ताजा अपडेट »

नेपालमा विवादित बनेको एमसीसी श्रीलंकाबाट फिर्ता

विहीबार, ०२ पुस २०७७, १० : ३६
4 Shares

काठमाडौं । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) श्रीलंकाबाट फिर्ता भएको छ। डिसेम्बर १५ वासिङ्टनमा बसेको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले श्रीलंकासँगको प्रस्तावित सम्झौतालाई फिर्ता लिने निर्णय गरेको हो ।

४८ करोड अमेरिकी डलर अनुमान दिने एमसीसी परियोजना श्रीलंकामा लामो समय विवादमा होमिएको थियो । जुन रकम यातायात पूर्वाधार स्तरोन्नति र भूमी सुधारमा खर्चिने बताइएको थियो । श्रीलंकामा सो परियोजना सन् २०१६ मा छनोट भएको थियो तर अघि बढ्न सकेको थिएन। अघिल्लो श्रीलंकाली सरकार एमसीसी परियोजनाको पक्षमा थियो । तर, सन् २०१९ मा सत्तामा पुगेका गोताबाया राजापाक्षे विपक्षमा उभिए ।

त्यसबीचमा विभिन्न राजनीतिक दाउपेचको कारण परियोजना अघि बढ्न सकेको थिएन । राजापाक्षे सत्तामा आएपछि परियोजनाबारे पनि विभिन्न तरिकाले विश्लेषण हुन थाल्यो । अन्त्यमा त्यस विषयमा विस्तृत अध्ययन गर्न उनले स्वतन्त्र कार्यदल बनाए । कार्यदलले गत जनवरीमा सम्झौता अस्वीकार गर्न सिफारिस गर्यो। त्यसैलाई मान्दै सरकारले सम्झौतामा हस्ताक्षर गरेको थिएन। त्यहाँका एमसीसी विरोधी वर्गले श्रीलंकाको सार्वभौमिकतामाथि प्रहार हुने तर्क थियो ।

अक्टोबर अन्तिम साता अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले श्रीलंका भ्रमण गर्दा एमसिसीबारे श्रीलंकाली अधिकारीसँग छलफल गरेका थिए । अन्तत बोर्ड अफ डाइरेक्टर्सले श्रीलंकाबाट परियोजना फिर्ता गर्ने निर्णय गरेको हो । नेपालमा पनि एमसीसीबारे लामो समयदेखि विवाद भैरहेको छ । अहिले सो परियोजना संसदमा विचाराधिन छ । सो परियोजनाका अनुसार नेपालमा झन्डै ६० अर्ब रुपैयाँ अनुदान दिने उल्लेख छ। अधिकांश अनुदान अर्थात् झन्डै ४५ अर्ब रुपैयाँ विद्युत्‌को अन्तरदेशीय प्रसारण लाइन निर्माणमा खर्च हुनेछ। बाँकी रकम सडक मर्मत र अन्य विषयमा खर्च हुनेछ।

विसं २०७४ सालको भदौ २९ गते वाशिङ्गटनमा एमसीसी सम्झौतामा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।