ताजा अपडेट »

को हुन प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने घिमिरे ?

आइतबार, ०८ बैशाख २०७६, १३ : ०४
10 Shares


बैशाख ८,
ग्लोबल आवाज
बुटवल । शनिबार बुटवल स्थित जितगढीमा भव्यताका साथ कडा सुरक्षा व्यवस्थाका बीच जितगढी विजयोत्सव समारोह सञ्चालन भइरहेको थियो । तोकिएको समय भन्दा करिब २ घण्टा ढिलो सुरु भएको कार्यक्रम मध्यान्हबाट सुरु भएको थियो ।

वैसाखको गर्मीमा वीरताको प्रतिक जितगढीमा उपस्थित सबैले देशका प्रधानमन्त्री एवम् समारोहका पमुख अतिथि के.पी.शर्मा ओलीको भाषण सुन्न आतुर थिए । समारोहको अन्तिम चरणमा जब प्रधानमन्त्रीको मन्तव्य सुरु भयो । केही क्षण मै एक युवा हातमा कालो रुमाल(झण्डा) लिएर मञ्चतर्फ देखाउँदै ‘ हाम्रो देश प्राणभन्दा प्यारो छ ,उजिरसिंह जिन्दावाद ’ भन्दै नारा लगाए । सो गतिविधिपछि प्रधानमन्त्री स्वयम्ले नै उनलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई आदेश दिए ।

कडा सुरक्षा व्यवस्था र समिपमै सुरक्षाकर्मी रहँदा पनि उनले कालो झण्डा देखाउँदै आफ्नो नारा लगाउन सफल भए । ऐतिहासिक विजयोत्सवमा प्रधानमन्त्रीलाई त्यसरी कालो झण्डा प्रदर्शन गरेका उनीप्रति सबैको चासो बढ्यो । को होला ?,कहाँबाट आएको ?, कस्ता प्रवृत्तिको वा कोबाट प्रचालित जस्ता प्रश्न सबैको मनमा लाग्नु स्वभाविक नै हो । तुरुन्तै बुझ्ने क्रममा उनको नाम रुद्रप्रसाद घिमिरे र उनको ठेगाना अर्घखाँची भन्ने जानकारी प्राप्त भयो ।

कालो झण्डा देखाउने रुद्रप्रसाद घिमिरे रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका व्यक्ति भएको जानकारी प्राप्त भएको छ । निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले तत्कालीन समयमा जारी गरेको उमेदवारको परिचयपत्रमा ती व्यक्तिले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको देखिन्छ । तत्कालीन नेकपा एमालेका उमेदवार विष्णु पौडेल निर्वाचित क्षेत्रमा उमेदवारी दिएका घिमिरेले २१ मत प्राप्त गरेका थिए ।

बुटवल माझ गाउँमा बसेर दुग्ध व्यवसाय गर्दै आएका घिमिरेले स्नातकसम्मको अध्ययन गरेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएका घिमिरेका बारेमा थप अनुसन्धान भइरहेको कार्यालय प्रमुख डिल बहादुर मल्लले बताए । उनका अनुसार घिमिरेले कोही–कतैबाट परिचालित नभई स्वयम् आफ्नो इच्छा र विवेकले सयौं सुरक्षाकर्मी र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताको भीडबाट प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएको बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।