ताजा अपडेट »

आँधीको डरले ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

विहीबार, १९ बैशाख २०७६, १७ : १८
6 Shares

वैशाख १९,

काठमाण्डौ । भारतको पूर्व तटीय क्षेत्रमा समुद्री आँधी आउने सम्भावना देखिएपछि त्यस क्षेत्रका हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । उडिसा राज्यका करिब ८ लाख मान्छेलाई आँधीले प्रभाव पार्नसक्ने क्षेत्रबाट सार्ने प्रक्रिया भइरहेको बीबीसीले जनाएको छ । फानी नाम दिइएको आँधी २ सय किलोमिटर प्रतिघण्टाको गतिमा आउने अनुमान मौसमविद्हरुले गरेका छन् ।

यो आँधी अहिले बंगालको खाडी हुँदै आन्ध्र प्रदेशतर्फ गइरहेको अधिकारीहरूले बताएका छन् । उडिसा राज्यको केन्द्र हुँदै जाने यो समुद्री आँधीले कम्तीमा १३ जिल्ला प्रभावित गर्न सक्छ । यो क्षेत्र आसपासका सबैलाई सुरक्षित घरभित्र रहन सूचना जारी गरिएको छ । भारतको प्रकोप नियन्त्रण विभागका अधिकारीका अनुसार यो आँधीले छिमेकी राज्य आन्ध्र प्रदेश र तमिलनाडुमा पनि प्रभाव पार्न सक्नेछ । त्यसैले ती क्षेत्र उच्च सर्तकता अपनाइएको सरकारी अधिकारीहरूले जनाएका छन् । यो आँधी एकदमै बलियो हुनसक्ने भएकाले जोखिमपूर्ण रहेको उनीहरूको भनाइ छ । शुक्रबार जमिनमा पर्ने अनुमान गरिएको यो समुद्री आँधी उडिसाको पुरी नामक सहरमा यसको प्रभाव धेरै देखिनेछ । पुरीमा साढे आठ सय वर्षभन्दा पुरानो जगन्ननाथ मन्दिर रहेको र उक्त ऐतिहासिक भवनमा असर पर्ला भनेर अधिकारीहरू चिन्तित छन् ।

यो क्षेत्रका सबै स्कुल र कलेज बन्द भइसकेका छन् । आँधीको प्रभाव पर्ने भएकाले पूर्वी तटस्थित दुइटा ठूला बन्दरगाह पनि बन्द गरिएका छन् । भारत मौसम विभागको चेतावनीपछि भारतीय सैनिक बललाई सतर्क अवस्थामा राखिएको छ । नेपालको मौसम पूर्वानुमान महाशाखाले उक्त समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बंगलादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव यहाँ पर्न सक्ने बताएको छ । फानीको प्रभावका कारण नेपालको पूर्वी र मध्य भागमा हावाहुरी, चट्याङ र वर्षाको सम्भावना छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।