ताजा अपडेट »

राजनीतिक अस्थिरताले निजी क्षेत्र चिन्तित

आइतबार, १२ पुस २०७७, १७ : ५०
16 Shares


कोरोनाले थलिएको मुलुकको आर्थिक क्षेत्रमा पछिल्लो समय सुधारका संकेतहरु देखिँदै थिए । अर्थतन्त्रलाई गतिशील बनाउन महत्वपूर्ण भूमिका खेल्ने रेमिटान्समा भएको वृद्धिले ९ महिनादेखि ओरालो लागेको अर्थतन्त्र फेरी तङ्ग्रिने अवस्थामा आइसकेको थियो। पर्यटन क्षेत्रमा उत्साह र चहलपहल बढ्दै थियो । निजी क्षेत्र उत्साहित हुँदै थियो । आर्थिक गतिविधि बढ्दै थियो । अर्थतन्त्र फेरी आफ्नै लयमा फर्किने सम्भावनाहरु देखापरिरहेका थिए । बजारमा देखिएको चहलपहलले सेवा क्षेत्रमा तत्काल आमूल सुधार हुने आशा थियो । बैंक तथा वित्तिय संस्थाले ऋण लगानी बढाउँदै थिए । ठिक यही बेला कोरोना काललाई समेत ‘माथ’ गर्दै राजनीतिक अस्थिरताको बादलले मुलुक एकपटक फेरी गर्लम्म ढाकिएको छ ।

खासगरी नेकपाभित्र बढ्दो विवाद र अस्थिरताले माथि देखिएका सकारात्मक सूचक र सुधारका संकेतमा तुँवालो छाएको छ । दलहरुमा देखिएको विवादले मुलुकको व्यावसायिक वातावरण खलबलिन सक्ने भन्दै निजी क्षेत्रले गम्भीर चिन्ता व्यक्त गरेको छ । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति चासो राख्दै निजी क्षेत्रको प्रतिनिधित्व गर्ने नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले पछिल्ला घटनाक्रमले थप जटिलता सिर्जना गर्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । नेपालमा कोरोना कहर सुरु भएको करिव–करिव एक वर्ष पुग्दैछ । करिव १० महिनाको कोरोना काल नेपालको अर्थतन्त्रका लागि निरासाजनक रहे ।

अर्थतन्त्रमा संकुचन हुँदा आर्थिक बृद्धिदर एक दशमलव केही प्रतिशत बढीमा झर्याे । आठ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य हासिल हुने प्रक्षेपण कोरोनाकै कारण घट्दो अवस्थामा झर्याे । करिव आठ÷नौं महिना नेपालले धेरै क्षेत्रमा आर्थिक नोक्सानी ब्योहो¥यो। नेपाली उद्योगहरुको अवस्था अझै सुधार उन्मुख हुन सकिरहेको छैन । उद्योगहरु संकटग्रस्त छन् । तिनलाई माथि उठाउन सरकारले राहतका प्याकेज घोषणा गर्ने कुरा थियो । आर्थिक पुनरुत्थानका प्याकेजको कुरा उठेपनि उद्योगहरुको संरक्षणको विषयले प्राथमिकता पाउन सकिरहेको छैन । अब राजनीतिक अस्थिरताले यी सबै विषय केही समय ओझेलमा परेका छन्। कोरोना कहरको वीचमा पनि केही आशाका ज्योतिहरु बलिरहेका थिए ।

कोरोनाकै कारण विदेशमा रहेका धेरै नेपाली स्वदेश फर्किएको भनिएपनि रेमिटान्स घटेको थिएन । चालू आर्थिक वर्षको पहिलो चार महिनामा करिव तीन खर्ब बराबरको विप्रेषण भित्रिनु सामान्य विषय होइन। यो गत वर्षको सोही अवधिको तुलनामा १२.६ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको थियो । कोरोनाका कारण प्रमुख श्रम गन्तव्यमा समेत रोजगारीमा समस्या आए पनि चालू आर्थिक वर्षको गत असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह सकारात्मक रहेको पाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

