ताजा अपडेट »

रैथानेमा रमाउँदै ‘तिलक सर’

मंगलबार, १४ पुस २०७७, १३ : ३७
76 Shares

वन, वातावरण र जैविक विविधतामा दुई दशक बिताई क्षणिक आराम गर्न नभ्याउँदै रैथाने एग्री प्रोडक्ट नेपाल, प्रालिको सुरुआत् गरेर आफ्नो ज्ञान, सीप र क्षमता प्रयोग गर्दै आएका परिचित संरक्षणविद् हुन् तिलक ढकाल । संरक्षणकर्मीहरुले तिलक सर भनेर चिन्दछन् । दुर्गमको डोल्पोदेखि तराईको धनगढीको तातोखाँदै चितवनमा रमाउँदै काठमाडौंबाट निवृत्त भएका तिलक सर अचेल रैथानेमा रमाउँदैछन् । रैथाने उनको रहर र जाँगरको प्रतिविम्व हो । विहान नौं वजेदेखि दिउँसोको तीन वजेसम्म उनी आफ्नो रैथानेको सोरुममा अभिभावक अध्यक्षका रुपमा क्रियाशील छन् । महाराजगञ्जको चप्पल कारखानामा रैथानको सोरुम र घर सामाखुसीमा छ । कहिलेकाँही घरबाट सोरुमसम्म एकघण्टाको पैदल यात्रा गर्दै जिउ तताउन समेत भ्याउँछन् ।

रैथाने एग्री प्रोडक्ट नेपाल, प्रालिमा उनी अध्यक्ष छन् । उनको नेतृत्वमा रैथाने एग्री प्रोडक्ट अघि बढेको छ । खासगरी रैथाने एग्री प्रोडक्टले रैथाने वस्तुहरुको पहिचान गर्ने, उत्पादन र विस्तार तथा सम्भावनाको अध्ययन र परामर्श दिने काम गर्दछ । यो प्रालिले स्वरोजगारलाई प्राथमिकता दिदैै वातावरणमैत्री तथा हरित उद्यम प्रवर्द्धनमा टेवा पुराउने लक्ष्य लिइ अग्रसर भएको छ । कतिपय रैथाने वस्तुहरु लोपोन्मुख हुँदै गएका छन् । त्यसको संरक्षण र प्रवर्द्धन पहिलो सर्त हुन आएको बेला तिलक सरको रैथानले कृषि, गैरकाष्ठ वन पैदावरको उत्पादन, संकलन, प्रशोधन तथा विक्रीवितरणको व्यवस्था गर्ने काम र वजारीकरणमा सहयोग गर्ने उद्देश्य बोकेको छ । रैथाने स्थानीय उत्पादनमात्र होइन बरु यो त स्थानीय कला, संस्कृति, सीप र बस्तु पनि हो । यसैको संरक्षणमा तिलक सरका कर्मशील ज्ञान क्रियाशील छन् ।

स्थानीय, प्रदेश र संघीय सरकार र सहकारीहरुसँग हातेमालो गरेर रैथाने प्रजातिमा पर्ने बस्तुहरुका संरक्षण, प्रवर्द्धन र उत्पादनका लागि कृषकहरुलाई आवश्यक सीप र प्रविधिमा सहयोग गर्नका निम्ति उक्त कम्पनी खोलेको बताउँदै छन् तिलक सर भन्छन्-रैथाने बस्तुहरु हाम्रा सम्पत्ति हुन् । यिनीहरुका संरक्षण हुन सकेमा हाम्रो पहिचान र ऐतिहासिकता कायम हुन सक्ने छन् । यसका निम्ति नीतिगत योजना र सचेतनाका लागि पैरवी आवश्यक कुरा हुन् ।

तिलक सरले तराईका समथर भूभागमा फैलिएका हरिया वनमा जीवनका रहर लाग्दा दिनहरु बिताएका छन् । द्वन्द्वका कठिन परिस्थितिहरुमा वन, वातावरण र जैविक विविधता संरक्षणको यात्रामा निरन्तर हिडिरहेका यात्री थिए । जीवनलाई जोखिममा राखेर सामुदायिक वनका उपभोक्ताहरुलाई वन, वातावरण र जैविक विविधता संरक्षणका निम्ति सचेतनामुखी अभियान र पैरवी गर्ने काममा डटिरहेका थिए । उपभोक्ताहरुको आर्थिक उन्नतिका निम्ति स्थानीय रुपमा होमस्टे, आयमुखी तालिम र जीविकोपार्जन गर्ने अनेक उपायहरुका सन्दर्भमा सहयोग गरेका इतिहासहरु साक्षी छन् ।

तिलक सर डब्लूडब्लूएफ् नामक अन्तर्राष्ट्रिय संरक्षणमुखी संस्थामा अफिसरका रुपमा कार्यरत थिए । उनको त्यो जागिर विहान १० देखि साँझ ५ सम्मको थिएन । घाम नझुल्किदै उनी कहिले रापती किनारमा गोही हेर्न पुग्थे । कहिले रातिसम्म डोल्पोको से-फोक्सुण्डो तालमा रमाउँथे । घरपरिवारबाट छुट्टिएर महिनौं बेखबर रहन बाध्यकारी अवस्थामा पनि कर्णालीको किनारै किनार खुसी बाँड्न हिड्थे । कहिले बर्दियाको डल्ला होमस्टेमा देशी विदेशीहरुलाई पाहुना बनाएर लैजान्थे । ढिक्री र घोंगीसँगै मौवाको रसले घाँटी भिजाएर सखिया नाच्न भ्याउँथे ।

