ताजा अपडेट »

अञ्जुको उद्यम

सोमबार, २२ मंसिर २०७७, १७ : ४८
30 Shares

अञ्जु थापाले तिलोत्तमा नगरपालिकाको शंकरनगर, सारदा मावि (दुर्गादत्त मावि) बाट गुड सेकेण्ड डिभिजनमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी थिइन् । लुम्बिनी वाणिज्य क्याम्पस, बुटवलबाट बिबिएस उत्तीर्ण उनी एमविएसको थेसीसमा थाँती बसेकी छन् । दुई दाइ र दुई दिदीका बहिनी एवम् लाहुरे परिवारका कान्छी सन्तानका रुपमा जन्मिएकी उनलाई आर्थिक अभावको खासै महसुस गर्नु परेन ।

पाँच वर्ष मिसन डेभलपमेन्ट बैंक कालिकानगर, बुटवलमा पैसासँग राम्रै संगत गरिन् । अर्थात् बैंकको जागिरे भइन् । बैंकलाई राम्रैसँग बुझ्ने मौका पाइन् । पहिलो सन्तानका रुपमा छोरो जन्मिएपछि उसकै स्याहार, सुसारमा घरमै समय बिताइन् । अहिले एक छोरा र एक छोरीकी आमा बनिसकेकी छन् अञ्जु । श्रीमान् प्रकाश जीसी वैदेशिक रोजगारमा । आफ्नै घरधन्दा र छोराछोरीका हेरचाह नै सबैभन्दा ठूलो जागिर मिलेपछि किन बैंक जानू–अञ्जु हाँस्दै भन्दैथिइन् । पैसा खेलाई रहने बानीले उनका हात होइन मस्तिष्क चिलायो र घरधन्दामा रहिरहँदा थालिन् अञ्जु सेनेटरी प्याडको उद्यम । अहिले सो उद्यमले उनलाई पैसा, पहिचान र प्रसिद्धि दिदैंछ ।

सुरुमा उनले आफ्नै ठाउँका देवी वाग्ले र पार्वती गिरीबाट सेनेटरी प्याड बनाउने तालिम लिइन् । केही समय सिकेर हात बसालेपछि उनै दिदीहरुसँग सहायक प्रशिक्षक र पछि प्रशिक्षक भई विभिन्न स्थानहरुमा प्रशिक्षण दिन थालिन् । देवी वाग्ले दिदी भन्दैथिइन्-अञ्जुमा काम गर्ने इच्छा, चाहना र कामप्रतिको प्रतिवद्धता छ । त्यसैले उनले प्रगति गर्न सक्छिन् ।

तिलोत्तमा नगरपालिका वडा नं. १ को ड्राइभरटोल, न्यू होराइजन कलेज नजिकै अञ्जुले पुनः प्रयोग गर्न सकिने खालको आधुनिक एवम् वातावरणमैत्री सेनेटरी प्याड उद्यम खोलेर आफूलाई महिला उद्यमीको रुपमा दर्ज गरेकी छन् । पाँचजना महिलाहरुलाई रोजगार दिएकी छन् भने आफू समेत स्वरोजगार बनेकी छन् । उनको उद्यमबाट एकजना महिलाले महिनामा कम्तिमा १२ देखि १५ हजार रुपैयाँ सजिलै आम्दानी गर्न सकेका छन् ।

आफूले उत्पादन गर्ने सेनेटरी प्याड सुरुमा खरिद गर्ने बेला केही महंगो भएतापनि पुनः प्रयोग गर्न सकिने, वातावरण मैत्री, रासायनिक वस्तु प्रयोग नगरिकएको हुने भएको हुँदा प्रभावकारी र सस्तो पर्ने अञ्जुले बताइन् । उनले निर्माण गर्ने सेनेटरी प्याडको कच्चा सामग्री भारत र चीनबाट खरिद गर्नुपर्ने भएकोले केही महंगो र नेपालमा अप्राप्त हुने कठिनाई भएको गुनासो समेत गरिन् । सेनेटरी प्याड बनाउनका लागि सिल्क बिट्टन, मिन्क फ्लीस, एण्टी पिल जस्ता कच्चा सामग्रीको आवश्यकता पर्ने उनले बताइन् ।

