ताजा अपडेट »

‘प्रचण्ड-माधव जी’को परिचय पत्र खै !

शुक्रबार, १७ पुस २०७७, १८ : ३२
8 Shares

२०७७ पुषको पहिलो हप्ता प्रधानमन्त्रीको शिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरिन् । यो असंवैधानिक घटनाको विरोधमा प्राय सबै राजनैतिक पार्टी नागरिक समाज, कानून व्यवसायी, स्वयम् प्रधानमन्त्रीको पार्टीका बहुमत केन्द्रिय सदस्यहरुले समेत विरोध गरे, उनीहरु सडक आन्दोलनमा समेत सहभागी बने । पछिल्लो यो घटनासम्म आइपुग्दा केन्द्रिय समितिका बहुमत सदस्यको बैठकले केपी ओलीलाई पार्टी अध्यक्षबाट हटाएको निर्णय समेत गर्यो । पाँच लाख पार्टी सदस्य रहेको भनिएको सत्ताधारी पार्टी तीन वर्षसम्म अत्यन्तै छट्पटीमा गुजार्यो र अन्तत विधिवत रुपमै विभाजित हुन पुग्यो ।

यतिबेला दुबै समुहले पार्टीको नाम र चुनाव चिन्ह हामीले पाउनु पर्दछ, असली कम्युनिस्ट हामी हौं अर्को पक्ष नक्कली हो, हामी वैधानिक हौं अर्को पक्ष अवैधानिक हो भनेर दावा गरेका छन् र आफ्ना तर्क वा कुतर्क जे होस् प्रस्तुत गरि राखेका छन् । सञ्चार माध्यममा होस् वा फेसबुकमा होस् अथवा भेला प्रशिक्षणमा होस् सकेसम्म एक पक्षले अर्को पक्षलाई जाने सम्ममा आरोप र गालीको वर्षा गरेका दृश्यहरु देख्न र सुन्न सकिन्छ । विगत तीन वर्ष देखिको यिनिहरुको पार्टीको आन्तरिक किचलो, मन्त्रीमण्डल गठन र पुर्नगठन, लड्ने र लडाउने, मिल्ने र मिलाउने गर्दै समयको बरबादी मात्र गरेनन् कि नेपाली जनताका चाहना, निर्वाचनमा उनीहरुले जनतासँग गरेका प्रतिबद्धताहरु, पार्टी कार्यकर्ताहरुको इच्छा र चाहना माथी गम्भीर विस्वासघात गर्न पुगे, संविधान माथी पटक–पटक बलात्कार गर्ने घृष्टता समेत गरे ।

अहिलेको परिस्थितिको जुन जन्म भएको छ यसको दोषी को हो ? यसको अपराधी को हो ? यसको मुख्य दोषी त कार्य कारिणिको हिसाबले केपी ओलि नै रहेका छन् । त्यसै कारणले उनको यो बहुलठ्ठिपूर्ण निर्णयको विरोधमा सबै एक ढिक्का बनेका छन् । तर यसो भनीरहँदा त्यस पार्टी भित्रका खासगरी सचिवालयका नेताहरूको पनि गम्भीर कमजोरि रहेको छ । किनकि उनीहरु निडरताका साथ समयमै स्वेच्छाचारी कदम र सर्बसत्ताबादका विरोधमा डटेर संघर्ष गर्ने हिम्मत गर्न सकेनन्, समयमै पार्टीलाई विधिमा ल्याउन सकेनन्, उनिहरुले पनि समस्या समाधानको बाटो पार्टी कमिटीबाट खोजेनन्, उनिहरु पनि वान टु वान वार्ताको गलत तरिका अपनाउन पुगे, गलत बाटो हिडेपछी गलत ठाउँमा पुगिने कुरा निश्चित थियोे । गलत साधनको प्रयोगले गलत परिणाम आउने कुरा निश्चित नै थियो । महेन्द्रनगरको साधनमा चढेर काठमाडौं पुग्ने कल्पना गर्नु मुर्खता हुन्थ्यो । परिणामले त्यही निष्कर्श दिएको छ ।

