ताजा अपडेट »

आबुधाबीमा १ सय ५० नेपालीसहित साढे ७ सय कामदार अलपत्र

बुधबार, ०२ माघ २०७५, १४ : १७
12 Shares

माघ २,

यूएई । यूएईको आबुधाबीमा अलपत्र १ सय ५० जना नेपाली कामदारको उद्दार प्रकृयामा यहाँको सरकारले चासो देखाएको छ ।

अल वासिता एमिरेट्स क्याटरिङ्ग कम्पनीको मुसाफा ४० नम्बरमा अलपत्र १ सय ५० नेपालीसहित ७ सयभन्दा धेरै कामदारको विषयमा यूएईको श्रम तथा स्थानीय प्रशाशनले चासो देखाएको हो ।

कम्पनी संचालक जोर्डन नागरिकले यूएई छोडिसकेको र कम्पनी नामसारी प्रकृयामा रहेका बेला अलपत्र परेका कामदारलाई अहिले आबुधाबीको स्थानीय प्रशाशनको समन्वयमा यहाँको श्रम मन्त्रालयले खानाको व्यवस्था गरेको छ ।

कम्पनीको क्याम्पमा पानी र बिजुलीसमेत काटिएको र खानाको समेत समस्या भएपछि स्थानीय प्रशासनले चासो देखाएर पानी र बिजुलीको व्यवस्थासहित खाना उपलब्ध गराएको कञ्चनपुरका गणेश महराले बताए ।

नेपालीसहित भारत, पाकिस्तान, बङ्लादेश , श्रीलंका, फिलिपिन्स लगायतका कामदार अलपत्र परेपछि यहाँ रहेका सम्बन्धित देशका दूतावासले यहाँको श्रम तथा परराष्ट्रमा पत्राचार गरेका थिए ।

चौबीसै घण्टा क्याम्पको निगरानी स्थानीय प्रशाशनले गरेको र कुनै पनि समस्या भए तत्काल सम्पर्क गर्न भनेको पीडित कामदारहरुको भनाइ छ ।

क्याम्पमा अलपत्र कामदारले पाउनु पर्ने सेवा सुविधाबारे लिखित सूची स्थानीय प्रशासनले बनाएको पीडितहरुले बताएका छन् । त्यही सूचीअनुसार कम्पनीको व्यवस्थापन पक्षसँग आइतबार छलफल गरेर उद्दार प्रकृया सुरु गरिने कम्पनीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।