ताजा अपडेट »

नेपाली पत्रसाहित्यमा नयाँ उपलब्धि

शुक्रबार, १३ बैशाख २०७६, १४ : ४७
2 Shares

जमिला 

बैशाख १३,

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय साहित्यिक वृत्तमा पत्र साहित्यको महत्व र सान्दर्भिकता आजको युगमा पनि उत्तिकै छ जति हिजो थियो । अभिव्यक्तिको सशक्त माध्यमका रुपमा अपनाइने पत्र विधा स्रष्टा र पाठकबीच हृदयको सम्बन्ध स्थापित गर्ने कलाले भरिपूर्णसमेत हुन्छ । पत्र साहित्यको इतिहास साहित्यको इतिहास जत्तिकै पुरानो हो भन्दा अतिशयुक्ति नहोला । विचार, भावना, सन्देश आदानप्रदानसँगै कूटनीतिक, रणनीतिक सम्बन्ध स्थापित गर्न पत्रसाहित्यले खेल्ने भूमिका उल्लेखनीय हुन्छ ।

एउटा शक्तिशाली अभिव्यक्ति माध्यमका रुपमा लिइने पत्रसाहित्यको क्षेत्रमा नेपाली साहित्य सम्पन्न मान्न सकिन्न । विचारप्रधान, देश र जनताप्रति समर्पित पत्र साहित्यहरुको त झन अभाव छ भन्दा फरक नपर्ला । त्यो अभाव पूर्ति गर्दै जनसङ्घर्षको उत्थानको निम्ति हरिबहादुर श्रेष्ठको कलम भने निरन्तर चलिरहेको छ । आमूल परिवर्तनको पक्षमा उहाँको कलम दशकौं अगाडि देखि निरन्तर सक्रिय छ । नेपालको देशभक्तिपूर्ण आन्दोलन तथा कम्युनिष्ट आन्दोलनका वरिष्ठ नेता नारायणमान बिजुक्छें (रोहित) को राजनीतिक जीवन र साहित्यिक व्यक्तित्वबारे नेपाली समाज जानकार छ । माक्र्सवादी र प्रगतिशील साहित्यमार्पmत का. रोहितको वैचारिक अडान र कामदार वर्गीय पक्षधरताको राजनीतिलाई जनता र बौद्धिक समुदायबीच उहाँले स्थापित गर्नुभयो । उहाँको जीवन र उहाँका थुप्रै साहित्यहरुको सोध, खोज र अध्ययनको उपादेयता आज अझ बढेको छ । विभिन्न विधामा कलम चलाई नेपाली साहित्यिक क्षेत्रमा अतुलनीय योगदान पु¥याउन सफल रोहितबारे अध्ययन र लेखनले नेपाली समाजकै सेवा हुने निश्चित छ । उहाँका कथा, कविता, लेख, नाटक, निबन्धसँगै पत्रसाहित्यको चर्चा साहित्यिक र बौद्धिक समुदायबीच चल्दै आइरहेको छ । नेपाली साहित्य जगतमा रोहितको पत्रसाहित्यको स्थान, योगदान, प्रभावका बारेमा अध्ययन गरी पुस्तकाकारका रुपमा ‘पत्रसाहित्यमा रोहित’ पाठकमाझ आइपुगेको छ । लेखक सुन्दर वासीले का. रोहितका चिठ्ठीहरुबारे एउटा सुन्दर कृति तयार पारेका छन् ।

