ताजा अपडेट »

प्रधानमन्त्री कप प्रदेश स्तरीय छनौट क्रिकेट : रुपन्देही र कपिलबस्तु भिड्दै

शनिबार, २५ पुस २०७७, ०९ : ५६
2 Shares

भैरहवा । शुक्रबारदेखि भैरहवामा सुरु प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता (पुरुष) छनोट प्रतियोगितामा आज शनिबार रुपन्देही र कपिलवस्तुले प्रतिस्पर्धा गर्दै छन् । सिद्धार्थ रङ्गशालामा प्रदेश स्तरीय छनोट प्रतियोगितामा रुपन्देहीको आज दोस्रो खेल हो ।

शुक्रबारको उद्घाटन खेलमा रुपन्देहीले नवलपरासीलाई १६३ रनको फराकीलो जीत दर्ता गरेको थियो । रुपन्देही रहेको ग्रुप ए अन्तरगत पाल्पा, कपिलबस्तु र नवलपरासी रहेका छन् । गु्रप बी अन्तरगत बाँके, दांग र बर्दिया रहेका छनु भने उनीहरुको खेल दाङको देउखुरीमा भोलि आइतबारदेखि सुरु हुने छ ।

उद्घाटन खेलमा टस जितेर व्याटिङ्ग रोजेको रुपन्देहीले निर्धारीत ३८ ओभरमा ५ विकेट गुमाउदै २ सय १३ रन बनाएको थियो । खराब प्रकाशका कारण खेल ढिलो सुरु भएकोले खेल ४० ओभरबाट घटाई ३८ ओभर बनाइएको थियो । रुपन्देहीका लागि सन्दिप सुनारले ५९ रन बनाए । उनले ६४ बलको सामना गर्दै ५ चौका र ३ छक्काको मद्दतले सो रन बनाएका थिए । त्यस्तै देव खनालले ४७ र प्रकाश केसीले ४४ रनको योगदान गरे भने सन्दिप रजाईलीले २६ रन बनाए । बलिङ्गतर्फ नवलपरासीका अजित यादवले २ तथा जितेन्द्र साहनी, ईकलाख अहमद गया साहनीले समान १÷१ विकेट लिए ।

जवाफी व्याटिङमा उत्रेको नवलपरासीले २ सय १४ रनको बिजयी लक्ष्य पूरा गर्ने प्रयासमा २२ ओभर १ बलमै ५० रनमा समेटियो । नवलपरासीका लागि सर्बाधिक १४ रन अमर रसाईलिले बनाए भने अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । ५ जना खेलाडीले शुन्य रनमै पेभेलियन फर्केका थिए । नवलपरासीलाई सस्तैमा समेट्ने क्रममा बिक्रम भुषालले ५, नितेश थापाले ३ र अनिल खरेलले २ विकेट लिए । खेलमा रुपन्देहीका बिक्रम भुषाल म्यान अफ दि म्याच भएको लुम्बिनी प्रदेश क्रिकेट संघका सचिब सञ्जय गुरुङ्गले बताए ।

नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा सुरु भएको प्रतियोगितामा उत्कृष्ट खेलाडी छनौट गरी माघ २ गते काठमाण्डौमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागी लुम्बिनी प्रदेश क्रिकेट टिम तयार हुनेछ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा