ताजा अपडेट »

लुम्बिनी वाणिज्य क्याम्पस र प्रज्ञानम् ब्रह्म

शनिबार, २० मंसिर २०७७, १८ : २८
92 Shares

‘कला, विज्ञान र श्रृजनालाई एकै ठाउँमा ल्याउने अभ्यास नै ब्यवस्थापन हो।’– हेनरी मिन्जवर्ग

प्रज्ञानम् ब्रह्म–पुरातन हिन्दुशास्त्र ‘ऋग्वेद’को महावाक्य हो । यसको शाब्दिक अर्थ हुन्छ–ज्ञान नै ब्रह्म हो । चारवटै वेदमा एक–एकवटा महावाक्य छन् । महावाक्यको अर्थ हुन्छ–यदि यहीं वाक्यको अनुशरण गर्दै आफ्नो जीवनको परम् स्थितिको अनुसन्धान गर्न सक्यौं भने हाम्रो जीवन सफलता पूर्वक निर्वाह हुन्छ । यहिँ महावाक्यलाई प्रमुख विषय मानेर यसपटक लुम्बिनी बाणिज्य क्याम्पसले भर्खरै दोश्रो अन्तर्राष्ट्रिय सेमिनार सफलतापूर्वक सम्पन्न गरेको छ । कोभिड-१९ को कारणले गर्दा भर्चूअल माध्यमबाट वेबिनारको रुपमा सेमिनार सम्पन्न भयो । परम्परागत शैलीको सम्भाषण, पट्यार लाग्दा बासी कुरा र अव्यवहारिक सैद्धान्तिक विमर्श भन्दा अलि पृथक खालको अनुसन्धानात्मक शिक्षण सिकाईमा जोड दिनुपर्छ भन्ने सन्देश दिन क्याम्पसले ‘प्रज्ञानम् ब्रह्म’ महावाक्यलाई ब्यानर हेड बनाएर कार्यक्रम गरेको हो । परिवर्तन निरन्तर भैरहेको हुन्छ । सकारात्मक परिणाम दिने परिवर्तन नै वास्तविक विकास हो । यसका लागि शिक्षा महत्वपूर्ण र आधारभूत आगत हो । शिक्षाले विद्यार्थी र भावी पुस्ताको मानसिकतामा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्छ ।

अबको ब्यवस्थापन र वाणिज्य शिक्षा परम्परागत नभएर अझ बढी गतिशील हुनुपर्दछ । हेनरी मिन्जवर्गले भने जस्तो ब्यबस्थापन शिक्षाले कला, बिज्ञान र श्रृजनालाइ एकै ठाउँमा ल्याउने अभ्यास गर्नु पर्दछ । यसले ब्यवसायिक क्षेत्रमा आवश्यक पर्ने दक्ष ब्यवस्थापक, लेखापाल लगायतका जनशक्ति उत्पादन गर्ने, ब्यवस्थापन कन्सल्टेन्टको रुपमा परामर्शदाताको कार्य गर्ने उच्च दक्ष जनशक्तिको माग स्वदेशमा नै पूरा गर्न सक्नु पर्दछ । वर्तमानको आवश्यकता भनेको टाई शुट लगाएर ९–५ को जागिर गर्ने मात्रै नभएर उद्यमी जनशक्ति उत्पादन गर्ने दिशामा अभिमुख वाणिज्य शिक्षा हो । उद्धमशिल भावना जागृत गराउनुपर्दछ । २१ औं शताब्दीको ब्यवस्थापन शिक्षा केवल ब्यवस्थापन र वाणिज्यशास्त्र अध्यापनमा मात्र सिमित हुनुहैन । अध्ययन अध्यापनका क्षेत्रमा ब्यापक बिस्तार भइरहेको हुँदा यसलाईआजभोलि ब्यवसायिक शिक्षा (बिजनेश एडुकेशन) भनिन्छ । त्यस्तै शिक्षालयहरुलाई बिजनेश स्कूल । बिजनेश एडुकेशन अर्थात ब्यवसाय शिक्षा कार्यक्रम मार्फत विद्यार्थीलाई ब्यवस्थापन र उत्पादन कार्यसँग सम्बन्धित आधारभूत सिद्धान्त सिकाइन्छ । यस्ता कार्यक्रमको उद्देश्य ब्यवस्थापनसँग सम्बन्धित निर्णय प्रकृया, दर्शन, सिद्धान्त र मनोबिज्ञान तिनीहरुको ब्यवहारिक प्रयोग र नयाँ ब्यवसाय शुरुवात कसरी गर्ने, सञ्चालन कसरी गर्ने भन्ने विषय अध्यापन गरिन्छ ।

शिक्षाको मर्म जीवन गुजारा गर्ने सीप र वृत्ति विकाससँग मात्रै रह्यो भने नविनता अन्वेषण गर्न सकिन्न । अहिले त्यस्तै भएको छ । दक्ष र उच्च दक्ष जनशक्ति पनि ब्रेन–ड्रेन भएर पलाएन भैरहेका छन् । विदेशी विश्वविद्यालयमा गएर अध्ययन गरेका कैयौं नेपाली प्रतिभाहरुले विभिन्न खोज र अनुसन्धानमा अब्बल ठहरिएका छन् । तर,बिडम्बना देशभित्र त्यस्तो वातावरण बन्न सकिरहेको छैन । विश्वविद्यालय तहको शिक्षा अनुसन्धानमुखी हुनुपर्छ । विश्वविद्यालय अनुदान आयोग र सरकारका अन्य निकायमार्फत अनुसन्धानको क्षेत्रमा भैरहेको लगानीले खासै प्रतिफल दिन सकेको छैन । ज्ञानको विस्तार र विकास भन्दापनि पुनःउत्पादनमा बढी केन्द्रीत छ । बढी सैद्धान्तिक र कर्मकाण्डी प्रकृतिको छ हाम्रो विश्वविद्यालय तहको शिक्षा ।

मोफसलमा रहेर पनि लुम्बिनी वाणिज्य क्याम्पसले विश्वविद्यालय शिक्षामा आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ । दुई वर्षअघि पहिलो अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरेको थियो । विश्वविद्यालय शिक्षामा नविनता खोज्ने विषयमा केन्द्रित थियो उक्त समिनार । प्राज्ञ, अनुसन्धताहरुले व्यवस्थापन शिक्षालाई पुनःपरिभाषित गरिनुपर्छ भनेर छलफल र अनुसन्धानपत्र पेश गरेका थिए । यसपटक पनि दोस्रो अन्तर्राष्ट्रिय सेमिनार प्रतिकुल परिस्थितिका बीच भर्चूअल माध्यमबाट भब्यरुपमा सम्पन्न भयो । अष्ट्रेलिया, भारत, मलेसिया, मोरोक्को, न्यूजिल्याण्ड, फिलिपिन्स, स्विजरल्याण्ड, थाईल्याण्ड र आयोजक नेपाल सहित ९ देशका विभिन्न प्राध्यापक, अनुसन्धाता र विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता रह्यो । यसपटकको सेमिनारको क्षेत्र अलि विस्तारित थियो । वेबिनार व्यवसाय, व्यवस्थापन र समाज विज्ञानको क्षेत्रमा भैरहेका नविनतम खोज, अनुसन्धान र विकाससंग सम्बन्धित थियो । टेक्निकल सेसनमा १० वटा अनुसन्धान पत्र प्रस्तुत भए ।

प्रविधि, वित्तशास्त्र, लेखाशास्त्र, अर्थशास्त्र र तथ्याङ्कशास्त्र, समाजशास्त्र, मनोविज्ञान र शिक्षा विषयमा प्रस्तुत गरिएका कार्यपत्र माथि त्रिविका प्रा डा महानन्द चालिसे, प्रा.डा. राजन बहादुर पौडेल, सरदार पटेल विश्वविद्यालयका प्रा.डा. योगेश जोशी, प्रा.डा.मनप्रसाद वाग्लेले टिप्पणी गर्नुभएको थियो । कार्यक्रमको संयोजन क्याम्पसको अनुसन्धान तथा विकास परिषदले गरेको थियो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रमुख अतिथकिो मन्तब्यको क्रममा भन्नुभयो ‘समृद्धिका लागि गुणस्तरीय शिक्षा अपरिहार्य हुन्छ । भूमण्डलिकरणमा खरो उत्रिन अनुसन्धान महत्वपूर्ण हुन्छ। ज्ञान र सीप बढाउने कार्य नियमित भैरहनुपर्छ । नेपालमा अनुसन्धानका क्षेत्र प्रशस्त रहेका छन् ।’

सन् १९५४ ( बि.सं. २०११) बाट नेपालमा ब्यवस्थापन शिक्षा शुरु भएको हो । खास गरेर बैंक, सरकारी निकाय र औद्योगिक एवम् व्यवसायिक क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्येश्यले । त्यो बेला राजनीतिशास्त्र, इतिहास, अंग्रेजी साहित्य र अर्थशास्त्र जस्ता विषयहरुप्रतिको रुचि बढी थियो । वाणिज्य/ब्यबस्थापन शिक्षा कम प्राथमिकतामा पर्दथ्यो । सरकारी/निजामती सेवामा लेखापाल (एकाउन्टेण्ट)को जागिर/पेशालाइ हेयको दृष्टीले हेरिन्थ्यो । वा भनौ कम प्राथमिकताको क्षेत्र थियो । व्यवसाय गर्ने पेशालाई तल्लो दर्जामा राखिन्थ्यो । खास गरेर भारतमा भएको आर्थिक विकास र उद्योग कलकारखानाको वृद्धि र विकाससँगै वाणिज्यशास्त्रका स्नातकहरुलाई महत्व दिन थालियो । त्यसैको प्रभाव स्वरुप नेपालमा त्रिभुवन विश्वविद्यालयले ब्यवस्थापन र वाणिज्य संकायका कार्यक्रम शुरु गरेको हो । यो भन्दा अघि नेपाली विद्यार्थीहरु वाणिज्यशास्त्रको उच्च शिक्षा हासिल गर्न भारतका शहरहरु कलकत्ता, बनारस, पटना, इलाहाबाद र लखनउ जाने गर्थे।

