ताजा अपडेट »

नेपालमा पहिलो पटक बर्ड फ्लूबाट युवकको मृत्यु

विहीबार, १९ बैशाख २०७६, १२ : ४४
4 Shares

वैशाख १९,

काठमाडौं । नेपालमा बर्ड फ्लूका कारण एक जनाको ज्यान गएको छ । ‘बर्ड फ्लू’ (एच फाइब एन वान) बाट काभ्रेका २१ वर्षीय एक युवकको ज्यान गएको स्वास्थ्य सचिव डा पुष्पा चौधरीले पुष्टि गरिन् । नेपालमा बर्ड फ्लू पुष्टि भएको यो पहिलो घटना भएको स्वास्थ्य सचिव चौधरीले बताईन् ।

गत चैत १० गते ज्वरो र खोकी लागेर अस्पताल भर्ना भएका ति युवकको र्‍याल परीक्षणका क्रममा बर्ड फ्लूको भाईरस भेटिएको थियो । परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उनलाई चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि दिइयो। तर, श्वासप्रश्वासमा समस्या भई चैत १५ गते नै उनको उपचारका क्रममा मृत्यु भयो । उनको मृत्युपछि प्रयोगशालामा परीक्षणका लागि पठाइएको र्‍यालमा कुन भाइरस हो भन्ने प्रमाणित भएन । त्यसपछि उक्त नमूना परीक्षणका लागि जापान पठाइएको थियो। उक्त नमूनाको नतिजा बैसाख १७ गते मात्र नेपाल आएको स्वास्थ्य सचिव चौधरीको भनाई छ । नमूनामा बर्ड फ्लू (एच फाइब एन वान) भएको उल्लेख थियो।

त्यसपछि यो खबर कसरी बाहिर ल्याउने भन्ने विषयमा प्रधानमन्त्री कार्यालयमा जानकारी गराइएको थियो। घटनाको जानकारी गराउन आज स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरिएको हो। ती मृतकको नाम भने खुलाइएको छैन । बर्ड फ्लु भनेको एभियन इन्फ्लुएन्जा टाइप ए नामक सूक्ष्म भाइरसका कारण लाग्ने प्राणघातक रोग भएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनको भनाई छ । यस प्रकारका भाइरसले अतिछिट्टै आफ्नो वंशाणुगत स्वरुपमा परिवर्तन गर्नसक्ने क्षमता बोकेको हुन्छ । यस क्रममा शरीरका कोषसँग समायोजन भएर नयाँ किसिमका हानिकारक जीवाणु जन्मन्छ, जुन पशुबाट मानिसमा सर्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।