जे परिणाम आउनु थियो आइपुग्यो, समयमै बुद्धि नपुर्याउँदा वा समुहको स्वार्थलाई केन्द्रमा राखेर सोच्दा संविधान बलात्कृत हुन् पुग्यो, पार्टी फुटेर दुई टुक्रा भयो, जनता र कार्यकर्ताको भावनामा गम्भीर आघात पुग्यो । अब आगामी दिनहरूमा कसरी अगाडि बढ्ने, गुमेको आस्था र विस्वासलाई कसरी पुनर्ताजगी गर्ने ! यतिबेला नेकपा भित्रको प्रचण्ड माधव समुह जो दुई खराबी मध्ये कम खराबिको रूपमा चित्रण गरिएको छ, अब वहाँहरुले अगाडिको बाटो कसरी निर्धारण गर्नु हुन्छ ? गम्भीर आत्मसमीक्षा गर्न आवश्यक छ किनकि एउटा पक्षले अर्को पक्षलाई सत्तो सराप गरेर, तीन पुस्ते कमजोरी वा अपराधहरु खोतलेर, अर्को पक्षलाई मात्र दोषी देखाएर, अर्को पक्षको अमुक नेता वा कार्यकर्ता फकायर, प्रलोभन दिएर वा लाभको कुनै पद दिएर आफ्नो समुहमा सिन्दुर लगाई दिएर मात्र आगामी दिनको राजनीति हुनेवाला छैन ।

अहिलेको परिस्थितिलाई अध्यन गर्दा साथीहरू विचार र कार्यदिशाका आधारमा होइन कि पाँच सात प्रतिशत बाहेक अन्य सबै साथीहरू पुर्व समुहको आधारमा कित्ता बन्दी हुनु भएको छ । यसमा फरक यत्ति मात्र छ कि चलीरहेका पुर्व तीन समुह मध्ये दुई समुह एक ठाउँमा गोलबन्द भएका छन् । ठिकै छ कहिलेकाही विशेष परिस्थितिमा भावना प्रधान पनि हुने गर्दछ सोही आधारमा साथीहरू संगठित हुनु भएको छ, अपवादको रूपमा केहि साथीहरू मन्त्रीको लालसामा कित्ता परिवर्तन गरिएको पनि स्थिति देखिन्छ ।

हिजोको सचिवालय हुँदै स्थायी कमिटी र केन्द्रिय कमिटीसम्म आइपुगेका दुई दस्ताबेज पनि नभनौं, राजनैतिक प्रतिबेदन पनि नभनौं, कमजोरीहरुको पुस्तिका वा आरोप प्रत्यारोपणको डायरी जुन प्रस्तुत भएका छन् । तिनकै आधारमा अगाडिको यात्रामा बढ्न सक्दैन । अथवा हिजो एकता गर्ने समयमा दुबै दस्ताबेजलाई पेन्डिङ राखेर हतारमा लेखिएको जनताको जनवादले मात्रै पनि अगाडिको यात्रा निर्धारण हुँदैन । त्यसैले अब प्रचण्ड–माधवजीहरुले आफ्नो कोर्स बदल्न जरुरी छ, आफ्नो सस्कृती बदल्न जरुरी छ, आफ्नो विधि प्रक्रियाप्रतिको बुझाइमा अझ समृद्ध हुन आवश्यक छ । अर्को पक्ष भन्दा तपाईहरु भिन्न भएको जनता कार्यकर्ता हेर्न चाहान्छन् । तपाईहरु रूपान्तरित भएको देख्न चाहान्छन् । यस कारण अब हामीले हाम्रो परिचयपत्र अथार्त राजनीतिक एजेन्डाका आधारमा अगाडि बढ्ने समय आइपुग्यो ।

