ताजा अपडेट »

लुम्बिनीमा बैठक

आइतबार, १२ पुस २०७७, २० : ५९
4 Shares

बुटवल । स्थानीयस्तरमा रहेका महिलाहरुको आर्थिक,सामाजिक र वैयक्तिक क्षमता विकासमा निम्ति महिला जनप्रतिनिधिमार्फत सम्भव ठानी स्थानीय तहमा रहेका महिला जनप्रतिनिधिहरुद्वारा प्रदेशस्तरमा उद्यमशीलता प्रवद्र्धन–नेपाल नामक सामाजिक संस्था गठन भएको छ । उक्त संस्थाको घुम्ति बैठक आइतवार लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभा हलमा सम्पन्न भयो ।

बैठकमा प्रमुख अतिथिका रुपमा रहेका लुम्बिनी सांस्कृतिक नगरपालिका नगर प्रमुख मनमोहन चौधरीले महिला जनप्रतिनिधिहरुलाई उद्यमशीलताका बारेमा ज्ञान,सीप र दक्षता अभिवृद्धि गर्नका निम्ति गठित संस्थाले घुम्ति बैठकमार्फत नौलो अभियान थालेको बताउँदै उद्यमशीलताको बाटोबाटै स्थानीय सरकार समृद्धितर्फ उन्मुख हुने बताए । उनले ग्रामीण क्षेत्रका बेरोजगारी महिलाहरुलाई उद्यमी नबनाएसम्म समृद्धिको सपना पूरा हुन नसक्ने उल्लेख गरे ।

बैठकले संस्थाको आर्थिक वर्ष २०७७/२०७८ का लागि योजना बनाइ कार्यान्वयनका निम्ति पेश गरेको छ । त्यसैगरी संस्थाको सदस्यता विस्तार गर्दै आगामी बैठक माघको ११ गते कोटहीमाई गाउँपालिकामा गर्ने र त्यसका निम्ति उक्त गाउँपालिकाकी उपाध्यक्ष भानुमति बानियाँलाई संयोजन गर्ने जिम्मा बैटकले दिएको छ ।

बैठकमा उपस्थित स्थानीय सरकारका उपप्रमुख तथा उपाध्यक्षहरुलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत शिव रेग्मीले स्वागत गर्दै महिला जनप्रतिनिधिहरुलाई उद्यमशीलताका सन्दर्भमा जानकारी गराउँदै स्थानीय महिलाहरुलाई उद्यमी बनाउने योजना संस्थाले राखेकोमा धन्यवाद समेत प्रकट गरेका छन् ।

संस्थाका अध्यक्ष एवम् बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्यले संस्थाको परिचय गराउँदै स्थानीय तहका महिला जनप्रतिनिधिहरु मार्फत आफ्ना स्थानीय पालिकाहरुमा रहेका विपन्न,दलित,एकल तथा पछाडि पारिएका महिलाहरुलाई उद्यमका सहायताले देश विकासको मूलधारमा समाहित गर्दै अर्थोपार्जनका बाटामा एकीकृत गर्न लागि परेको बताइन् ।

संस्थाकी महासचिव एवम् सियारी गाउँपालिकाकी उपाध्यक्ष अमृता गुरुङको सञ्चालन र अध्यक्ष गोमादेवी आचार्यको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।