ताजा अपडेट »

इमोशनले होईन ब्रेनले काम गर्नुपर्छ:श्रृंखला खतिवडा

बुधबार, ०२ माघ २०७५, १४ : ०९
6 Shares

नेपाली इतिहासकै सर्वाधिक लोकप्रिय मिस नेपाल श्रृंखला खतिवडाको वाहवाही अझै सकिएको छैन । मिस नेपालको ताज पहिरिएसँगै चर्चामा आएकी श्रृंखलाले मिस वर्ल्ड प्रतिस्पर्धामा एकपछि अर्काे अवार्ड जित हात पार्दै चर्चाको शिखर चढिन् । सबैभन्दा महत्वपूर्ण मानिने ‘ब्युटी विथ पर्पज’ र ‘मल्टिमिडिया अवार्ड’ हात पार्दै अघि बढेसँगै उनको नाम अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा समेत छायो ।

उनी यतिबेला नेपाली सञ्चारमाध्यमहरुमा अन्तर्वार्ता दिनमै ब्यस्त छिन् । पाँचौ अन्तर्वाताका लागि तयार श्रृंखलाले भनिन्, “आजै मात्र चार वटा मिडियामा अन्तर्वार्ता दिईसकेकी छु ।” मिस नेपाल उपाधिले दिएको लोकप्रियतालाई अधिकतम सदुपयोग गर्ने मनशायमा रहेकी उनी ‘इमोशन’ले होईन ‘ब्रेन’ले काम गर्नुपर्ने मान्यता राख्छिन् ।

परिवर्तनशील परिवार

श्रृंखला कम्युनिष्ट परिवारमा हुर्केकी चेली हुन् । उनका हजुरबुवा बद्री प्रसाद खतिवडा, बुबा बिरोध खतिवडा र आमा मुनु सिग्देल कम्युनिष्ट राजनीतिज्ञ हुन् । उनका बुवा बिरोध खतिवडा अहिले प्रतिनिधि सभाका सांसद छन् भने आमा सिग्देल ३ नम्वर प्रदेशका सांसद छन् । ८५ बर्षीय हजुरबुबा बद्री प्रसाद खतिवडा अझै पनि समसामयिक विषयमा लेखिरहन्छन् ।

यस्तो कम्युनिष्ट परिवारमा हुर्केकी श्रृंखलालाई मिस नेपालमा सहभागि हुन कतिको गाह्रो भयो होला ? परिवारलाई सम्झाउन हम्मेहम्मे पर्याे कि भन्ने धेरैलाई लाग्न सक्छ । तर उनको जवाफ विल्कुल फरक छ । आफ्नो परिवार एकदमै विश्वासिलो र सकारात्मक भएकाले खासै सम्झाउन नपरेको उनी वताउँछिन् ।

श्रृंखलाको परिवारीक अवस्था पनि एकदमै स्वतन्त्र खालको छ । उनीहरुको सपरिवार एउटै टेवलमा खाना खान पनि मुस्किलले एक दिन जुर्छ । अझ अनौठो त के छ उनका अभिभावकले श्रृंखलाका बारेमा कतिपय कुराहरु मिडियामार्फत मात्रै थाहा पाउँछन् । मिस नेपाल बन्ने सानैदेखिको रहर पूरा भएको उनी त खुसी छन नै साथै छोरीको ‘सरप्राइज सफलता’ देखेर परिवार पनि दंग छन् ।

चेपाङवस्तीप्रति अभिभावकत्व

मिस वर्ल्डको प्रतिस्पर्धा गर्न जाने हरेकले एउटा प्रोजेक्ट गर्नुपर्ने हुन्छ । चाहे त्यो ठूलो होस् वा सानो । दिर्घकालिन सोच राख्ने श्रृंखलाले भने आप्mनो प्रोजेक्टका लागि मकवानपुरको चेपाङवस्ती रोजिन् । यो निकै विकट वस्ती हो जहाँ न्यूनतम पूर्वाधारको समेत अभाव छ । यो वस्तीमा करिव तीन हजार ५ सय जना बसोवास गर्छन् ।

मिस वर्ल्डबाट फर्किने वित्तिकै आफ्नो प्रोजेक्ट अवलोकन गर्न पुगेकी श्रृंखलाले चेपाङवस्तीमा एक हजार थानभन्दा बढी ब्लाङकेट, सिरक र डस्ना बाँडेर आएकी छन् । मिस वर्ल्डमा जानैका लागि समाजसेवा गरेको भन्नेहरुसँग उनको गुनासो छ । ‘यदि ममा समाजसेवाको भाव नभएको भए मैले जस्तोसुकै प्रोजेक्ट गर्न सक्थेँ, यही नै गर्नुपर्छ भन्ने थिएन ।’ उनले एकै स्वरमा प्रस्टिकरण दिईन् ।