अब हामी नयाँ कोर्समा प्रवेश गरौं, हाम्रो राजनीतिक कार्य दिशाको बारेमा बोलौं, अन्तर्राष्ट्रिय अन्तरविरोधको बारेमा बोलौं, शासकीय स्वरुपको बारेमा बोलौं, संविधान बारेमा आफ्नो धारणा बोलौं शिक्षा र स्वास्थको बारेमा आफ्नो धारणा राखौं । भष्ट्राचारलाई न्यूनीकरण गर्नको लागि जनलोकपालको बारेमा बोलौं, संयुक्त मोर्चाको बारेमा बोलौं, पार्टी एकताको बारेमा बोलौं, समावेशी र सहभागीता मुलक लोकतन्त्रको बारेमा आफ्नो धारणा सार्वजनिक गरौं । हिजोसम्म हामी पुर्व समुहको आधारमा एकीकृत बनेका थियौं, अब हामी राजनैतिक कार्य दिशाका आधारमा एकीकृत बनौं, अब पुर्व समुहको कारणले होइन कि एजेन्डाका आधारमा बृहद धुर्विकरणको प्रक्रिया थालौ । राजनैतिक कार्यदिशा सहि वा गलत हुनुले नै सबै कुराको फैसला गर्दछ भन्ने वैज्ञानिक मान्यतालाई आत्मसात गरौं ।

हामी कैयौं कार्यकर्ता वा नेता तपाईहरुसँग संगसंगै अगाडि जान चाहान्छौं, तपाईहरुलाई पुनःस्थापित गर्न चाहान्छौं । तर त्यसको लागि पहिलो सर्त यो हो कि आफ्ना कमजोरीहरुप्रति गम्भीर आत्मसमीक्षा गरौं र आगामी कार्यदिशा बारे इमानदारीपुर्वक आफ्ना विषयहरू राखौं । अब पुर्व माओवादीहरु एकै ठाउँमा वा पुर्व एमालेहरु एकै ठाउँमा भन्ने विचार भावना प्रधान विचार हो र यसले राजनैतिक कार्यदिशालाई ओझेलमा पार्दछ । राजनीति भूगोल, धर्म जात वा पुर्व समुहको आधारमा निर्धारण हुने गर्दैन, राजनीतिलाई कार्यदिशाका आधारमा मापन गरिनु पर्दछ । पार्टीको नाम, चुनाव चिन्ह, पुर्व समुह वा मेरो हैसियत भन्ने कुरा तपशिलका कुरा हुन् यी विषय त हुन् तर मुख्य विषय होइनन् । जसरी हरेक वस्तु मापन गर्ने फरक–फरक यन्त्र हुन्छन् ।

जस्तो कि ज्वरो नाप्न पर्यो भने थर्ममीटर छ, दुध नाप्न पर्यो लिटरको भाडो छ भने आलु तौलन पर्यो भने ढक–तराजु छ, ठिक त्यसरी नै राजनीति नाप्नु पर्यो भने उसको राजनैतिक कार्यदिशामा मापन गरिनु पर्दछ । हामीले देखेउँ कि पार्टी सदस्यताको हिसाबले सबैभन्दा ठूलो पार्टी, मत संख्याको हिसाबले पनि सबैभन्दा ठूलो पार्टी नेकपा नै थियो, इमान्दारीताबाट मापन गर्दा मोहन वैध जीको नाम लिनु पर्ला, विधि प्रक्रियाको सन्दर्भमा अर्को कुनै संस्थालाई भन्न सकिएला, यी मत्वपूर्ण कुरा त अवस्थ हुन तर सबैभन्दा मुख्य कुरा भनेको राजनैतिक कार्यदिशा नै हो । त्यसको आधारमा इमान्दार र गतिशील नेतृत्व र विधि र प्रक्रियामा चल्ने पार्टी, यी तिनको एकमा संयोजनमा पार्टी हुनु पर्दछ र त्यसरी मात्रै लक्षमा पुग्न सकिन्छ ।

अब हामीले यसरी सोच्नु पर्दछ, के हामीले यसरी सोंचेका छौं ! अब हामीले यसरी नै सोच्नुपर्दछ, पुर्व समुहको चेतनाबाट माथि उठ्नु पर्दछ । आफ्नो विवेकलाई स्वतन्त्रतामा छाडिदिनु पर्दछ । हामी एक्काइसौं शताब्दीका उन्नत चेतनाका कार्यकर्ता हौं भने एक्लै भए पनि सत्य र यथार्थताको पक्षमा बोल्ने हिम्मत गर्नु पर्दछ । हामी कार्यकर्ता कारिन्दा, रैती र प्रजाको चेतनाबाट माथि उठ्न सक्नु पर्दछ ।

केहि साथीहरू मैले यस खालका पनि देखेकी आज एकाथरीको भेलामा सहभागी बनिएको थियो, त्यहाँको उपस्थिति कमजोर देखिएको हुनाले भोलि अर्काको भेलामा सहभागी बन्ने चेतना, कतिपय साथीहरू अहिले मौन बसिराखौं कतापट्टि बहुमत देखापर्छ त्यतै लप्किनु पर्ला ! यस चिन्तनलाई राजनैतिक भाषामा अवसरबाद भन्ने गरिन्छ । राजनीति भनेको दृढता, अठोट, इमान्दारीता, लक्षप्रतिको विस्वास र नेतृत्वप्रतिको विस्वास नै असल राजनीतिको परिचय हुने गर्दछ । यसकारण अब पहिलो चरण अथार्त पार्टी एकतादेखि पार्टी विभाजनसम्मको चरण समाप्त भएको छ ।

यी तीन वर्षमा गरिएका गम्भीर भुलहरुको आत्मसमिक्षा र यो तीन वर्षमा प्राप्त गरिएको महत्वपूर्ण अनुभव र शिक्षाका आधारमा आफ्नो समुहको राजनैतिक परिचय सार्वजनिक गर्नमा ढिलाई गरिनु हुँदैन, अब अर्को समूहभन्दा हामी यो अर्थमा भिन्न छौं, हाम्रो सम्मुनत समाजवादको मार्गचित्र यो हो भन्न सक्नुपर्दछ । हेक्का रहोस् कि राजनैतिक कार्यदिशामा सहमती कायम गरेर भिन्न दुई समुहको विचारलाई मिसाएर विचार बन्ने गर्दैन किनकि सत्य एउटै हुन्छ त्यसलाई सहमति र सम्झौताको बन्धनले बाध्न सक्दैन । के हामीले यसरी सोच्न सक्दछौं ?

आगामी दिनहरु एकले अर्कोलाई गाली गरेर वा गाली पुराण वा सुर्य चुनाव चिन्ह प्राप्त गरेर पनि राजनीति अगाडि बढ्दैन किनकि त्यो विचार होइन, त्यो खाली ब्रान्ड हो र सिम्बोलिक कुरा मात्र हो । त्यो चेतनाबाट पनि हामी माथी उठ्नु पर्दछ । अत : आगामी दिनमा वहाँहरुले पुरानो कोर्सको समीक्षागर्दै नयाँ कोर्समा प्रवेश गर्नु हुनेछ वा विगत कै फोहोरी च्रकव्युहमा डुबुल्की मारीराख्नु हुनेछ त्यो कुरा भविष्यले बताउने नै छ । आसा राखौं कि वहाँहरु त्यहाँबाट माथी उठ्नुहुनेछ र नेपालको राजनीति दुई धुर्वमा केन्द्रित हुनेछ । यदि त्यसो हुन सक्यो भने ‘भगवान जे गर्छन् असलै गर्छन’ भन्ने कथाजस्तै यो वर्तमानको राजनैतिक परिघटना अवसरको रूपमा हाम्रा चेतनाका चक्षुहरु खोल्नको निम्ति उपलब्धि मुलक रहने छ ।

त्यसले राजनीति मुलतः दुई धुर्वमा केन्द्रित हुनेछ जसले २००७ साल, २०२८ साल, २०३६ साल, ०४६/०४७, २०५२ साल, २०६२/२०६३ साल, मधेश, जनजाति र थारु संघर्षले उठाएका विषयवस्तुहरु सहिदका सपनाहरूलाई एकीकृत रूपमा कार्यनयन गर्न सक्नेछौं । इन्द्रेणी राष्ट्रियताको आधारमा देशलाई स्वाधीन र समृद्ध बनाउन सक्नेछौं त्यसैले अब आफ्नो राजनैतिक परिचय खुलाउन विलम्ब नगरौं । व्यापक अगग्रामी विचारको धुर्विकरणको प्रक्रिया प्रारम्भ गरौं । मैले यसरी सोचे, यहाँहरुले पनि यसरी नै सोच्नु पर्ला कि ?

https://www.globalaawaj.com/archives/67958
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।