आजकाल ब्यवस्थापन शिक्षाप्रतिको आकर्षण बिश्वब्यापी रुपमा बढ्दो छ । त्रिभुवन विश्वविद्यालयमा भर्ना (इनरोल) हुने कुल विद्यार्थी सङ्ख्यामा ब्यवस्थापन संकाय रोज्ने विद्यार्थीको संख्या करिब आधा जसो देखिन्छ । इन्जिनियरिङ्ग र मेडिकल शिक्षामा जस्तै आकर्षण देखिन्छ यो बिधामा पनि । ब्यवस्थापन कला हरेक क्षेत्रमा उत्तिकै महत्वपूर्ण ठहरिँदै आएको छ । नेपालमा अहिले धेरैजसो विश्वविद्यालयहरुले ब्यवस्थापन विषयका विभिन्न नामका कार्यक्रम सञ्चालन गर्दै आएका छन्। त्रिविले फ्याकल्टी अफ म्यानेजमेण्ट अन्तर्गत बिबिए, बिबिएस, एमबिए,एमबिएस, एमफिल जस्ता शुद्ध ब्यवस्थापन शिक्षाका कार्यक्रम सञ्चालनमा ल्याएको छ । त्यस्तै जनप्रशासनमा (एम पिए), स्नातक तहमा बिबिए, बिसिए, बिएचएम, बिटिटि एम, र बिआइएम जस्ता मिश्रित कार्यक्रम सञ्चालित छन् । ब्यवस्थापन शिक्षा बहु–विÈयगत (मल्टी डिसीप्लीनरी) प्रकृतिको हुन्छ । ब्यवस्थापकीय सिप जीवनका हरेक मोडमा उत्तिकै काम लाग्दछ।

हाम्रा पुस्तक र पाठ्यसामग्री त्यहाँ समावेश भएका विषयबस्तु, केस स्टडीहरु र अझै महत्वपूर्ण अनुसन्धानका कार्यहरु सबै विकसित पश्चिमा देशमा डिजाइन गरिएका छन् । हाम्रो आफ्नो मौलिकता छैन । हाम्रो आफ्नो माटो सुहाउँदा विषयबस्तु ब्यवस्थापकिय र उद्धम/ब्यवसायका मौलिक खाले समस्याहरुको समाधान गर्ने क्षमता विकास गर्नु अहिलेको मुख्य चूनौती हो । अब हामी मौलिक सृजनशिल, इन्नोभेटिभ (स्टार्ट–अप) युवा उद्यमीको देश भनेर किन नचिनिने ? के स्टीभ जब्स, बिल गेट्स, वारेन बफेट, जुकरबर्ग, ज्याकमा नेपालमा उत्पादन हुन सक्दैनन र ? एक प्राज्ञ एकेडेमीकको रुपमा सम्बन्धित सरोकारवालाहरुलाई देश निर्माणमा अग्रसर हुने जनशक्ति तयार गर्न समय सान्दर्भिक दिशा निर्देशन दिनु जरुरी हुन्छ ।

महत्वपूर्ण कुरा यो हुन्छ कि ब्यवस्थापन क्षेत्रका आशावादी युवाहरुमा अरुले बनाएको बाटो हिड्नु भन्दा आफैले विकास गरेको बाटोमा बढी भरोसा र बिश्वास हुन्छ । आफैले खनेको बाटो हिड्नु रोमाञ्चक हुन्छ । तसर्थ बयवस्थापन शिक्षा अध्यापन गराउने बिजनेश स्कूलहरु र प्राज्ञहरुको अबको कार्यभार यो दिशातर्फ निर्देशित हुुनुपर्दछ । यसैबाट दायित्वबोध पूरा हुन्छ र सन्तुष्टी पनि मिल्छ।नियमनकारी निकायहरुले पनि कुन विद्यालय/विश्वबिद्यालयबाट उत्तिर्ण हुने बिद्यार्थीले कति प्रतिशत वा उच्च ग्रेड ल्याए भन्ने नहेरेर उनिहरुले उद्यमी समाज निर्माण गर्न र उद्यमशिलताको माहोल सृजना गर्ने दिशामा के कति योगदान दिएका छन् ? अनुसन्धान र विकासमा कति कृयासिल छन् ? त्यसैको आधारमा उत्कृष्ट कार्य गर्ने शैक्षिक संस्थाहरुलाई ‘उत्कृष्ट स्कूल अवार्ड’ दिने परिपाटी शुरुवात गर्नु पर्दछ ।

