ताजा अपडेट »

संस्कार

शनिबार, २५ पुस २०७७, १६ : २०
136 Shares

रोईथ्यौ अरे आमा तिमी, मैले जन्म लिंदा
फेरी रोयौ आमा तिमी, मलाई कर्म दिंदा
किन रोयौ भन्थे पहिले, बुझे मलाई पर्दा
छोरी बनी जन्म लिएं, रैछु दोश्रो दर्जा ।

आमा सधै भन्नु हुन्थ्यो, बाबा घरको मुली
छोरी मान्छे एक्लै एक्लै, हिड्न हुन्न डुली
भाइलाई हिड्न हुने ठाउंमा मलाई नजाउ भन्दा
नबुझेर रोय आमा, बुझे मलाई पर्दा
छोरी बनी जन्म लिएं, रैछु दोश्रो दर्जा ।।

नयनभरी आंशु लुकाई, हांस्न बाध्य भएं
जबरजस्ती नयां नाता, गांस्न बाध्य भएं
ईज्जत सम्झी जाउ छोरी, बचन दियौं भन्दा
बुझिनन नि आफ्नो खुसी, बल्ल बुझें पर्दा
छोरी बनी जन्म लिएं, रैछु दोश्रो दर्जा ।।

कर्म घरमा गएर छोरी, नबोले है चर्को
जस्तो पर्छ सही बसे, नमाने है झर्को
आमा तिम्रो संस्कारलाई, सकेसम्म मान्दा
एक्लै रोएं नबुझेर, बुझें मलाई पर्दा
छोरी बनी जन्म लिएं, रैछु दोश्रो दर्जा ।।

घरको काम धन्दा सकी, अनि अफिस जान्छु
भोकमा होईन खाना आमा, फुर्सदमा खान्छु
बाबालाई नी घरको काम, लगाउ आमा भन्थे
म पो गलत रैछु आमा, बुझे मलाई पर्दा
छोरी बनी जन्म लिएं, रैछु दोश्रो दर्जा ।।

घरकी म त बुहारी हुं, मान्नुपर्ने सारा
अफिसमा झन छोरीजात, हेर्ने फरक पारा
बदल्नु छ समाज आमा, अघि बढ्छु भन्थे
नसकिने सोंच रैछ, बुझें मलाई पर्दा
छोरी बनी जन्म लिएं, रैछु दोश्रो दर्जा ।।

सक्दिन म कामको नाउमा, सांझ डिनर जान
न त सक्छु गलत सोंचमा, टक्र्याएको खान
संकुचित यो मानसिकता, बदलिन्छ भन्थे
जन्मजातै आउंदो रैछ, बल्ल बुझें पर्दा
छोरी बनी जन्म लिएं, रैछु दोश्रो दर्जा ।।

कार्यालयको कामकाज, सांझ अबेरसम्म
घरजांदा पहिलो प्रश्न, कां थ्यौ अहिले सम्म
न त राखें घरका खुसी, जागीर खाने बन्दा
छैन रैछ कतै सन्तोष, बल्ल बुझें पर्दा
छोरी बनी जन्म लिएं, रैछु दोश्रो दर्जा ।।

बस्थ्यौ अरे टोलाएर, रुंदै बलेसीमा
भक्कानींदै मेरो फोटो, च्यापी कोखीलीमा
विदा मिलाई तिमलाई भेट्न आउन नपाउंदै
संसार छोड्यौ तिम्रो अभाव, बुझे एक्लै पर्दा
छोरी बनी जन्म लिएं, रैछु दोश्रो दर्जा ।।

यही भएर आमा तिमी, म जन्मिदा रोयौ
आफ्नै पिडा सम्झिएर, आंशुले मुख धोयौ
नहुने भो सुख आमा, तिम्रो संस्कारले
गलत रैछ संस्कार नै, बुझें मलाई पर्दा
छोरी बनी जन्म लिएं, रैछु दोश्रो दर्जा ।।

https://www.globalaawaj.com/archives/70152
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।