ताजा अपडेट »

‘घेराबन्दीमा परेपछि संसद विघटन गरी नयाँ जनादेशमा जाने निर्णय’

सोमबार, ०६ पुस २०७७, १५ : ५०

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रैबाट घेराबन्दीमा परेपछि संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गरिएको बताएका छन् । प्रधानमन्त्रीले सोमबार देशबासीका नाममा सम्बोधन गर्दै सरकारलाई आफ्नै पार्टीबाट घेराबन्दीमा पारेपछि जनता समक्ष जानुको विकल्प नरहनेपछि संसद विघटन भएको उल्लेख गरे । सतहमा हेर्दा घटना आकस्मिक र अप्रत्यासित देखिए पनि लामो समयको संघषपछि संसद विघटनको निर्णयमा पुगेको बताउँदै उनले पार्टी भित्रका केही नेताहरुका कारण नयाँ जनादेशमा जाने निर्णय गर्नुपरेको आरोप लगाए ।

‘प्रतिकुलताका बीच पनि सरकारले महत्पूर्ण उपलब्धिहरु हासिल गरिरहेका बेला विपक्षी दललाई पनि उछिनेर पार्टीभित्रैबाट अविश्वासको प्रस्ताव अघि बढाइयो ।’-प्रधानमन्त्री ओलीले भने, ‘भित्रभित्रै दलको अध्यक्षलाई नै जानकारी नदिई संसद अधिवेशनका लागि हस्ताक्षर संकलन गरियो ।’ प्रधानमन्त्री बन्ने लोभमा आफूलाई घेराबन्दीमा पारिएको उनले बताए । पार्टीका अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाललाई संकेत गर्दै उनले नेताहरुको आत्मकुण्ठित सोचका कारण जनताको भावना अनुसार काम गर्न सक्ने अवस्था नरहेको र अगाडी बढ्न नसक्ने अवस्था भएपछि ताजा जनादेशमा जाने विकल्प अपनाइएको उनले बताए ।


‘लोकतन्त्र प्राप्तिका लागि संघर्ष गरेका पहिलो पुस्ताका नेताहरुले संरक्षक र उत्प्रेरकको भूमिकामा रहने गरी मार्ग चित्र प्रस्तुत गर्दै पार्टीको महाधिवशेनमा जान मैले आग्रह गरेको थिए ।’-ओलीले भने, ‘तर साथीहरुले प्रधानमन्त्री बन्ने लोभले महाधिवेशनका लागि ४ महिना पनि कुर्न सक्नु भएन ।’ पार्टी भित्र आफूले सरकार प्रधानमन्त्रीमा रहेर सरकार केन्द्रित हुने र अर्का अध्यक्ष प्रण्डले पार्टी केन्द्रित रहेर एकताका कामलाई टुङ्ग्याउँदै महाधिवेशनको तयारी गर्ने सहमती अनुसार प्रण्डले काम गर्न नसकेको उनको आरोप छ । प्रधानमन्त्री ओलीले पार्टीका नेता कार्यकर्ताहरुलाई ताजा जनादेशका लागि निर्वाचन तयारीमा लाग्न आह्वान गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।