ताजा अपडेट »

वैदेशिक लगानीमा उत्साहजनक वृद्धि

शुक्रबार, १३ बैशाख २०७६, ११ : ५६
6 Shares

बैशाख १३,
काठमाण्डौ । नयाँ सरकार बनेपछि राजनीतिक स्थायित्वसँगै लगानीकर्तामा बढेको आत्मविश्वासले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा वृद्धि भएको छ । आर्थिक वर्ष २०७४÷७५ मा इक्विटीबापत भित्रिएको वैदेशिक लगानी रकमको तुलनामा चालू आव २०७५÷७६ को आठ महिनाभित्रै उच्च वृद्धि देखिएको छ ।

चालू आवको दोस्रो चौमास फागुन मसान्तसम्म अघिल्लो आवको भन्दा ८० प्रतिशत बढी लगानी भित्रिसकेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । यही गति मात्रै पनि नियमित हुने हो भने बाँकी चार महिनामा अझ उच्च मात्रामा वैदेशिक लगानी भित्रने छ । गत आवमा इक्विटिबापत विदेशी लगानीकर्ताले राष्ट्र बैङ्कमा आठ अर्ब छ करोड रुपियाँ नेपाल ल्याएका थिए । चालू आवमा फागुन मसान्तमै १४ अर्ब ५६ करोड रुपियाँ वैदेशिक लगानी नेपाल आएको केन्द्रीय बैङ्कको तथ्याङ्कमा उल्लेख छ । वैदेशिक लगानी बढे पनि वैदेशिक ऋण भने सामान्य नै रहेको छ । गत आवमा साढे पाँच अर्ब रुपियाँ ऋण भित्रिएकामा यो आवको आठ महिनामा चार अर्ब ७४ करोड रुपियाँ भित्रिएको छ । राष्ट्र बैङ्क विदेशी विनिमय विभागका प्रमुख भीष्मराज ढुङ्गानाका अनुसार पछिल्ला वर्ष विदेशी लगानी भिœयाउन सरकारले विभिन्न पहल गरेको छ । तिनै पहलका कारण पनि वैदेशिक लगानी वृद्धि उत्साहजनक देखिएको उहाँको भनाइ छ । “राष्ट्र बैङ्कले पनि विभिन्न सुधार गरेको छ र सरकारका पहल त भइनै गयो, त्यसैले वैदेशिक लगानी बढ्नेक्रम देखिएको हो,” उहाँले थप्नुभयो । “परिमाणमा अहिले थोरै होला तर प्रवृत्तिका हिसाबले यसलाई उत्साहजनक मान्नुपर्छ । ऋणका रूपमा भित्रने भन्दा इक्विटीको गति बढ्नु अझ सकारात्मक हो । ” 

गत आवमा १७६ कम्पनीले साढे २४ अर्ब रुपियाँ इक्वीटीका रूपमा भिœयाउन राष्ट्र बैङ्कबाट विदेशी लगानी स्वीकृति लिएका थिए । चालू आवको फागुनसम्म २१८ कम्पनीले १३ अर्ब ९० करोड रुपियाँ बराबरको यस्तो स्वीकृति लिएका छन् । विदेशी विनिमय विभागसँग निश्चित अवधि तोकेर रकम भिœयाउने स्वीकृति लिनुपर्ने हुन्छ । सो अनुसार भित्रिएपछि सोही विभागमा लेखाङ्कन हुन्छ । चालू आवमा ५९ कम्पनीका लागि मात्र १४ अर्ब ५६ करोड रुपियाँ बराबर विदेशी मुद्रा भित्रिएको हो । 
गत चैतमा सम्पन्न लगानी सम्मेलनको अघि नै सरकारले सार्वजनिक निजी साझेदारी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनलगायतका कानुनी सुधार गरिसकेको छ । त्यस्तै ठूला आयोजनाको नेतृत्व लिने गरी लगानी बोर्डलाई पनि थप सक्रिय पारिएको छ । लगानी सम्मेलनमार्पmत नेपाललाई वैदेशिक लगानीको सुरक्षित र लाभदायी गन्तव्यका रूपमा लगानीकर्तालाई आश्वस्त पनि पारिएको छ । त्यस अवधिसम्मको तथ्याङ्कमा यी घटनाक्रमको प्रभाव भने परेको छैन । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार लगानीमैत्री वातावरणको प्रभावका कारण लगानी वृद्धिको गतिमात्र होइन परिमाणमा पनि ठूलो अन्तर आउन लागेको छ ।

“लगानी सम्मेलनपछि पनि नेपालमा लगानी गर्न धेरै विदेशी इच्छुक छन् । “लगानी सम्मेलनपछि विभिन्न ठूला र रणनीतिक परियोजनामा लगानीका लागि भइरहेका छलफल तथा आशयपत्र आउने क्रमले हामीलाई उत्साही बनाएको छ,” उहाँले थप्नुभयो, “ती परियोजनाले मूर्तरुप पाउने अवस्थामा नेपालले ठूलो मात्रामा विदेशी मुद्रा देशभित्र ल्याउन सक्ने छ । ” बोर्डमा चैत १५ पछिमात्रै करिब २५ खर्ब रुपियाँ लागतका ३१ विभिन्न परियोजनामा लगानी गर्न ४८ लगानीकर्ताले आशयपत्र दर्ता गरेका छन् । जेठ पहिलो सातासम्म यस्तो आवेदन अवधि निर्धारण गरिएकाले यो सङ्ख्या बढ्नेछ । उद्योग विभागबाट चालू आवको चैत मसान्तसम्म २६८ योजनामा ११ अर्ब ५७ करोड ३९ लाख रुपियाँ बराबरको वैदेशिक लगानी ल्याउने गरी स्वीकृति लिएका छन् । ती योजनाबाट नौ हजारभन्दा बढी रोजगारी सिर्जना हुने विभागले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।