ताजा अपडेट »

४४ प्रतिशत श्रमिक सम्झौता नगरी काममा

मंगलबार, १७ बैशाख २०७६, २० : ०१
4 Shares

वैशाख १७,

काठमाडौं । नेपालमा ४४ दशमलव ७ प्रतिशत श्रमिकलाई रोजगार सम्झौता नगरी काममा लगाउने गरेको पाइएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको श्रम कानुन कार्यान्वयनको अवस्थासम्बन्धि सर्वेक्षणमा ४४ दशमलव ०७ प्रतिशत श्रमिकलाई रोजगार सम्झौंता नगरी काममा लगाउने गरेको पाइएको उल्लेख गरिएको हो ।

मे दिवसको अवसर पारेर ५९ वटा उद्योग/प्रतिष्ठानहरुमा गरेको सर्वेक्षणमा ६१ प्रतिशत श्रमिकहरु नियमित रोजगारीमा रहेको पाइएको पनि जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । सरकारले बाल श्रम निर्मुल गर्ने लक्ष्य लिएको भएपनि अझै पनि ठूला भनिएका औद्योगिक प्रतिष्ठानहरुमा ३ दशमलव ३९ प्रतिशत बालश्रमिकहरु रहेको सो सर्वेक्षणमा उल्लेख गरिएको छ ।सर्वेक्षणमा श्रम ऐनले तोकेको भन्दा बढि काम गर्न बाध्य पार्नेहरुको संख्या पनि उल्लेख्य रहेको देखाएको छ । अध्यक्ष श्रेष्ठले सर्वेक्षणमा संलग्नमध्ये ५९ दशमलव ३२ प्रतिशत श्रमिकहरुले तोकिएको समय भन्दा बढि काम गरेको पाइएको बताए ।

श्रम ऐन, २०७४ ले श्रमिकलाई दैनिक ८ घण्टा र साप्ताहिक रुपमा ४८ घण्टा भन्दा बढि समय काममा लगाउन नपाउने व्यवस्था गरिएको छ । त्यसैगरी नियम अनुसार विदा नदिने औद्योगिक प्रतिष्ठानहरु पनि ४२ दशमलव ३७ प्रतिशत रहेको पाइएको उनको भनाई छ ।औद्योगिक श्रमिक प्रतिष्ठानहरुले श्रमिकहरुलाई न्यूनतम पारिश्रमिक नदिएको पनि जिफन्टको सो सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।