लकडाउनका बेला वैदेशिक रोजगारबाट नेपाल फर्केका श्रीमानलाई अनलाइन मार्केटिङ्ग पद्धतिमार्फत आफ्नो सेनेटरी प्याडको बजार बिस्तार र बजारीकरणका निम्ति सहयोग मागेकी छन् । दैनिक पाँच सय सेनेटरी प्याड उत्पादन गर्ने आफूहरुसँग मेसीनरी र प्राविधिक जनशक्ति रहेको अञ्जुले बताइन् । तैपनि अहिले दैनिक तीन सय उत्पादन गर्दै आएको बताइन् । सबै खर्च कटाएर २० प्रतिशत चोख्खो नाफा हुने उनले सुनाइन् । महिनामा एक लाख आम्दानी हुने सुनाइन् ।

राम्रो खालको एउटा सेनेटरी प्याडको बजारमा फुटकर चारसय पचास रुपैयाँ पर्छ भने होलसेल मूल्य तीनसय पचासमा बेच्दै आएको उनले बताइन् । हालसम्म निर्माण गरेका सेनेटरी प्याड बेच्न बजार जानु नपरेको र अनलाइन मार्केटिङ्गद्वारा भटाभट बिक्री भइरहेको उनले बताइन् । यतिबेला उनले सेनेटरी प्याड र बच्चाको डाइफर निर्माण गरिरहेकी छन् ।

दिदीहरुसँग सेनेटरी प्याड बनाउन सिकेकी अञ्जुले धेरै कुरा यूट्यूव हेरेर जानिन् र अभ्यास एवम् कर्तव्यप्रतिको अठोटले उनलाई महिला उद्यमीको रुपमा अघि बढाउँदै छ । लगभग तीनवर्ष भयो उनले अञ्जु सेनेटरी प्याड उद्यम खोलेको पनि । पाँच लाख रुपैयाँ बीऊ पूँजीबाट सुरु गरेको सो उद्यममा अहिले चल्ती पूँजी २० लाख पुगिसकेको छ । बीऊ पूँजीबाट आएको फाइदाबाट नै अहिले चल्ती पूँजी त्यति पुगेको कुरा सुनाइरहँदा उनको अनुहारमा खुशीको मुस्कान थियो ।

भर्खरै सेनेटरी प्याडको विदेश निर्यात सम्भव नभएको उनले सुनाईन् । कच्चा सामानमा लाग्ने भन्सार दस्तुर नै समस्याको रुपमा देखिएको छ । त्यसैगरी यो सेनेटरी प्याडको महत्व र अल्छी हुँदै गएका महिलाहरुलाई पुनः प्रयोगका बारेमा जानकारी गराउन नसक्दा सोचे जति अझै व्यापारिक प्रगति गर्न नसकेको अञ्जुले सुनाइरहेकी थिइन् । विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड दिने हो भने यस खाले पुनः प्रयोग गर्न सकिने खालको दिनुपर्ने उनले सुझाइन् । आफूलाई विहे अघि महिनावारी हुँदा बढी पेट दुख्ने, रक्तश्राव बढी हुने, सेतो पदार्थहरु बग्ने हुँदा साह्रै समस्या हुने गरेको र चिकित्सकहरुलाई देखाउँदा बिहेपछि सञ्चो हुन्छ वा सन्तान जन्मिसकेपछि आराम हुन्छ भनेता पनि प्याडको एलर्जी वा समस्याका कारण त्यस्तो समस्या परेको अनुभवका कारण समेत आफूले सेनेटरी प्याड उद्यम सञ्चालन गरेको इतिहास सुनाइन् ।

भविष्यमा सुत्केरी सेट निर्माण गर्ने सपना बुनेकी छन् । एउटा सुत्केरी सेटमा ग्राउन, बच्चाका लागि भोटो, ब्लाँकेट, बच्चा समाउने रुमाल, सुत्केरी पेन्टी, किटहरु रहने छन् । प्रतिसेट दुईहजार रुपैयाँमा बिक्री गर्ने गरी सेवा दिने उनको योजना छ । हालसम्म अञ्जुले वित्तीय संस्था वा बैंकबाट उनले कुनैपनि किसिमका कर्जा लिएकी छैनन् । भविष्यमा आफ्नो उद्यमलाई विकास तथा विस्तार गर्ने र आवश्यक रहेमा कर्जा लिन सकिने बताइन् । नेपालका सबै ठाउँमा र विदेशमा समेत निर्यात गरी अञ्जु सेनेटरी प्याडलाई विश्वव्यापी बनाउने उनको रहर पूरा होस् ।

पुन: प्रयाेग गर्न मिल्ने सेनेटरी प्याड
https://www.globalaawaj.com/archives/66934
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।