उनको हेल्थपोष्ट प्रोजेक्ट अन्तर्गत वर्थिङ सेन्टर, प्रि अप्रेशन, जनरल वार्ड लगायतका सुविधा रहनेछन् । उक्त वस्तमिा बिजुली बत्ती नहुँदा काममा ढिलाई भईरहे पनि आगामी दुई महिनाभित्र काम सम्पन्न गर्ने उनको लक्ष्य छ । उनी मिस वल्र्डमा प्रतिस्पर्धा गर्नका लागि बनाईएको भिडियो निकै भाइरल भएको थियो । तिनै भिडियोकै कारण उनलाई सहयोग गर्न खोज्नेहरुको जमात पनि बाक्लो छ । तर उनी त्यसरी मनलाग्दो सहयोग स्विकार्ने पक्षमा छैनन् । चेपाङवस्तीप्रति अभिभावकत्व महशुस गरिरहेकी उनले भनिन्, “हावाहुरीमा पैसा उठाएर चामल लगेर बाड्ने कुरा भएन, त्यो चामल सकेपछि भोलि फेरि भोको पेट हुन्छ ।” उनको धाराप्रवाह बोली यतिमै रोकिँदैन । उनी थप्छिन्, “कोही मान्छे जाडोले कामेको देँखे भने म आफ्नो केट फुकालेर दिन्न बरु त्यसलाई कसरी दिर्घकालिन रुपमा समाधान गर्न सकिन्छ भन्ने सोच्छु ।”

मोडल नभन्नु, फिल्म खेल्दिन

मिस नेपाल आफैमा ‘ग्लामर फिल्ड’ जस्तो लाग्छ । त्यसो त मिस नेपाल भन्ने वित्तिकै रंगीन दुँनिया भन्ने आम बुझाई छ । त्यसो त हरेक अन्तर्वार्तामा उनलाई नछुटाई सोधिने प्रश्न हो –‘फिल्म खेल्नु हुन्छ ?’ यो प्रश्न आउने वित्तिकै उनको टाउको दुख्न थाल्छ । त्यसैले त श्रृंखला अपवाद मिस नेपालका रुपमा दरिएकी छन् । उनका लागि फिल्म खेल्ने त परका कुरा उनी आफुलाई मोडल भनेको समेत मन पराउदैनन् । “मलाई मोडल भन्यो भने खण्डन गर्छु ।” उनी भन्छिन् ।

उसो भए जीवनको उद्देश्य के त ? उनी भन्छिन्,– “आफ्नो ईन्ट्रेष्टले गरेको काममा मात्रै उचित सफलता पाउन सकिन्छ त्यसकारण म आफ्नो ईन्ट्रेष्ट अनुसारको काममा लाग्छु ।” उनले सामाजिक उत्तरदायित्वलाई नै जीवनको लक्ष्य मानेकी छन् ।

देश परिवर्तन गर्न राजनीति

मिस नेपाल हुनुपूर्व नै उनले नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने लक्ष्य रहेको बताएकी थिईन् । प्रश्न चिन्ह लागेको उनको यो लक्ष्यलाई प्रष्ट पार्दै उनी भन्छिन्,–“अहिलेसम्म नेपालमा महिला प्रधानमन्त्री बनेका छैनन् त्यसकारण मैले प्रधानमन्त्री बन्छु भनेकी हुँ, सिनियर महिला नेतृहरु प्रधानमन्त्री बन्नुभयो भने खुसी हुन्छु ।” देश परिवर्तनको जिम्मा राजनीतिज्ञको हातमा हुने उनको ठम्याई छ । र, देश विकास गर्न युवापुस्ताले राजनीति गर्नुपर्ने उनको बुझाई छ । तर उनी भने तत्काल राजनीति गर्ने सोचमा छैनन् । “हामी बोल्न सक्छौ तर पोलिसी चेन्ज गर्ने पावर राजनीतिज्ञसँग मात्रै हुन्छ” उनी भन्छिन् ।

