ताजा अपडेट »

पुरुषोत्तमको ‘म प्रेम खोजिरहेछु’ लोकार्पण

शनिबार, ०४ पुस २०७७, १८ : २५
24 Shares


बुटवल । गजलकार पुरुषोत्तम पाण्डेयको गजल सङ्ग्रह ‘म प्रेम खोजिरहेछु’ कृतिको साङ्गीतिक प्रस्तुतिसहित आज बुटवलमा लोकार्पण भएको छ । कार्यक्रम लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको आयोजनामा दीप बोर्डिङ हाई स्कूलको सभाहलमा सम्पन्न भएको थियो । लोकार्पण कार्यक्रममा गजल सङ्ग्रहभित्र रहेका केही गजलहरू साङ्गीतिक रूपमा गाएर गायक बालकृष्ण पाण्डे, रमेश कौशल, रुपा रौतार र घनश्याम घिमिरेले उपस्थित दर्शकको मन जितेका थिए ।

त्यसैगरी वाद्यवादनमा रमेश रेश्मी र यम पुन मगरले साथ दिएका थिए भने साङ्गीतिक गजल गायनको संयोजन गायक तथा सङ्गीतकार विजय सापकोटाले गरेका थिए। कार्यक्रमका वक्ताहरूले बुटवलको सन्दर्भमा साङ्गीतिक रूपमा गजल सङ्ग्रहको लोकार्पण गरिएको यो पहिलो कार्यक्रम रहेको बताए।

कार्यक्रममा दीप बोर्डिङ हाई स्कुलका प्राचार्य टीकाराम न्यौपाने, मणिमुकुन्द मा.वि/कलेजका प्राचार्य टुकबहादुर क्षेत्री, सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारीका अध्यक्ष कृष्णप्रसाद पाण्डे, प्रतिष्ठानका केन्द्रीय महासचिव ऋषि आजाद, सत्यवती वडा नं. १ का वडा अध्यक्ष भीमलाल पाण्डे, सरिता श्रीस लगायतले संसारको परिवर्तन, प्रगति र उन्नतिका लागि प्रेम अपरिहार्य रहेको भन्दै सबैको मन जोड्नलाई कृतिले महत्वपूर्ण भूमिका खेलको भन्दै कृतिको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि प्राज्ञ बूँद रानाले प्रेममय संसारको खोजी गर्ने अभिलाषा कृतिमा मुखरित भएको बताए भने प्रमुख अतिथि प्रा.डा हिरण्यलाल ज्ञवालीले कृतिले सामाजिक जनजीवन र मानवीय अनुभूतिलाई गेयात्मक शैली मार्फत् प्रेमको खोजी गर्ने महान अभिलाषा प्रकट गरेको बताए । कार्यक्रममा साहित्यकार रमेश समर्थनले कृतिको सबल र कमजोरी पक्षलाई औँल्याउँदै कृति समग्रमा उष्कृष्ट रहेको र निरन्तरको लगाव भएमा साहित्यको क्षेत्रमा स्रष्टाको उज्ज्वल भविष्य रहेको बताए।

लुम्बिनी वाङ्मय प्रतिष्ठानकी सदस्य चित्रकार सुमित्रा रानाको सभाध्यक्षता, लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीकी उपाध्यक्ष बिजु पछाईले स्वागत मन्तव्य, कृतिकार पुरुषोत्तम पाण्डेयले धन्यवाद तथा कृतिको रचना गर्भ प्रस्तुत गरिएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव कृष्ण घिमिरे गाउँलेले थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।