अध्यक्ष रोहितद्वारा लिखित पत्र साहित्यहरुको विश्लेषणात्मक कृतिका रुपमा ‘पत्रसाहित्यमा रोहित’ प्रकाशित छ । लेखक सुन्दर वासीको सोधसामग्री पुस्तकाकारमा पाठकको हातमा पुग्नु सुखद् पक्ष हो । पत्रसाहित्य मार्पmत अध्यक्ष रोहितको साहित्यिक र राजनीतिक व्यक्तित्वबारे गरिएको अध्ययनले युगौंयुगसम्म सेवा गर्ने पक्का छ । अध्यक्ष रोहितका पत्रहरुमा अभिव्यक्त जीवन दर्शन, क्रान्तिचेत, देशप्रेमबारे लेखक वासीले सुन्दर प्रस्तुतीकरण दिएका छन् । पुस्तकको पहिलो खण्डमा पत्रसाहित्यको सैद्धान्तिक पक्षको चर्चा परिचर्चा छ । पत्रसाहित्यको व्युत्पत्ति र विकास, पत्रसाहित्यको इतिहास, वर्तमान र भविष्यको विश्लेषणात्मक विवेचना पुस्तकमा छ । पत्रसाहित्यमा हुनुपर्ने तत्वहरु, पत्रसाहित्यको वर्गीकरणबारे समेत छलफल गरिएको यस पुस्तकले पत्रसाहित्यको उपादेयताबारे गहिरो र गहन चर्चा गरेको छ । साहित्यिक इतिहासको अध्ययनमा पत्रसाहित्यको मौलिक स्थान र विशेष अर्थबारे महत्वपूर्ण विश्लेषण पुस्तकमा भेटिन्छ । दोस्रो खण्डमा नेपाली पत्रसाहित्यको परम्परा, पृष्ठभूमि, विकासक्रम पस्कँदै लेखकले ‘बहिनीलाई चिठ्ठी’ नामक उपदेशात्मक चिठ्ठीका स्रष्टा उद्दीपसिंह थापादेखि ‘युरोपको चिठ्ठी’ का लेखक लैनसिङ् वाङ्देलसम्म, भू–स्वर्गका रचयिता हृदयचन्द्रसिंह प्रधानदेखि ‘रुसका चिठ्ठीहरु’ का लेखक रविन्द्रनाथ टैगोरसम्मलाई पाठकमाझ चिनाएका छन् । ऐतिहासिक महत्व बोकेको मार्मिक र देशभक्तिपूर्ण भावनाले ओतप्रोत गङ्गालालद्वारा लिखित पत्रको चर्चाले पाठकको हृदय छुन्छ । चिठी–चपेटा, नारीः बन्धन र मुक्ति, लोग्ने–स्वास्नी र केही मित्रका चिठी, पत्र सञ्चयन, चिठीमा जनयुद्ध, चिठी साहिँलीलाई, आप्रवासीका पत्र, पत्रमञ्जुषा, अभ्युत्थान, नसरीनलाई चिठीलगायत थुप्रै फुटकर पत्रसाहित्यका केस्राकेस्रा केलाउनु पुस्तकको सकारात्मक पक्ष मान्न सकिन्छ । कार्ल माक्र्स सम्बन्धी संस्मरण र पत्रहरु माक्र्सको सङ्घर्षपूर्ण जीवन, कष्टसाध्य क्षणहरुको विषयमा मिहिन ढङ्गले केलाइएको माक्र्सकी जीवनसाथी जेनी माक्र्सद्वारा लिखित संस्मरण तथा पत्रसाहित्यबारे पाठकलाई परिचित गराएको छ । लेखकले यस पुस्तकमार्पmत कालजयी महत्व बोकेको पत्र साहित्यको चर्चामात्र गरेका छैनन् पाठकलाई थप अध्ययनको निम्ति समेत हौस्याएका छन् ।

पुस्तकको तेस्रो खण्डमा पत्र साहित्यका रुपमा प्रकाशित अध्यक्ष रोहितका पत्र साहित्यहरु ‘राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठ्ठी’, ‘साइन्स र डाक्टरी पढ्ने भाइबहिनीलाई विदेशमा बसेका दाजुको चिठ्ठी’, इन्जिनियर र वैज्ञानिक बन्न चाहने भाइबहिनीहरुलाई चिठ्ठी’, ‘मार्गनिर्देशनबारे भाइ–बहिनीलाई चिठ्ठी’, ‘जेलका चिठ्ठीहरु’ लगायत पत्र साहित्यहरु, पत्रात्मक शैलीमा लेखिएका कथा, कविता, भूमिकाबारे गहन विश्लेषण छ । ती कृतिहरुको सैद्धान्तिक र प्राविधिक पक्ष, शैली, वर्गीकरण, रस, वैचारिक पक्ष खोतलखातल गरिएको छ । संघर्षलाई जीवनसँग जोड्न आह्वान गर्ने र वर्गसंघर्षलाई परिवर्तनको एउटा उपाय बताउने रोहितका चिठीहरुको सारगर्भिक व्याख्या लेखक वासीले गरेका छन् । त्यतिमात्र होइन उनले अध्यक्ष रोहितको सदाबहार प्रकृतिका प्रत्येक चिठ्ठीहरुलाई पुनर्ताजगी दिएका छन् । सय वर्षपछिको भक्तपुरभित्रको पत्रसाहित्यले देखाएको उज्यालो बाटो र उज्ज्वल भविष्य, एकादेशको कथाभित्रको दुई पत्रात्मक शैलीका रचनाहरुले बोकेको संवेदनशीलता, आकास बाँधिएको छैनभित्रको कवितात्मक पत्र साहित्यले दिएको सन्देश, रोहितको आकृतिमा भूमिका पत्रसाहित्यको प्रभावबारे लेखक वासीको ठम्याइ साँच्चै नै मननीय छ ।
यस पुस्तकमा अध्यक्ष रोहितको ‘जेलका चिठ्ठीहरु’ को विशेष ढङ्गले गहिराइमा पुगेर विश्लेषण गरिएको भेटिन्छ । जेलका चिठ्ठीहरुको प्राविधिक पक्षमा त छलफल भएकै छ साथै चिठ्ठी लेखिनु पछाडिको पृष्ठभूमिका विषयमा चिन्तनयोग्य परिच्छेदहरु तयार पारिएका छन् । जेलभित्रको कष्टसाध्य परिवेशमा पनि अध्यक्ष रोहितले आफ्नी पुरोधिका शोभा प्रधानलाई विचलित नहुन, ऊर्जाशील रहन उत्साहित बनाइरहनु भयो । पुस्तकमा का. रोहितको जेल जीवनबारे गहिराइमा पुगेर चर्चा गरिएको छ ।

