँदाखाँदाको संसद विघटन गरेर आगामी बैशाख १७ र २७ गते चुनाव गराउने भनेर उखर्माउलो मच्चाई रहेका छन् । यसका विपक्षमा रहेकाहरुलाई कसरी सत्ता प्राप्ति होला भन्ने ध्यानमा नै व्यस्त छन् । यतापट्टि सत्तापक्ष र विपक्ष कसैको पनि ध्यान जान सकेको छैन र लान चाहिरहेका पनि छैनन् कि ? साँच्चिकै उहाँहरु कसैका पनि सन्तान शिक्षालयमा छैन्न कि जस्तो ।

ग्रामिण भेगका विद्यालयहरु दशैतिहारपछि सञ्चालनमा आएका भए पनि काठमाण्डौका भने आएका छैनन् । सुनिदै छ अब माघ पहिलो साताबाट सञ्चालन गर्ने रे । गजेट र कोठामा कोचिन बाध्य भएका विद्यार्थिका लागि त खुशीकै कुरा हो यो । साथिभाईसंग लामो समयपछि प्रत्यक्ष भेटघाट हुने र रमाउन पाउने भए । के यो मध्य जाडोको बेला साँच्चिकै विद्यालय खोल्न उपयुक्त समय हो त ? युरोप अमेरिका जो प्रणालीमा चलेका छन् भनिन्छ उनीहरुले त खोलेर बन्द गरेको अवस्था छ भने हाम्रोमा के होला त ?

विभिन्न देशहरुमा कोभिडको दोस्रो लहरले तहल्का मच्चाई रहेको छ । त्यति मात्र होईन अहिलेकोभन्दा झन द्रुत गतिमा फैलिने परिवर्तित भाईरसले बेलायत आक्रान्त बनेको छ । यसको फैलाबाट भारतसम्म भैसक्यो र नेपालमा पनि आएको आशंका छ । परीक्षणको दायरा घटाएर शासकहरु कोभिड नियन्त्रणमा आएको देखाउन उद्दत देखिएका छन् किनकि उनीहरुलाई चुनाव चाहिएको छ । सडक र सभाहरुमा सर्वसाधारणलाई उपस्थित बनाउनु छ। बाख्रे बुढीका सन्तान मरुन कि बाँचुन के मतलब । जनता र विद्यार्थीको के मतलब सत्ता बाहेकका कुरा उनीहरुलाई सब मिथ्या लाग्दछ ।

कार्यालय सञ्चालन र विद्यालय सञ्चालन गर्ने कार्य किमार्थ एउटै होईन । कार्यलयमा सिमित मानिस हुन्छन र सचेत र सजग पनि साथै WHO का मापदण्डण लागू गर्न सकिन्छ । विद्यालयमा त्यो करिब-करिब असम्भव प्रायः छ किनकि अत्यावश्यक भएर दिर्घशंका गर्दा त धुने पानी र साबुन हुदैन । विद्यार्थीले मास्क लगाउदैनन्, एक अर्काको जुठो खान्छन्, भौतिक दूरी कायम हुँदैन, बसाई अबधि लामो हुन्छ । सेनिटाइजर लगाइरहन पनि संभव हुदैन । हाम्रा सरोकारवालाले नियम कसरी पालना गर्छन भन्ने कुराको राम्रो उदाहरण त सार्वजनिक याताया छदै छ । भौतिकरुपमा विद्यालय खोल्ने हो भने अभिभावकसँग छलफल गरिनु पर्छ ।

भौतिक रुपमा पठाउने र नपठाउनेको तथ्यांक संकलन गर्नुपर्छ । भौतिक रुपमा पठाउन नचाहनेका हकमा अनलाईन कक्षा सञ्चालन गरिनु पर्छ । विद्यार्थीको कोरोना विमा गरिनु पर्छ । त्यो कसले गरिदिने ? अभिभावकले, विद्यालयले वा नेपाल सरकारले ? विमा नगरी कक्षा सञ्चालन त गर्नै हुँदैन । अहिले कसैका सनकका भरमा हतारमा सञ्चालन गर्दा त्यसबाट निस्किन सक्ने गम्भीर परिणामका लागि को जवाफदेही र जिम्मेबार हुने ? त्यसको टुङ्गो लाग्नु पर्दैन ? स्वस्थ्य विशेषज्ञ तथा सुप्रभात भण्डारीको सदाबहार अभिभावक संगठनले विद्यालयमा भौतिक उपस्थितिका लागि  हतार नगर्न भनिरहेका छन् । तर,पनि एउटा समूह ज्यान फालेर भौतिक रुपमा विद्यालय सञ्चालनका लागि लागिपरेको छ। आरोप-प्रत्यारोप गर्नुभन्दा र स्थिति बिग्रन अगाबै सहि समाधान निकालेर मात्र अगाडि बढ्ने कि ? स्वास्थ्य र सन्तानभन्दा ठूलो धन अरु होइन कि ?

https://www.globalaawaj.com/archives/72097
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।