अब ब्यवस्थापन अध्यापन गराउने शिक्षालयहरु, प्राज्ञहरु र ब्यवस्थापन/बाणिज्यशास्त्र अध्ययन गर्ने विद्यार्थीहरु सबै अहिलेको वर्तमान धरातल भन्दा माथि उठेर फरक ढङ्गले सोच्नुपर्दछ । अनुसन्धानमुखी शिक्षण सिकाई क्रियाकलापमा जोड दिनुपर्दछ । ब्यवस्थापन शिक्षाको विश्वब्यापी दृष्टिकोण सँगसँगै ‘सोचाइमा विश्वब्यापी दृष्टिकोण, काम गराई र ब्यबहारमा स्थानीयता/मौलिकता’ (थिङ्क ग्लोबल्ली, एक्ट लोकल्ली) भन्ने अवधारणालाई आत्मसात् गर्दै नव–प्रवर्तनको माध्यमबाट अब ब्यवहारमा उतार्न ढिलो गर्नु हुँदैन । पाठ्यक्रम र शिक्षण पद्धतिमा समयानुकुल परिमार्जन गर्दै जानु पर्दछ । यो नै ब्यवस्थापन शिक्षाको तर्फबाट देश निर्माण गर्ने कार्यमा महत्वपूर्ण योगदान हुन्छ । ब्यवस्थापन शिक्षालाई सैद्धान्तिक भन्दा एप्लाइड बनाउनु पर्दछ।

केन्द्र भन्दा पर,परिधीमा रहेर पनि आफ्नो छुट्टै केन्द्र निर्माण गर्न सक्षम भएको छ लुम्बिनी वाणिज्य क्याम्पस अहिले । गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा अब्बल बन्दै मानित विश्वविद्यालय बन्ने महत्वकांक्षी योजनाको साथमा लुम्बिनी प्रदेशको भरपर्दो शैक्षिक गन्तब्य बन्दैछ । मध्यम तथा उच्च तहका व्यवस्थापक उत्पादन गरेको छ । थुप्रै उद्यमी र व्यवसायी जन्माएको छ । बैंकिङ्ग र सरकारी सेवामा आवश्यक पर्ने दक्ष जनशक्ति निर्माण गरिरहेको क्याम्पस अब साँचो अर्थमा अध्ययन अनुसन्धानको केन्द्र बन्ने महाअभियानमा जुटेको छ । जीवनोपयोगी शिक्षामा केन्द्रित हुँदै प्रध्यापक र विद्यार्थीहरुलाई परीक्षामुखी पढाई लेखाइमा मात्र केन्द्रित नभई अनुसन्धानमुखी बन्न हौंस्याईरहेको छ । लुम्बिनी वाणिज्य क्याम्पस अब देशकै नमुना बिजनेस स्कुल बन्दै छ ।

वर्तमान क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायको उर्जाशिल नेतृत्व र निवर्तमान क्याम्पस प्रमुख प्रा.डा. ईश्वर गौतमको योगदान र अभिभावकत्वमा लुम्बिनी वाणिज्य क्याम्पसले यतिबेला विजेताहरु फरक–फरक काम गर्दैनन् तर, भिन्न ढङ्गले गरेर सफलता प्राप्त गर्छन् भन्ने भनाइलाई व्यवहारमा उताररिहेको छ ।व्यवस्थापन शिक्षामा विशिष्टिकरण गर्दै आफ्नो छुट्टै ब्राण्ड बनाउन सफल लुम्बिनी वाणिज्य क्याम्पस सामुदायिक क्याम्पसहरुमध्ये देशकै उत्कृष्ट क्याम्पस हो । यसले अब मानित विश्वविद्यालयको रुपमा अन्तर्राष्ट्रिय ख्याती कमाउन सक्षम हुनेछ । १५ वटा विश्वविद्यालयको संख्या पर्याप्त नै हो । तर,अबको आवश्यकता संख्यात्मक भन्दापनि गुणात्मक शिक्षाको हो । यस दिशामा लुम्बिनी वाणिज्य क्याम्पसलाई निकट भविष्यमा नै गौरव गर्न लायक सफलता मिलोस् । शुभकामना।-लेखक व्यवस्थापन संकायका अध्यापक/लेक्चरर हुन् ।

https://www.globalaawaj.com/archives/65849
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।