ताजा अपडेट »

तरकारी किन्न घरमै गाडी पुगेपछि कृषकलाई राहत

शुक्रबार, २४ पुस २०७७, १० : ११
1 Shares

तम्घास । गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमिचौरकी भगभता कुँवर आफ्नै करेसाबारीमा फलेका खुर्सानी टिपेर सिमिचौरको बासखर्क आइन्। उनले आफ्नै करेसाबारीबाट टिपेर ल्याएको खुर्सानी खरिद गर्न रेसुङ्गा नगरपालिकाको गाडी त्यस स्थानमा पुगेको थियो । 

नगरपालिकाले तोकेको दरभाउअनुसार आधा किलो खुर्सानीको उनले रु ७० पाउने भइन् । “खुर्सानी, केराउका मन्टा, रायो साग, पिँडालुलगायतका तरकारी नगरपालिकाले खरिद गरिदिन्छ”, उनले भनिन् “तरकारी बेचेको पैसा पनि केही दिनपछि घरमै आउँछ ।” 

आफूहरुले तरकारी बिक्री गरे मासिक रु पाँच हजारसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । घरमा भएको सबै कृषिउपज नगरपालिकाले खरिद गरिदिँदा स्थानीय कृषकले उत्पादन गरेको तरकारीले बजार पाएको र राम्रो आम्दानीको स्रोत भएको उनले बताइन्। श्रीमान् रोजगारीका लागि विदेशमा भए पनि घरमा आफू र छोरीको खर्च चलाउन श्रीमान्को आश गर्नु नपर्ने उनको अनुभव छ । 

सोही ठाउँकै मीना पाण्डे पनि नगरपालिकाले उत्पादित सबै कृषिउपज खरिद गरिदिन थालेपछि स्थानीय उत्पादनले राम्रो बजार पाएको र आम्दानीको स्रोत बढेको बताउछिन् । 

नगरपालिकाको गाडी आउँदा प्रत्येक पटक थोरै भए पनि तरकारी बिक्री गर्ने र त्यसबाट घरखर्च चलाउन सहज भएको उनको बुझाइ छ । “पहिले पहिले एक पाउ तरकारी बोकेर बजारमा बेच्न जादैन थियौँ”, उनले भनिन्, “अहिले गाउँमा आएको गाडीले तरकारी लैजान्छ ।” 

नगरपालिकाले पिँडालुलाई प्रतिकिलो रु ५०, अदुवालाई प्रतिकिलो रु ९० मा बिक्री हुने गरेको उनले बताइन् । पिँडालु, गिठाजस्ता कहिल्यै बिक्री नहुने तरकारी र फलफूलजन्य उपज पनि नगरपालिकाले खरिद गरिदिँदा आफूहरुको आम्दानीको स्रोत राम्रो भएको उनी बताउछिन्। रेसुङ्गा नगरपालिकाले हाटबजार सञ्चालन गरी कृषकले उत्पादन गरेका कृषिउपजको बजारको ग्यारेन्टी गरेपछि कृषक लाभान्वित भएका छन् । 

नगरपालिकाले २०७६ कात्तिक २३ बाट हाटबजार सञ्चालन गरेको छ । तर कोरोना महामारी शुरु भएसँगै गत चैतदेखि बन्द भएको थियो । त्यसको नौ महिनापछि गत पुस ८ गतेदेखि हाटबजार पुनःसञ्चालनमा आएपछि कृषकले उत्पादन गरेको कृषि उत्पादनले बजार पाएको छ ।

नगरपालिकाले समय मिलाएर रेसुङ्गा नगरपालिकाका वडा नं ४ अर्खले, वडा नं १० सिमिचौर, धुर्कोट गाउँपालिका तथा अर्घाखाँचीको ढिकुरासम्म पुगेर कृषिउपज सङ्कलन गरी हाटबजारमार्फत बिक्री गर्दै आएको छ । 

बाँसखर्ककै सुमित्रा पाण्डेका श्रीमान् वैदेशिक रोजगारीमा छन् । घरमा दुई छोरी आफूको खर्च तरकारी बिक्रीबाटै जुटाउने गरेको उनी बताउछिन्। पहिले पहिले डोकामा बोकेर बजारसम्म तरकारी बेच्न हिँड्ने पाण्डे अहिले तरकारी लिन घरमै गाडी आउँदा खुशी छिन् । नगरपालिकाले सञ्चालन गरेको यो योजनाले स्थानीय कृषकको समयको बचत, सबै तरकारी बिक्री भएको तथा तत्काल भुक्तानी पाइने जस्ता फाइदा रहेको उनले सुनाइन् ।

उनले भनिन्, “अहिले नसोचेको काम स्थानीय सरकारले गरेको छ ।” यसरी तरकारी खरिद गर्न नगरको गाडी टोलटोलमै पुग्छ भन्ने आफूले कहिल्लै नसोचेको बताइन् । डोकामा बोकेर तरकारी लैजाँदा व्यापारीका अनेकथरिका भनाइ सुन्नुपरे पनि अहिले सम्मानजनकरुपमा तरकारी बिक्री हुने र उत्पादन गर्न हौसला मिलेको उनको अनुभव छ । 

स्थानीय ५१ वर्षीया खेतबहादुर कुँवरले तरकारीखेतीका लागि पानीको समस्या भएको बताए । पानी भए आफूहरुले जति पनि तरकारी उत्पादन गर्ने बताउँदै उहाँले सिँचाइको व्यवस्था मिलाइदिन आग्रह गरे । कृषकले उत्पादन गरेको कृषि र कृषिजन्य उत्पादनलाई हाटजारमार्फत उपभोक्तासम्म पु¥याउने उद्देश्यले रेसुङ्गा नगरपालिकाले हाटबजार सञ्चालन गरेको हो ।

नगरपालिकाका कृषि शाखा प्रमुख हरिशरण पन्थीका अनुसार तम्घास चारीखोलामा रहेको हाटबजार प्रत्येक दिन दिउँसो १ बजे पछाडि सञ्चालनमा आउँछ । हाटबजारमा अहिले विभिन्न स्थानमा उत्पादन भएका स्थानीय तरकारीजन्य सामग्री खरिद बिक्री हुन्छ । 

लोकल कुखुरा, लोकल अण्डा, प्याज, टमाटर, गाजर, आलु, पिँडालु, अदुवा, बन्दागोभी, गाजर, धनियाँलगायतका ३३ प्रकारका स्थानीय उत्पादन पाइन्छन् । तरकारीको दर प्रत्येक दिन फरकफरक हुन्छ । औसतमा सागको मुठा रु तीन, अदुवा प्रतिकिलो रु ९०, टमाटर प्रतिकिलो रु ५५, प्याज प्रतिकिलो रु ८० लगायतको दरमा खरिद तथा बिक्री भइरहेको कृषि शाखा प्रमुख पन्थीले बताइन् ।

हाटबजारमा तरकारी किन्न पुगेकी रेसुङ्गा नगरपालिका– १ की आरुसी खनालले हाटबजार सञ्चालन हुँदा आफूहरुलाई सहज भएको बताइन् । रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लिराज भुसालले हाटबजारलाई थप व्यवस्थित बनाउन जिल्ला तथा जिल्ला बाहिरका पालिकासँग समन्वय भइरहेको जानकारी दिए । कृषि र पशुपालनमार्फत रोजगारको सिर्जना गर्ने लक्ष्य लिएकाले नगरपालिकाले आवश्यक लगानी गर्ने बताए ।

रासस
लेखकको बारेमा
रासस