ताजा अपडेट »

तरकारी फलाउन मानव मलमूत्र

विहीबार, १२ बैशाख २०७६, १४ : ५९
6 Shares

वैशाख १२,

लमजुङ । लमजुङको मस्र्याङदी गाउँपालिका ४, ताघ्रिङका किसान मानव मलमूत्र प्रयोग गरेर तरकारी तथा खाद्यान्नबाली उत्पादन गर्न जुटेका छन् । यसअघि गाईभैंसी तथा भेडाबाख्रा, कुखुराको मलमूत्रबाट तरकारी र खाद्यान्य उत्पादन गर्दै आएका किसानले नयाँ प्रयोग गर्न लागेको हो । पशुपालन विस्तारै हराउँदै गएपछि पशुको मलमूत्रको अभावमा मानव मलमूत्रको प्रयोग गरी तरकारी फलाउन किसान जुटेका छन ।

लमजुङमै पहिलो पटक मस्र्याङदी गाउँपालिका ४ का किसानले मानव मलमूत्रको प्रयोग गरी खेती गर्ने योजना बनाएका हुन् । बजारमा पाइने रसायनिक मलभन्दा मानव मलमूत्रको प्रयोगबाट उत्पादन राम्रो हुने जानकारी पाएपछि किसानले यो कदम चालेको बताएका छन् । ताघ्रिङकी किसान आशकुमारी गुरुङले गाउँमा पशुचौपाया पाल्न छाडिएको र मल पाउन समस्या भएकाले यसको सट्टामा घरमा तथा सार्वजनिक स्थलमा पिसाव संकलन गरी बालीमा हालिने बताउनुभयो । ‘घरमै पिसाब संकलन गरेर बारीमा हाले उत्पादन बढ्ने र रोग पनि नलाग्ने जानकारी तालिमबाट पाएका छौं’ उहाँले भन्नुभयो, ‘गाईभैंसी पाल्न नसकिएपछि यो तरिका सहज लाग्यो । गाउँलेले सोही अनुसार मान्छेको मलमुत्र जम्मा गरेर खेतीबालीमा हाल्ने योजना बनाएका छौं ।’ स्थानीय किसान बैंशबहादुर गुरुङले मानव मलमूत्रको प्रयोग गरी खेतीपाती गर्ने तयारीमा गाउँले जुटेको बताउनुभयो । वैशाख दोस्रो साताबाट घर–घरमा पिसाब संकलन गरिने र बोटविरुवा तथा तरकारीमा हाल्ने उहाँले बताउनुभयो । वडाध्यक्ष सुमन गुरुङका अनुसार वडा कार्यालयले वडाभित्रका अगुवा किसानलाई कृषि बालीमा मानव मलमूत्र सम्बन्धी ३ दिने तालिम दिइसकेको छ ।

तालिमपछि किसानले मानव मलमूत्रबाटै तरकारी फलाउने प्रतिवद्धता गरेको उहाँले बताउनुभयो ।
पशुपालन गर्ने क्रम विस्तारै घट्दो अवस्थामा रहेकाले किसानलाई यो प्रविधिबाट तरकारी खेती गर्न सिकाइएको उहाँले बताउनुभयो । ‘मानव मलमूत्रबाट तरकारी उत्पादन साह्रै राम्रो हुने रहेछ । बाहिरी जिल्ला गएर हेर्दा रोग पनि नलागेको पाइयो’ उहाँले भन्नुभयो, ‘हामीले पनि यस्तै गर्न सके किसानलाई सहज हुन्छ भनी तालिम दियौं । किसान हौसिएका छन् ।’ उहाँका अनुसार एउटै परिवारका सदस्यको पिसाब संकलन गरेर राखेमा सोही दिनमै तरकारी बालीमा हाल्न सकिने र धेरै घरपरिवारको जम्मा गरेमा एक महिनासम्म राखेर बालीमा हाल्न सकिन्छ । शुरुवातमा स्थानीयले जर्किन वा ड्रममा पिसाव संकलन गर्नेछन् । तरकारी लगाएको ठाउँमा हाल्नेछन् । एक लिटर पिसावमा ३ लिटर पानी हालेर बोटविरुवा र बालीमा राख्न सकिने सकिने उहाँले बताउनुभयो ।
प्रशिक्षक एवं जिल्ला सुआहारा सरसफाई अधिकृत रोशन चौलागाईका अनुसार पिसाबमा क्याल्सियम, फस्फोरस भएकाले रसायनिक मलभन्दा धेरै गुणा राम्रो हुन्छ ।

घरपरिवारमा भन्दा विद्यालय र सार्वजनिक स्थलमा मावन मलमूत्र संकलन गर्दा राम्रो हुने उहाँले बताउनुभयो । विद्यालयमा संकलन गर्न सकेमा तरकारीमा हाल्न सकिने र विक्री समेत गर्न सकिने भएकाले निकै प्रभावकारी हुने उहाँले बताउनुभयो । ‘हामीले मानव मलमुत्रलाई खेर जाने वस्तु भनेर खासै वास्ता गर्दैनौं । तर, त्यही चिज राम्रो मल हुन्छ भन्ने बुझेका छैनौं’ उहाँले भन्नुभयो, ‘लमजुङका लागि यो नयाँ प्रयोग हो । कतिपय जिल्लामा भने प्रयोगमा आइसकेको छ । धेरैलाई यो कुरा नौलो लाग्न सक्छ ।’ स्याङजा, म्याग्दी, बाग्लुङ लगायत जिल्लामा मानव मलमुत्रबाट राम्रो उत्पादन भइरहेको उहाँले बताउनुभयो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।