ताजा अपडेट »

लुम्बिनीका सबै मन्त्री मुख्यमन्त्रीको लाइनमा : प्रवक्ता चौधरी

सोमबार, १३ पुस २०७७, १८ : १५
4 Shares

बुटवल । प्रतिनिधि सभाको विघटन र नेकपा विभाजनले लुम्बिनी प्रदेश सरकारमा कुनै असर नपर्ने दाबी गरेको छ । प्रधानमन्त्री केपी ओली शर्माको विश्वास पात्र मानिएका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार पार्टी विभाजनसँगै संकटमा पर्ने चर्चा चलिरहेका बेला सरकारका प्रवक्ता बैजनाथ चौधरीले सो कुरा बताएका हुन् ।

भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका चौधरीले बाहिर हल्ला फिजाइएको जस्तो मूख्यमन्त्रीले कसैलाई पदबाट हटाउने वा कारबाही गर्ने तथा कुनै पक्षले सरकार विरुद्ध अविश्वसको प्रस्ताव ल्याउने बारे कुरा नै नभएको बताए । ‘सरकार ढाल्ने वा परिवर्तन गर्ने भन्ने हुँदैन, मैले बुझे अनुसार सबै मन्त्रीहरु मुख्यमन्त्रीकै लाइनमा हुनु हुन्छ ।’ सोमबार मन्त्रीपरिषद बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै चौधरीले अन्य प्रदेशमा जस्तो सरकार ढाल्ने खालका कुनै गतिविधि नभएको स्पष्ट पारे ।

कुनै नौलो निर्णय आउने अपेक्षासहित सञ्चार कर्मीहरुको बाक्लो उपस्थितीका बीच बैठकका निर्णय सार्वजनिक गर्न उपस्थित मन्त्री चौधरीले सोमबारको बैठकमा कुनै उल्लेख्य एजेण्डामा छलफल नभएको प्रतिक्रिया दिए । सरकारका सबै मन्त्रीहरु सहभागी बैठकमा सरकार फेरवदल बारे कुनै आवाज नउठेको बताउँदै उनले पार्टी विभाजनको प्रभाव लुम्बिनी प्रदेश सरकारमा नपर्ने सञ्चारकर्मीहरुलाई बताए ।

खास एजेण्डा विनानै मन्त्रीपरिषद बैठक आह्वान गर्नुलाई मुख्यमन्त्रीले पार्टी विभाजनपछि आफ्नो सरकारको अवस्था बारे बुझ्न मन्त्रीहरुलाई बोलाइएको अनुमान गरिएको छ । केपी ओली नेतृत्वको नेकपा र माधवकुमार नेपाल–पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा बीच बहुमत र अल्पतको खेल चलिरहेका बेला मुख्यमन्त्रीले आफ्नो सरकार बचाउने प्रयासका रुपमा मन्त्रिपरिषद बैठक आयोजनाले संकेत गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका र स्पेनको विलवाओ नगर परिषदसँगको भगिनी सम्बन्ध कायम गर्ने एक मात्र एजेण्डामा मन्त्रीपरिषद बैठक बोलाइएको थियो ।

यता माधव-प्रचण्ड खेमाका सामाजिक विकास मन्त्री सुदर्शन बरालले भने सरकारमा दुई राजनीतिक विचार धारा राख्नेहरु रहेको प्रतिक्रिया दिएका छन् । प्रवक्ता चौधरीले सरकारका सबै मन्त्रीहरु मुख्यमन्त्रीको लाइनमा भएको बाताए पनि मन्त्री बरालले भनै आफू माधव-प्रचण्ड खेमामा रहेको स्पष्ट पारेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।