मिस वर्ल्डको अनुभव

मिस वर्ल्डमा आफुलाई के को आधारमा मुल्यांकन भईरहेको छ भन्ने कुरा कसैलाई थाहा नहुने भएकाले पनि प्रतिस्पर्धीहरुले सोचे जस्तो नतिजा हात नलाग्ने श्रृंखलाको अनुभव छ । उनी भन्छन्– “टप ५ सम्म त मज्जाले पुगिन्छ भन्ने साथीहरु टप ३० मा पनि परेनन् ।” टप ३० मा पुग्न केही फास्ट ट्रायकहरु पनि हुन्छन् जस्तै ब्यूटी विथ पर्पज, मल्टिमिडिया, स्पोट्स ट्यालेन्ट, हेड टु हेड च्यालेन्ज । यीमध्ये श्रृंखलाले ब्यूटी विथ पर्पज र मल्टिमिडिया अवार्ड जितेकी थिइन् ।

मिस वल्र्डमा जाने सबै जना उत्तिकै प्रतिभाशाली हुन्छन् । श्रृंखलाकै शब्दमा भन्ने हो भने सबै प्रतियोगी १९/२० हुन्छन् । तर दुवै प्रतिस्पर्धी २०/२० कै भएमा कसरी छानिन्छन् त ? उनी भन्छिन्– “त्यसो भयो भने देशलाई हेरेर छनौट गर्ने हो कि जस्तो लाग्छ ।” मिस वर्ल्डको दावेदार मानिएका श्रृंखला टप १२ बाटै बाहिरिँदा उनका सबै सुभेच्छुक निराश बने । तर उनी भन्छिन्,–“खल्लो लाग्नु स्वभाविक हो तर हरेक कुरालाई सकारात्मकरुपमा लिनुपर्छ ।” उनी थप्छिन्, –“दुई दिन दुःख लाग्यो भने तेश्रो दिनदेखि म त्यो दुःखमा अल्झिनन् ।”

नयाँ मिस नेपाललाई सुझाव

“रहरलाई निखार्नु भन्दा निख्रिसकेको कुरालाई थप निखार्न सजिलो हुन्छ ।” यो श्रृंखलाको महावाणी हो । उनी हरेकलाई यही कुराको आत्मसाथ गर्दै अघि बढ्न सुझाउछिन् । मिस नेपालमा आउनुअघि होमवर्क आवश्यक पर्ने उनको अनुभव छ । ‘मिस नेपालको तालिममा सिकिहाल्छु नि’ भन्ने सोचले प्रतिस्पर्धामा भाग नलिन उनको सुझाव छ ।

मिस नेपालमा आउनुअघि के के कुरामा ध्यान दिनु पर्ला त ? उनी भन्छिन्,– “सबैभन्दा मुख्य कुरा ब्यूटी पिजियन्ट रिसर्च गर्नुहोस् ।” हरेक व्यक्तिले जस्तै मिस नेपालका प्रतिस्पर्धीले पनि आफ्नो लक्ष्य क्लियर बनाउनुपर्ने उनको तर्क छ । उनी मिस नेपाल जित्न होईन मिस वल्र्ड जित्ने लक्ष्यका साथ प्रतिस्पर्धामा आउनुपर्ने बताउछिन् । आफ्नो कमजोरीलाई कमजोर बनाउन नहुने उनको धारणा छ । प्रस्तुतीमा लजिक र आप्mनो गुण बुझेर मात्रै प्रतिस्पर्धामा सहभागि हुनुपर्ने उनको सुझाव छ ।

उसो भए मिस नेपालको ताज जित्न हुनुपर्ने मुख्य गुणहरु चाँही के त ? प्रश्न झर्न नपाउँदै श्रृंखला भन्छिन,– “ह्युम्यान बिइङ, सामाजिक भाव, जोश जाँगर, असल व्यक्तित्व, परिवर्तनशिल, सहानुभूति ।”

आगामी योजना 

सारा नेपालीको माया र वाहवाही पाएकी श्रृंखला यतिबेला जीवनको सामाजिक योजना बुन्ने तरखरमा छिन् । मिस नेपालको ताजले दिएको ‘पपुलारिटी’लाई प्रयोग गरेर योगदान गर्ने तयारीमा जुटेकी छन् । उनको पहिलो प्रोजेक्टको रुपमा रहेको चेपाङवस्तीको निर्माणाधिन हेल्थपोष्टको निर्माण सक्ने उनको योजना छ ।

अध्ययनलाई पूरा गर्ने र आफुसँगै समाज र देशलाई पनि अघि बढाउने उनको लक्ष्य छ । स्रोतसाधनबिना लक्ष्यले प्रतिफल हासिल गर्न नसक्ने उनको ठम्याई छ । उनी भन्छिन्,– “लक्ष्यलाई पूरा गर्न स्रोत साधन पनि त चाहिन्छ ।”
रामजी बलामी ,केन्द्रबिन्दुबाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।