अहिले ती दिनहरु उनका मानस्पटलमा एकोहोरो नाचिरहेका छन् । सम्झनाका तस्वीर बनेर काठमाडौमा बस्दा पनि कर्मथलोको यादले सताइ रहेका छन् । त्यही यादको कुटुरोलाई पोका पारेर तीनै वनका उपभोक्ता, कृषकहरुसँगै हातेमालो गरी नयाँ यात्रा थालनी गरेका छन् । त्यो भनेको रैथाने एग्री प्रोडक्ट हो । स्थानीयहरुले उत्पादन गरेका रैथाने बस्तुहरुको खरिद गर्ने र सहरका बासिन्दाहरुलाई ताजा र पौष्टिक बस्तुका रुपमा खुवाउनका निम्ति उनले ४० जना साथीहरुलाई मिलाएर उक्त प्रोडक्ट केन्द्र स्थापना गरी आफ्नो उद्यम,व्यवसाय सुरु गरेका छन् । जहाँ आफू जस्तै ११ जना साथीहरु स्वरोजगारी भएका छन् ।

पुराना संरक्षणकर्मी साथीहरु भेटिएका छन् । उनीहरुले उत्पादन गर्ने रैथाने बस्तुहरु खरिद गरेर बेचिदिएका छन् । एकवर्षको दौरानमा उनले २७ जिल्लाका आठहजार कृषकहरुले उत्पादन गरेका दुईसय थरिका रैथाने बस्तुहरु खरिद गरेर काठमाडौका बासिन्दाहरुका जिभ्रोमा नयाँ स्वाद थपिदिएका छन् । उनको रैथाने एग्री प्रोडक्टले डोल्पाको दाँते ओखर, संखुवासभाको सिस्नु पाउडर, नुवाकोटको समुन्द्र फिनी चामल, रुपन्देहीको लुम्बिनीबाट कालानमक चामल, चितवनको कोरेकबाट चिउरीको मह र सर्लाहीबाट मालदह आँपका स्वाद काठमाडौका नागरिकहरुलाई चखाउने मेसो मिलाई दिएको छ । यी त उदाहरण मात्र हुन् । देशकै ७७ जिल्लाका रैथाने प्रजातिलाई आफ्नो सोरुमबाट बिक्री गरी किसानहरुलाई आत्मनिर्भर बनाउने अभियानमा आफ्नो कम्पनी जुटेको तिलक सरले बताउँदै थिए ।

तिलक सर उमेरले तीन विसे पुग्दैछन् तर काम एक बीसेकोभन्दा कम छैन । फण्ड बोर्डमा चार वर्ष काम गरे उनले सुरुमा । खानेपानी, सरसफाइ र आयआर्जनमा उपभोक्ताहरुलाई क्रियाशील बनाए । त्यसपछि अन्तर्राष्ट्रिय मानवसेवामुखी संस्था रेडक्रसमा सातवर्ष बित्यो । सेवा नै धर्म हो भन्ने मूलमन्त्र बुझेका उनले आफ्नो निवृत्त जीवनमा पनि ग्रामीण बस्तीमा दुःख, सुख गरी जीवन निर्वाह गरिरहेका किसानहरुको उत्थान गर्नका निम्ति रैथाने उत्पादन, कला, सीप र क्षमतालाई जीवन्त राख्नका लिागि रैथाने एग्री प्रोडक्ट कम्पनी खोलेर सेवा दिने अठोटका साथ एकवर्षदेखि कर्मशील छन् । स्वस्थ र तन्दुरुस्त रहुञ्जेल रेथानेमा रमाउने उनको योजना छ ।

अहिले रैथाने एग्री प्रोडक्टले काठमाडौको महाराजगञ्ज चप्पल कारखानामा सोरुम खोलेको छ र यहीबाट बिक्रीवितरणको कामलाई निरन्तरता दिएको छ । त्यसैगरी घरघरमै सेवा दिने प्रवन्ध समेत मिलाएको छ । सामुदायिक आवास गृह,सरकारी तथा गैरसरकारी कार्यालय र महत्वपूर्ण स्थानहरुमा घुम्ती हाटबजारका रुपमा रैथानेले काम थालेको छ । त्यसैगरी रैथाने एग्री प्रोडक्टमा प्राप्त भएका रैथाने बस्तुहरुलाई बिक्री गर्नका निम्ति रैथाने नेपाल डटकम एप्स निर्माण र सामाजिक सञ्जालको प्रयोग गर्दै आएको छ ।

भविष्यमा रैथाने प्रजातिलाई लोप हुन नदिनका निम्ति सरकारी,गैरसरकारी तथा सहकारी संस्थाहरुसँग मिलेर संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा टेवा दिने संकल्प गरेका छन् उनले । कृषिलाई जीवनको मेरुदण्ड ठानेका उनले किसानहरुको उत्पादनलाई आफ्नो सोरुमसम्म ल्याउने र उचित मूल्यमा बिक्री गरी उनीहरुको श्रमको सम्मान गर्ने अठोट बोकेका छन् । रैथाने वस्तु उत्पादनमा जोड दिदैं काठमाडौ उपत्यकामा १५ स्थानमा सोरुम खोल्ने बिचार उनको एग्री प्रोडक्टले गरेको छ ।

तिलक सर साँच्चिकै अनुभवका भकारी हुन् । उनीबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्छन् । उनी सिंगो पाठशाला हुन् वन, वातावरण र जैविक विविधता संरक्षणका निम्ति । असल अभियन्ता हुन् सामाजिक विकासका लागि । सेवामुखी कर्म उनको रहर हो । किसान उनका लागि आदर्श हुन् । हाम्रा आदर्श तिलक सर हुन् । सिक्ने सिकाउन कहिले नथाक्ने अथक शिक्षक हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।