निजी क्षेत्रले कोभिड–१९ का कारण मुलुकको अर्थतन्त्रमा गम्भीर असर परिरहेको अवस्थामा पछिल्लो राजनीतिक समस्याबाट उत्पन्न हुने अस्थिरताको परिणाम थप गम्भीर हुनेमा चिन्ता व्यक्त गरेको छ । राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सिर्जना हुने, नयाँ लगानी आकर्षित भई अर्थतन्त्रले गति लिनसक्ने यथार्थलाई भुल्न नहुने भन्दै उनीहरुले सुझबुझ र संयमतापूर्वक निर्णय लिई मुलुकलाई स्थिरतातर्फ लैजाने कार्यमा गम्भीर हुन आग्रह गरेका छन् । उता अर्थ मन्त्रालयले पनि सार्वजनिक गरेको चालू आर्थिक वर्षको कार्तिकसम्मको चौमासिक अवधीमा मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढेको जनाएको छ । कोरोना काल जारी रहँदा यो पनि नेपालका लागि खुसीको कुरा हो ।

व्यापार सन्तुलन र विदेशी विनिमय सञ्चितीमा सुधार हुँदा मुलुकको आर्थिक क्षेत्र सुधार हुँदै गएको अर्थ मन्त्रालयको भनाई छ । अर्कोतर्फ चालू आर्थिक वर्षको चौमासिकमा राजस्वमा पनि बृद्धि भएको छ । अझैपनि नेपालले बढ्दो व्यापार घाटा नियन्त्रण गर्ने, कृषिजन्य वस्तुको उत्पादनमा बृद्धि गर्ने, निकासी प्रवद्र्धन तथा उद्योगधन्धा स्थापनामा जोड दिने, वैदेशिक लगानीलाई प्राथमिकता दिने र सोही अनुसारको उदार अर्थनीतिलाई प्राथमिकता दिन सक्यो भने संभावनाहरु जीवित हुनेछन् । उद्योगी व्यवसायीले कोरोना कालबाट माथि उठ्न खोजिरहेको निजी क्षेत्रलाई प्रोत्साहन दिने हो भने क्षणिकरुपमा सरकारको आयश्रोत वढाउने नाममा हुने जथाभावी कर तथा उद्योगी व्यवसायीलाई नियन्त्रणमा राख्ने सरकारको नीतिमा परिवर्तन गर्नैपर्ने माग गरिरहेका छन् ।

निजी क्षेत्रका आर्थिक गतिविधि तीव्र विस्तार हुन सकेमा मात्र त्यो क्षेत्रमा रोजगारीको अवसर बढ्ने हो । एक दशकसम्मको सशस्त्र द्वन्द्व र त्यसपछिका धेरै वर्षसम्म कायम रहेको राजनीतिक उथलपुथलका कारणले निजी क्षेत्र उत्साहसाथ अघि बढ्न पाएन । निजी क्षेत्रप्रतिको राज्यको दृष्टिकोण र व्यवहार पनि मैत्रीपूर्ण र भरोसायोग्य रहेन । विद्युत् सङ्कट, भूकम्प, नाकाबन्दी र कोभिड–१९ को महामारीले पनि निजी क्षेत्रको उत्साहमा विराम लागेको छ । यी सबै कारणले देशमा रोजगारीका अवसर अपेक्षित मात्रामा सिर्जना हुन सकेनन् । जसको फलस्वरुप युवाहरु अहिलेपनि दैनिक १५ सय देखि दुई हजारको हाराहारीमा विदेशमा आफ्नो जीवनको सुन्दर सपना खोज्दै यात्रा तय गर्दैछन ।

अन्त्यमाः निरासा नै निरासाका बीचपनि सुदूर पूर्वमा आशाको किरणले प्रकाश छरिरहेको छ । आशा गरौं धिपधिपे यो लाली किरणले नीजि क्षेत्रलाई तताउने गरि उत्साहित वनाउने छ।कोरोनाको जोखिम घटिरहेको बेला राजनैतिक अस्थिरताले बढाएको निरासा र कुण्ठाको अन्त्य अवश्य हुनेछ। माथि भनिएझै मुलुकको आर्थिक सुचकहरु सकारात्मक विन्दुमा उकालो लाग्नेछन् । भनिन्छ–संभावनाका ढोकाहरु कहिल्यै बन्द हुँदैनन् । अहिले निजी क्षेत्रले जसरी चिन्ता व्यक्त गरेको छ त्यसको समाधानमा राज्यको गंभीर ध्यानाकर्षण हुनुपर्दछ । अर्थतन्त्रमा हाल देखिँदै गरेका सुधारका संकेतहरु अस्थिरता बीचपनि यथावत रहुन् । त्यसका लागि फेरिपनि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ ।

https://www.globalaawaj.com/archives/62942
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।