ताजा अपडेट »

‘रोटरीले समाजमा सेवासँगै सदस्यहरुको करिएर मेकिङमा मद्दत गर्दछ’

बुधबार, २४ मंसिर २०७७, २१ : ४०
30 Shares

देश तथा विदेशमा, राष्ट्रिय वा अन्तराष्ट्रिय विभिन्न स्तरका सामाजिक संस्थाहरुको भिडमा रोटरी क्लबको नाम अग्रपंक्तिमा आउँछ । पुरानो र प्रभावकारी सामाजिक संस्थाको रुपमा पनि स्थापित अन्तराष्ट्रिय सामाजिक संस्था रोटरीले स्थापनाको शतकपनि पूरा गरेको छ । नेपालमा पनि रोटरीको महत्व र प्रभाव दिनानुदिन बढ्दै गएको छ । हाल नेपालका अधिकांश स्थानमा रोटरीको मातृ क्लब अन्तर्गत पनि विभिन्न यूथ क्लबहरु पनि सञ्चालित छन् । समयको गति, प्रविधिको विकास र पहुँच भएसँगै सामाजिक समस्या र अभाव भने कायमै छन् । यस्तो अवस्थामा नेपालमा रोटरीको महत्व र भूमिकाका सन्दर्भमा ग्लोबल आवाजका लागि रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिष्ट्रिक्ट गभर्नर राजिव पोख्रेलसँग गरेको कुराकानीको सम्पादित अंशः

हाइड्रो, बैंकिङ तगाएत विभिन्न इण्डष्ट्रिजमा आवद्ध भई सफल उद्यमीका रुपमा रहनुभएको, विशेषगरी वित्तिय व्यवस्थापनमा अब्बल छवि र व्यक्तित्वका रुपमा परिचित तपाइँ रोटरी जस्तो सामाजिक संस्थाको नेपाल तथा भुटानकै मुख्य नेतृत्वमा हुनुहुन्छ । कसरी यहाँसम्म आउनुभयो ?
–यहाँसम्म आउनु अगाडि प्रवेशनै रोचक छ । सुरुमा रोटरीलाई मैले सामान्य किसिमले लिएको थिएँ । धेरै पटक साथीहरुले प्रवेश गर्न भन्दापनि आनाकानी नै गरेँ । जब रोटरीमा प्रवेश गरे, यसको महत्व र प्रभावकारिता बुझ्दै जाँदा सामाजिक सेवामा समर्पित भएँ । तपाइँले भनेजस्तै इण्डष्ट्रिज, विशेषगरी वित्तिय क्षेत्रमा सक्रिय म अहिले अन्तराष्ट्रिय सामाजिक क्लब रोटरीमा छु । तर, मैले गर्ने कार्य र ती वित्तिय गतिविधिहरु पनि निरन्तर छन् । रोटरी र सामाजिक सेवाको भावले काम र अर्थोपार्जनमा पनि प्रेरणा प्रदान गर्दै टेवा पुर्याउँछ ।
मेरो रोटरी प्रवेश मेरो होम क्लव रोटरी क्लव अफ काठमाण्डौ मेट्रोमार्फत १५ वर्ष अगाडि भएकोको हो । रोटरी जोइन गरेको ५ वर्षमा आफ्नो क्लबको अध्यक्ष चयन भए तत्पश्चात डिष्ट्रिक्ट ३२९२का विभिन्न जिम्मेवारीमा रहेर निस्वार्थ सेवा गर्दै हाल म २०२०–२१ का लागि नेपाल तथा भुटानको डिष्ट्रिक्ट गभर्नर छु ।

रोटरी कस्तो संस्था हो र यसका कार्य क्षेत्रहरु के–के हुन्?
–मेरो सुरुको बुझाइमा र अहिले पाएको रोटरीको परिभाषा फरक छ । पहिला रोटरीमा नजोडीदै रमाइलो गर्ने संस्थाको रुपमा मैले पनि लिने गदर्थेँ तर त्यस्तो रहेनछ । यो नितान्त सामाजिक संस्था हो । मपनि सुरुमा साथीहरुले बोलाएर आएँ । पछि भिज्दै गएँ बुझ्दै जादा सेवा गर्ने लत लाग्यो पछि अझै बुझ्दै जादा यो त नितान्त निस्वार्थ सेवा गर्ने संस्था हो भन्ने थाह भयो । यो अन्य गैरसरकारी संस्थाहरु जस्तो होइन भन्ने निश्चित भयो । यहाँ सेवामा आनन्द मिल्छ । रोटरी अन्तर्गतको द रोटरी फाउण्डेशन संसारको दोस्रो धनि संस्था हो । जसमार्फत रोटरीले आफ्रना सात वटा फोकस एरियाहरु शान्ति तथा द्वन्द ब्यवस्थापन, रोग नियन्त्रण तथा उपचार, खानेपानी तथा सरसफाई, मातृशिशुु तथा स्वास्थ्य, प्राथमिक शिक्षा तथा साक्षरता, आर्थिक ,सामाजिक विकास तथा वातावरणमा सहयोग गर्दै आएको छ । यसका कार्य क्षेत्रहरुपनि विस्तृत छन् । रोटरीले विश्वमै पोलियो उन्मुलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

विश्वव्यापी महामारीका समयमा रोटरीले नेपालमा कस्तो भूमिका निभाउँदै आएको छ?
–करिब ११ महिना भयो । हामीले ११ महिनामा देशभरका विभिन्न क्लवहरु मार्फत करिब २५ करोडका स्वास्थ्य सामग्री वितरण गरेका छौं । सर्वसाधारणलाई खाना खुवाउनेदेखि विभिन्न सामग्री वितरण गर्यौं । अन्य संस्थासँग पनि सहकार्य गरेका छौं । महत्वपूर्ण समयमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छौं । रोटरीले नेपालमा मात्र हैन संसारमै यो महामारीका समयमा उत्कृष्ठ सहयोग गरेको छ । रोटरी अन्तराष्ट्रियले विश्वभरीनै यो काभिडका समयमा रोटरी फाउण्डेसनमा एक वर्षको सेवाका लागि खर्च गर्न छुट्याईएको बजेट ९ महिनामा वितरण गरेर सकियो । जुन १२ महिनाका लागि छुट्टाइएको थियो । यसबाट पनि स्पष्ट हुन्छ कि कोरोना संक्रमण र महामारीमा रोटरीको सक्रियता र प्रभावकारिताको बारेमा ।

सामाजिक संस्थाहरु स्वयम् खर्चिला र भड्किला देखिने गरेका छन् । रोटरीको अवस्था के छ ?
–जुनसुकै संस्थामा आर्थिक गतिविधि अर्थात् आय–व्यय हुन्छ । खर्चसँगै आम्दानीका स्रोत पनि हुन्छन् । कुनैपनि संस्थामा रमाइलो गर्नुहुन्न भन्ने छैन । हामी रोटरियनहरु पनि सेवा प्रदान गरी केही समय रमाइलो गर्छौ, त्यो हाम्रो निजी खर्चबाट हुने गर्दछ । सदस्यहरुले आफ्नो सक्दो दक्षता अनुसार संकलन र सहभागी भई औपचारिक वा रमाइलो कार्यक्रमहरु हुने गर्दछन् । जुनमा खर्च त हुन्छ नै । जुन रोटरीको सिद्धान्त भन्दा बाहिर हुँदैन ।

रोटरी आर्थिक तवरले सम्पन्न वा खर्च गर्नसक्नेहरुको समूह भन्नेपनि गरिन्छ ? कस्ता व्यक्तिहरु सहभागि हुन सक्छन् ?
–खर्च नगरी केहि हुँदैन । धेरै पैसा भएको भन्दापनि इच्छाशक्ति भएकाहरु रोटरीमा आउने गर्दछन् । रोटरीमा प्रवेश र सेवा गर्न र यसमार्फत मासिक न्यूनतम २ हजार खर्च गर्न सक्नेहरु यसमा आउन सक्छन् । यसमा धनि भन्दा पनि सेवाको भावना राख्नेहरु धेरै हुनुहुन्छ । अर्कोतर्फ विभिन्न पेशा व्यवसायमा आवद्ध सदस्यहरुले यसमार्फत केहि सामाजिक कार्यमा योग्दान पुर्याउनु भएको छ ।

रोटरी ३२९२ अन्तर्गत नेपालमा कति क्लब रहेका छन् । र, आगामी योजनाहरु के कस्ता छन्?
–हाम्रो कल्ब अन्तर्गत नेपालमा हाल १४१ वटा रोटरीका क्लबहरु रहेका छन् । ती मध्ये अधिकांश क्लबहरु सेवामा अब्बल र सक्रिय छन् भने केही अन्य भन्दा केही कमजोरहरु पनि छन् । समग्रमा नेपालमा रहेका रोटरी क्लवका रुपमा उनीहरु सबल छन्, सक्रिय छन् । समाजिक हितमा विभिन्न कार्यक्रमहरु गर्दैछन् ।

गरिमामय इतिहास र लामो यात्रा गर्दै आएको रोटरीले समय सापेक्ष रुपमा काम वा सेवा गर्न सफल कसरी भएको छ ?
–समाजमा विभिन्न किससिमका मानिसहरु छन् र आवश्यकता पनि तर, सेवा साझा हो । रोटरी सेवाकै गतिमा अगाडि बढ्छ । सेवामूलक संस्थाले समय सापेक्ष सेवा गर्दै जानेछ । ११५ वर्षदेखि एउटै सिद्धान्त, स्वार्था भन्दा माथी उठेर सेवा गरौं भन्ने भावबाट अगाडि बढेको छ । रोटरीका सामान्य सेवादेखि विभिन्न मुख्य परियोजनाहरु रहेका छन् । हजुरले हेर्न सक्नुहुने छ, रोटरीले काठमाण्डौंका जुनकुनै अस्पतालमा केही न केही कामहरु गरेको छ । स्वास्थ्य, शिक्षा तगाएतका क्षेत्रमा सरकारसँग पनि सहकार्य गर्दै शिक्षित नेपाल बनाउने अभियानमा रोटरी छ । ग्रामिण भेगमा पिउने पानीको व्यवस्थापन पनि रोटरी अग्रसर छ । अब वातावरणका क्षेत्रमा पनि लागेका छौं ।

