ताजा अपडेट »

सर्वोच्चको आदेश:एनसेलसँग कर उठाउने प्रक्रिया यथास्थितिमा राख्नू

शुक्रबार, १३ बैशाख २०७६, १० : ५७
6 Shares


वैशाख १३ ,

काठमाडौँ । सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँग लाभकर असुल गर्ने प्रक्रिया तत्काल यथास्थितिमा राख्न ठूला करदाता कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।अल्पकालीन आदेशसँगै एनसेलसँग कर असुल गर्ने प्रक्रिया स्थगन भएको छ । ठूला करदाता कार्यालयले वैशाख ३ गते एक साताको समय दिएर ३९ अर्ब ६ करोड ६ लाख रुपियाँ कर तिर्न एनसेललाई पत्राचार गरेको थियो । कर निर्धारण प्रक्रियाविरुद्ध एनसेलले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले तत्काल कर निर्धारण अनुसारको असुल प्रक्रिया अगाडि नबढाउन आदेश जारी गरेको हो । श्रेष्ठको एकल इजलासले वैशाख २३ गते दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको छ । उक्त समयसम्म अब कर निर्धारणपछिको कुनै प्रक्रिया अगाडि बढ्ने छैन ।


सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले तत्काललाई निर्णय यथास्थितिमा राख्ने आदेश भएको बताउनुभयो । लिखित आदेश भने तयार भइसकेको छैन । अदालतको आदेश अनुसार अब दुवै पक्षको छलफलमा हाल जारी भएको अल्पकालीन आदेशले निरन्तरता पाउने वा नपाउनेबारे छलफल हुनेछ । दुवै पक्षको छलफलमा अदालतले हाल जारी गरेको अल्पकालीन आदेशलाई निरन्तरता दिएमा कर असुल प्रक्रिया निवेदनको अन्तिम टुङ्गो नलागेसम्म रोकिनेछ । अल्पकालीन आदेश खारेज भएमा कर असुलीको प्रक्रिया अगाडि बढ्नेछ । तर, वैशाख २३ सम्म भने ठूला करदाता कार्यालयले कुनै पनि प्रक्रिया अगाडि बढाउन पाउने छैन । 


खरिदबिक्रीको लाभकर कसले तिर्ने भन्ने विवादबीच सर्वोच्चको वृहत् पूर्ण इजलासले माघ २३ गते एनसेल–एक्जियटाबाट कर असुल गर्न आदेश दिएको थियो । आदेशको पूर्णपाठ सर्वोच्चले चैत २६ गते सार्वजनिक गरेको थियो । पूर्णपाठ अनुसार ठूला करदाता कार्यालयले कर निर्धारण गरी वैशाख ३ गते एनसेललाई जानकारी पठाएको थियो । कार्यालयले कुल ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपियाँ कर निर्धारण गरेको थियो । जसमा अदालतको आदेश अनुसार त्यसअघि तिरिसकेको २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपियाँ घटाएको थियो । कार्यालयले ३९ अर्ब छ करोड छ लाख ८४ हजार ८१५ रुपियाँ एक साताभित्र तिर्न एनसेललाई पत्राचार गरेको थियो । तर, एक साता पुग्न एक दिनअघि एनसेल कर निर्धारण प्रक्रियाविरुद्ध सर्वोच्च पुगेको थियो । प्रशासनिक निर्णयको पुनरावलोकन र राजस्व न्यायाधीकरणमा पुनरावेदन दिने विकल्प रहँदा रहँदै एनसेल सिधै सर्वोच्च पुगेको थियो । कम्पनीले रू. १४ अर्बमात्र कर तिर्न बाँकी रहेको दाबीसहित एनसेलले रिट दर्ता गरेको थियो । साथै सर्वोच्चको वृहत् पूर्ण इजलासको फैसला अनुसार ब्याजको दायित्व समेत आफूमा नरहेको रिटमा दावी गरिएको छ । 


भ्याकेटमा जाला सरकार ?


अन्तरकालीन आदेशपछि दुवै पक्षलाई छलफलमा बोलाइएको हुँदा सामान्यतयाः सरकार यस्ता विषयमा आदेश खारेजको निवेदन (भ्याकेट) दर्ताका लागि जाने कमै प्रचलन छ । तर, अल्पकालीन आदेशको समयसीमा लामो हुँदा विचाराधीन विषयमा कुनै तात्विक असुर हुने भएमा भ्याकेटमा जाने विकल्प भने सरकारसँग रहन्छ । कर निर्धारण भइसकेको र दुवै पक्षलाई छलफलमा बोलाइएको अवस्थामा सरकार भ्याकेटमा जाने सम्भावना कम छ । तर, कर असुल नहुँदा तत्कालै कुनै असर पर्ने कारण भएमा सरकारले आदेश खारेजीका लागि निवेदन दिन सक्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।