ताजा अपडेट »

निजगढ विमानस्थलको मुआब्जा वितरण

सोमबार, ०६ पुस २०७७, १४ : ४७
10 Shares

वीरगञ्ज । बारामा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा परेको जग्गामध्ये हालसम्म १ सय ४४ जग्गा धनीलाई रु ४४ करोड मुआब्जा वितरण गरिएको छ । निजगढ विमानस्थल निर्माण क्षेत्रमा रहेको १ सय १० बिघा तीन कट्ठा जग्गामध्ये हालसम्म नेपाल उड्डयन प्राधिकरणले रु ४४ करोड मुआब्जा दिएर हालसम्म ६५ बिघा तीन कट्ठा १२ धुर जग्गा आफ्नो नाउँमा फिर्ता लिइसकिएको छ ।

देशमा कोरोना संक्रमणका कारण नापी तथा मालपोत कार्यालय लामो समयदेखि बन्द रहेकाले मुआब्जा वितरण प्रभावित भए पनि अहिले सो मुआब्जा वितरण भइरहेको दोस्रो विमानस्थल आयोजना कार्यालय सिमराले जनाएको छ ।

मुआब्जा लिन बाँकी रहेका जग्गाधनीसँग निवेदन लिने कार्य भइरहेको विमानस्थल आयोजनाका निमित्त प्रमुख विजय यादवले बताए । मुआब्जा वितरण कार्यअन्तर्गत मुख्य सडकसँग जोडिएको जग्गाको प्रतिकट्ठा चार लाख ६० हजार, भित्री सडकसँग जोडिएको जग्गाको प्रतिकट्ठा दुई लाख ४९ हजार २ सय ५० र बाटो नभएको जग्गाको प्रतिकट्ठा दुई लाख चार हजार १ सय ५० रुपैयाँका दरले जग्गा धनीलाई मुआब्जा दिने गरेको बताइएको छ ।

तटबन्ध, मुआब्जा, नदी नियन्त्रण कार्य, विमानस्थल क्षेत्रमा जग्गाको तारबार पसहा तथा दशैया खोलामा तटबन्धलगायतका काममा हालसम्म ८० करोड रुपैयाँ खर्च भइसकेको छ । पाँच वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको सो आयोजनाले हालसम्म पूर्व तयारीको काम मात्र गर्न सकेको भए पनि मुख्य काम भने सुरु गर्न नसकिएको बताइएको छ ।

संघीय सरकारको प्राथमिकतामा रहेको सो आयोजनाको धावनमार्ग निर्माण हुने मध्य भागमा टाँगिया बस्ती रहेकाले सो बस्तीलाई अन्य ठाउँमा हस्तान्तरणका लागि सरकारले वैकल्पिक स्थानको पहिचान र अध्ययन गरिरहेको छ । यसैबीच सो विमानस्थल निर्माणका क्रममा एक हजार ९ सय हेक्टर क्षेत्रफललाई १२ वटा कार्य क्षेत्रमा विभाजन गरी वन क्षेत्रभित्र रहेको रुख र विद्युतीय खम्बाको गणना सुरु गरेको छ ।

पहिलो चरणमा डिभिजन वन कार्यालय बाराले २ सय हेक्टर क्षेत्रफलमा रहेको ५७ हजार ३ सय ५० वटा खम्बा र रुख काट्नुपर्ने बताइएको छ । वन क्षेत्रभित्र ६० प्रतिशत विद्युतीय खम्बा र ४० प्रतिशत रुख काट्नुपर्ने कार्य चुनौतीपूर्ण रहेको छ । सोसम्बन्धी कार्य तीव्र गतिमा भइरहेको विमानस्थल आयोजना कार्यालय सिमराले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।