तपाई अहिले रोटरी अभियानकै सिलसिलामा रुपन्देही,विशेषगरी बुटवल क्षेत्रमा हुनुहुन्छ । यस क्षेत्रमा रोटरी क्लबहरुको संख्या बढ्दो छ । तपाइँले यहाँका रोटरी र उनीहरुको भूमिकालाई कसरी लिनु भएको छ ?
–बुटवल मेरो मनपर्ने ठाउँ हो र नेपालमा रोटरी अभियानको पनि यो उर्वरभूमि हो । यहाँका क्लबमा राम्रो काम गर्ने प्रष्पिर्धा छ । जुन निकै सकारात्मक र राम्रो पक्ष हो । अधिराज्यभरीका क्लवहरु हेर्दा यहाँका क्लवहरुका गतिबिधि उत्कृष्ट छन । रोटरीले कार्यगत क्षेत्रानुसार नेपाललाई सात क्षेत्रमा विभाजन गरेको छ । रुपन्देही पाच न. क्षेत्र अन्तर्गत पर्दछ । यहाँ शिक्षा, स्वास्थ्य लगाएत विभिन्न क्षेत्रमा रोटरीमार्फ प्रभावकारी र सराहनीय कामहरु भएका छन् । जुन रोटरी अभियानमा उदारणीय नै छन ।

विभिन्न अन्तराष्ट्रिय सामाजिक संघसंस्थामार्फत नेपाली बजेट विदेशिन्छ भन्ने पनि छ नि । रोटरीमार्फत नेपालबाट कति बाहिरिन्छ र कति भित्रिन्छ ?
–त्यो यथार्थ र तथ्यांकमा नभएर आरोप लगाए जस्तै हो । केहि संस्थामा त्यस्तो होला पनि । तर, रोटरीले बाहिर पठाउने र भित्राउनेको भिन्नता आकाश जमिनको छ । यसले प्रति सदस्य ७० डलर रोटरी इन्टरनेशनलमा दिनु पर्दछ । ५ हजार सदस्य छन् । साढे तीन लाख डलर वर्षमा बुझाउनु पर्ने हुन्छ । तर, त्योपनि नबुझाई उताबाट आउने बजेटमा कट्टी गरी आउँछ , जस्तै १० करोडको योजना छ भने साढे तीन लाख डलर यतैको खर्च गर्नेगरी बजेट आउँछ, गएको वर्ष नेपालमा रोटरीमार्फत ५७ लाख डलर नेपाल भित्रिएको छ । यसबाटै प्रष्ट देखिन्छ रोटरीबाट कति बिदेशिन्छ,कति भित्रिन्छ भन्ने कुरा ।

अन्तमा रोटरीमार्फत सेवा गर्न चाहाने नयाँ पुस्तालाई कस्तो सुझाव दिनुहुन्छ ?
–सामाजिक सेवाका लागि मात्रै होइन । व्यक्तित्व तथा चौतर्फी विकासका लागि पनि रोटरी एउटा प्लेटफार्म हो । यो संस्थामा मिलेर एकताका साथ काम हुने गर्दछ । यसले अवसर सिर्जना गर्दछ । सँगै लिएर अगाडि बढ्ने यसको आधारशिला हो । युवाहरुको लागि लिडरशिपको लागि प्रेरणा दिन्छौं । रोटरीमा लागनेहरु आफैमा फरक क्षेत्रका लिडर रहेका हुन्छन् । त्यसैले ‘लिडर अफ दि लिडर’ भनिन्छ । हामीले नैतिकतासँगै व्यवहारिक कुराहरु सिकाउँछौं । आफूभन्दा तलकाहरुलाई दिनुपर्छ भन्ने मान्यता राख्दछौं । रोटरीमा विभिन्न ट्रेनिङहरु लगाएत धेरै अवसरहरु छन् ।सामाजिक संस्थामा पुरानो यो २ सय बढी देशमा छ । जसले धेरै अनुभव बटुलेको छ । संसारमा गर्नैपर्ने भनेको टाइम म्यानेजमेण्ट हो, त्यो रोटरीले सिकाउँछ , व्यक्तित्व विकास, नेटवर्किङ , व्यपार व्यवसाय विस्तार, ठूलो र धेरै अवसरहरु छन् । विशेषगरी करियर मेकिङ पिरियडमा रोटरी महत्वपूर्ण छ ।

गौतम भूसाल
लेखकको बारेमा
गौतम भूसाल

भूसाल ग्लोबल आवाज अनलाइका प्रबन्ध सम्पादक हुन् ।