कामदार वर्गको निम्ति निरन्तर सङ्घर्षरत का. रोहितको छोटो जीवनी समेटिएको यस पुस्तकले शोभा प्रधानको जीवनको अंशलाई पनि प्रस्तुत गरेको छ । पाठकका लागि प्रधानको आरोह अवरोहयुक्त जीवन ठूलो शिक्षा साबित हुनेमा दुईमत नहोला । राज्यस्तरबाट रचिएको षड्यन्त्रबाट पीडित शोभाका लागि जेलका चिठ्ठीहरु जीवन–ज्योति जतिकै थियो । अभाव, समस्याहरुको पहाडको सामना गर्न ती चिठ्ठीहरुले ऊर्जाको काम गरेको तथ्य पुस्तकले उजागर गर्दछ । ती चिठ्ठीहरुभित्र इतिहास, जीवन दर्शन, देशप्रेम, कला संस्कृतिप्रतिको लगाव, नयाँ युगको आह्वान भेटिन्छ । जीवन सङ्घर्षको कठोर यात्रामा हिँडिरहेकी शोभाका लागि ती चिठ्ठीहरु मार्गनिर्देशक साबित भए । एउटा राजनीतिक कालखण्डको शब्दचित्र बोकेको जेलका चिठ्ठीहरुको महत्व समयसँगसँगै बढ्दैछ । युगौंयुगसम्म ती चिठ्ठीहरु इतिहासको रुपमा पढिनेछन् । ती चिठीहरुमा मौन बसेकी शोभा शक्तिशाली र जुझारु देखिन्छिन् । अध्यक्ष रोहितका साथ निर्भिकतापूर्वक, विचलित नभइकन उभिने सहयात्री शोभाप्रति पाठकको श्रद्धा अझ बढ्नेछ । आँधीरुपी त्यस कालखण्डमा एउटी असल आमा, शिक्षिका, बुहारी, क्रान्तिकारी महिला र उत्कृष्ट पुरोधिकाको भूमिका निर्वाह गरेकी शोभा यस पुस्तकको विशेष आकर्षण नै हुन् । जेलका चिठ्ठीहरुभित्रका २१ चिठ्ठीहरुको छुट्टाछुट्टै विश्लेषण पस्केको यस पुस्तकले स्वच्छ छवि भएका एक राजनेतालाई पाठकको हृदयमा स्थापित गर्नेछ ।

राजनीतिक तथा साहित्यिक समुदायले पनि यस पुस्तकलाई रुचाउनेमा कुनै शंका छैन । खोजमूलक अध्ययनमा आधारित यस्ता पुस्तकहरुले समाजको रुपान्तरणमा समेत महत्वपूर्ण योगदान पु¥याउने विश्वास छ । तीन दशक अगाडि लिखित अध्यक्ष रोहितका पत्रहरुको सान्दर्भिकतालाई उजिल्याउन सफल लेखक सुन्दर वासी धन्यवादका पात्र हुन् । अध्यक्ष रोहितको राजनीतिक तथा साहित्यिक व्यक्तित्वमाथि अभैm थुप्रै अध्ययन तथा लेखनको अपेक्षासहित प्रकाशकप्रति साधुवाद छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।