ताजा अपडेट »

गल्ती दोहोर्‍याइरहने १० म्यानपावर कम्पनी खारेज

मंगलबार, १७ बैशाख २०७६, ११ : ०८
6 Shares

वैशाख १७,

काठमाडौं । वैदेशिक रोजगार विभागले १० म्यानपावर कम्पनी खारेज गरेको छ । समयमा नवीकरण नगर्ने तथा गल्ती दोहोर्‍याइरहने म्यानपावर कम्पनीहरूलाई खारेज गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।विभागले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्रालि, इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी, ध्वनी इन्टरनेशनल प्रालि, पथ इन्टरनेशनल इम्प्लाइमेन्ट सर्भिस र प्रिसाइस इन्टरनेशनल प्रालिलाई खारेज गरेको हो । त्यस्तै इनोभेटिभ सर्भिसेस प्रालि, रि क्रियशन इन्टरनेशनल प्रालि, प्रसिद्ध ओभरसिज प्रालि, वल्र्ड फस्ट जब प्लेसमेन्ट प्रालि र निजम ओभरसिज प्रालिलाई पनि विभागले खारेज गरेको छ ।

नियमविपरीत काम गरेको तथा समयमा नविकरण नगराइएकोले खारेज गरिएको विभागका निर्देशक भोलानाथ गुरागाईंले जानकारी दिए । समयमा नविकरण नगर्ने र सेवाग्राहीहरुलाई अनावश्यक ठगी गर्ने कम्पनीहरु पनि खारेजीमा परेको उनको भनाई छ ।

वैदेशिक रोजगारीका नाममा एक देश भनेर अर्को देश पुर्‍याउने, एउटा काममा समझदारी गरेर अर्को काममा खटाउने, काम र कमाइको प्रलोभनमा मोटो रकम असुल्ने तथा कामदार विदेश नपठाउनेलगायत कार्य गरी कामदार अलपत्र पार्ने म्यानपावर कम्पनीहरुविरुद्ध आएको पीडितको उजुरीको आधारमा समेत खारेज गरिएको हो । यसअघि विभिन्न समयमा १ सय ९७ वटा म्यानपावर कम्पनी खारेजीमा परेका थिए।हाल १४ सयभन्दा बढी म्यानपावर कम्पनीहरु विभागमा दर्ता भएका छन्। जसमध्ये ११ सय हाराहारीमा मात्रै म्यानपावर कम्पनीहरु सञ्चालनमा रहेको विभागको तथ्यांकले देखाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।