Jan 27, 2023
काठमाण्डौं । विश्वका सय उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा नेपालका चार जना स्वास्थ्यकर्मी महिला परेका छन् । मिडवाइफ प्रशंसा बुढा लामा, रुक्मणी त्रिपाठी, नर्सहरू दुर्गा सापकोटा र सुष्मा योञ्जन यो सूचीमा परेका हुन्। वुमन इन ग्लोबल हेल्थले नर्स तथा मिडवाइफ वर्ष-२०२० को अवसरमा प्रकाशन गरेको यो सूचीमा आफ्नो नाम परेपछि मिडवाइफ प्रशंसा यतिबेला निकै खुसी छन्।
“खुसीसँगै जिम्मेवारी पनि थपिएको महसुस भएको छ,” भनिन् । हुम्ला चङ्खेली गाउँपालिकामा जन्मिएकी प्रशंसाको मिडवाइफ्रीमा आउनुमा पनि आफ्नै पृथक् कथा छ ।आजभन्दा २० वर्षअघि प्रशंसा सात वर्षकी हुँदा आमाले भाइलाई जन्म दिनुभयो तर अत्यधिक रक्तश्रावका कारण आमाको निधन भयो । “त्यतिबेला दक्ष प्रसूतिकर्मी भएको भए आमाको मृत्यु हुँदैनथ्यो होला भन्ने पछि बुझ्दा महसुस भयो । साथै म गर्भवती तथा सुत्केरी महिलाप्रति पहिल्यैदेखि नै संवेदनशील थिएँ । त्यसैले नर्सिङ पढ्दै गर्दा म मिडवाइफ्रीतर्फ आकर्षित भएँ,”
उनले आफ्नो मिडवाइफ्रीको यात्रा सङ्क्षिप्तमा सुनाइन्। उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको मिडवाइफ्री अध्ययन गर्ने पहिलो ब्याचका सात जनामध्ये एक हुन् । आफ्नो अध्ययनको विधा र स्वास्थ्यकर्मी भएको जिम्मेवारी बोधले उहाँलाई आज संसारकै उत्कृष्ट मिडवाइफ बनाएको छ ।
महामारीमा गरेको प्रशंसनीय काम कोरोना महामारी नियन्त्रणका लागि सरकारले लकडाउन सुरु गरेपछि स्वास्थ्य सेवा पनि प्रभावित बन्यो । “त्यति बेला हाम्रै गर्भवती नर्स साथीहरू पनि के गर्ने कसो गर्ने भन्ने त्रास र चिन्तामा हुनुहुन्थ्यो । यस्तो बेला सर्वसाधारणको अवस्था झन् कस्तो होला ? उनीहरूका लागि केही गर्नैपर्छ भनी सोचियो,” प्रशंसाले भनिन्। त्यसपछि उनीहरुले दुई जना साथीसहितको सम्पर्क नम्बर फेसबुकमा सार्वजनिक गरे ।
नम्बर सार्वजनिक गर्नुको उद्देश्य थियो, गर्भवती महिलालाई आवश्यक सहयोग र परामर्श दिनु । “नम्बर सार्वजनिक गरेपछि विभिन्न समस्या लिएर गर्भवती महिलाले फोन गर्नुभयो,” उनले भनिन्, “एक समय त हामी रात–दिन नै बिनाफुर्सद काम गगर्यौं ।” बन्दाबन्दीका बेला उनीहरुले फोनमार्फत पहिलो र दोस्रो त्रैमासिकका गर्भवतीलाई खतराका लक्षणबारे जानकारी दिए । त्यति मात्र होइन, खतरामा रहेका गर्भवती महिलाको उद्धारको समन्वयसमेत गर्नुभयो । त्यस्तै महिलालाई एम्बुलेन्स तथ अस्पतालसँग समन्वय गरी सहयोग पुर्याए ।
आमाको माया, बियोन्ड बेइजिङ कमिटीलगायत विभिन्न संस्थाको सहयोगमा पैसा नलाग्ने टोल फ्री नम्बर जडान गरिएको छ । यो अहिले परोपकार प्रसूति गृहबाट सञ्चालन भइरहेको छ । अहिलेसम्म फोनबाट मात्र तीन हजारभन्दा बढी गर्भवती महिलालाई परामर्श, सहयोग र उद्धारमा समन्वय गरिसकेको उनले बताइन् । हाल आमाको माया एप्लिकेसनमार्फत १५ हजार जना सुत्केरी तथा गर्भवती महिलाले यो सहयोग लिइरहेको जानकारी उनले दिइन् ।-शान्ति लामा/गोरखापत्र अनलाइन
प्रतिकृया दिनुहोस्